चितवन विशेष

वागमती प्रदेशको दक्षिणी सीमा क्षेत्रमा सुरक्षा व्यवस्था थप कडा

Banner

रत्ननगर, वैशाख ४-

वागमती प्रदेशअन्तर्गतको भारतसँग जोडिएको दक्षिणी सीमा क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ । दक्षिणी सीमामा पर्ने वाग्मती प्रदेशअन्तर्गत ३५ देखि ६३ नम्बर सीमा स्तम्भ यस क्षेत्रमा पर्छ । यस क्षेत्रमा पर्ने ८८ किलोमिटरअन्तर्गत बाँदरझुला, छरछरे र वाल्मीकि आश्रम क्षेत्रमा यसअघि नै बिओपीपोष्ट छ ।

हाल पाल टाँगेर पाँच थप जाँचविन्दु थप्ने काम भइरहेको सशस्त्र प्रहरी नेपाल १७ नम्बर गण आँपटारीका गणपति खेम थापाले बताउनुभयो । चितवन राष्ट्रिय निकुञ्ज र पर्सा वन्यजन्तु आरक्ष पर्ने यस क्षेत्रमा भारतबाट लुकीछिपी स्वदेश फर्कने सम्भावना बढेपछि सशस्त्र र नेपाल प्रहरीले संयुक्त गस्ती गर्दै आएका छन् । केही दिनअघि भारत, सोमेश्वर क्षेत्रबाट लुकीछिपी नेपाल प्रवेश गरेका तीन जनालाई पक्राउ गरी माडी नगरपालिकाको सहकार्यमा क्वारेन्टाइनमा राखिएको थियो ।

सीमा जोडिएको सीमानाका माडीका बाँदरझुला, छरछरे, सोमेश्वर गढीलगायत मानिस भित्रिने प्रमुख प्रवेशद्वारमा हेल्पडेस्क स्थापना गरी जाँचसमेत तीव्र पारिएको छ । भारतबाट यस क्षेत्र हुँदै कोराना संक्रमित भित्रिन नदिन र भित्रिहालेमा तत्काल स्वास्थ्य संस्थामा जान सल्लाह दिनका लागि ठाउँठाउँमा हेल्प डेस्क राखी जाँच भइरहेको सशस्त्र प्रहरी बल ३ नम्बर गढीमाई बाहिनी मुख्यालय, मकवानपुर चितवनका बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक कृष्णभक्त ब्रह्मचार्यले बताउनुभयो । ‘अहिले कोरोनाको त्रास बढी छ, त्यसमा पनि भारतमा बढ्दै छ’ बाहिनीपति ब्रह्मचार्यले भन्नुभयो,‘ लकडाउनका समयमा नाकाबाट लुकीछिपी स्वदेश फर्किने क्रम नरोकिएपछि प्रहरीले सीमा क्षेत्रमा थप कडाइ गरेको हो ।’

यस क्षेत्रमा सीमानाकासँगै चितवन राष्ट्रिय निकुञ्जसमेत जोडिएकाले नेपाली सेनासँग सहकार्य गरेर सुरक्षा फौज थप गरी सीमा बन्द गराइएको छ । प्रदेशको दक्षिणी सीमानाका हुँुदै रातिसमेत मानिस आउने क्रम नरोकिएपछि सुरक्षाकर्मीले संयुक्त गस्ती गस्तीसँगै जाँच गर्न थालेको नेपाल प्रहरी, वाग्मती प्रदेश प्रहरी कार्यालयका निमित्त प्रमुख किशोरकुमार दाहालले जानकारी दिनुभयो । ‘यो बेला सुरक्षा सबैभन्दा ठूलो चुनौती हो’, उहाँले भन्नुभयो, ‘ कोरोनाबाट भयमुक्त पार्ने गरी सुरक्षा रणनीति अपनाएका छौंँ ।’ करीब ८० किमी खुला सीमा सुरक्षा दृष्टिकोणले अति संवेदनशील मानिन्छ ।रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>