अन्तर्राष्ट्रिय
ट्रम्पले जनतामाथि खेलवाड गरे,उनि राजा होइनन् राष्ट्रपति हुन्ः न्युयोर्क गभर्नर

एजेन्सी,बैशाख २-
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विरुद्दमा न्युयोर्क लगायतका राज्यका गभर्नर खनिएका छन् । न्युयोर्कमा मात्र १० हजारभन्दा बढी मानिसको कोरोना संक्रमणका कारण ज्यान गइसक्दा पनि त्यहाँ लगाइएको प्रतिबन्ध खोलेर जनताको जीवनमाथि खेलवाड गर्न खोजेको भन्दै राष्ट्रपति ट्रम्पमाथि त्यहाँका गभर्नर एन्डू कुमोले चर्को विरोध गरेका हुन् । उनलाई अन्य आधा दर्जन राज्यका गभर्नरहरुले समेत साथ दिएका छन् ।
यति धेरै मानिसहरुको ज्यान गैसक्दा पनि राष्ट्रपति डोनाल्ड ट्रम्पले त्यहाँ लगाइएको प्रतिबन्ध हटाउन खोजिएको र संक्रमण नियन्त्रण गर्न बेवास्ता गरेको भन्दै अहिले त्यहाँ उनको सर्वत्र विरोध भैरहेको छ । न्युयोर्कका गभर्नर कुमो राष्ट्रपति ट्रम्पको विपक्षमा उभिएका छन् । सुरुदेखि नै राष्ट्रपति ट्रम्पले न्युयोर्कमा प्रतिबन्ध खुल्ला गर्नेतर्फ संकेत गरेका थिए ।
मंगलबार राष्ट्रपति ट्रम्पको उक्त कदमको तिव्र विरोध गर्दै गभर्नर कुमोले भने, ‘ट्रम्प राजा होइनन्, राष्ट्रपति हुन्, हामी उनको भनाईबाट प्रतिबन्ध हटाउन सक्दैनौ ।’ उनले भने,‘यदि ट्रम्पले मलाई प्रतिबन्ध हटाउन आग्रह गरे भने म त्यस्तो काम गर्न सक्दिन, मेरो यसमा स्पष्ट अडान छ । यस्तो कामले जनताको जीवनलाई खतरामा पार्दछ । यो डरलाग्दो समयमा हामीले तानाशाही मनोवृत्तिबाट अलग रहनुपर्छ ।’ उनले ट्रम्प अमेरिकाका राष्ट्रपति भएको तर राजा नभएको बताउँदै आफुले सँगै काम गर्न चाहेको बताए ।