स्वास्थ्य
काठमाडौंमा भेटिएका दुई जना कोरोना संक्रमितको कन्ट्याक्ट ट्रेसिङ सुरु भइसक्योः स्वास्थ्य मन्त्रालय

काठमाडौं, वैशाख २–
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौंमा आज देखिएका दुई जना नयाँ कोरोना संक्रमितहरुको कन्ट्याक्ट ट्रेसिङ सुरु गरिएको जनाएको छ ।
नियमित पत्रकार सम्मेलनमा बोल्दै मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला आज पिसिआर विधिबाट परीक्षण गर्दा सनसिटी अपार्टमेन्टमा बसोबास गर्दै आएका दुई जनामा कोरोना पुष्टि भएसंगै कन्ट्याक्ट ट्रेसिङ सुरु गरिएको जानकारी दिए । उनले भने–‘उहाँहरु बेलायतबाट नेपाल आइपुग्नु भएको हो, उहाँहरुले को–को संग भेटघाट गर्नुभयो हामी कन्ट्याक्ट ट्रेसिङ गरिरहेका छौं ।’ सोमबार ¥यापिड टेष्ट गर्दा एकै परिवारका तीन जनामा पोजेटिभ देखिएको थियो ।
लगत्तै उनीहरुलाई पाटन अस्पतालमा भर्ना गरिएको थियो । थ्रोट स्वाब मार्फत कोरोना परीक्षण गरिएपछि आमा छोरालाई कोरोना पोजेटिभ देखिएको छ भने बुहारीको रिपोर्ट आउन बाँकी छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा हाल १५ जना संक्रमितको उपचार भइरहेको र एक जना निको भइसकेका छन् । काठमाडौंको टेकु अस्पतालमा दुई जना, पाटल अस्पतालमा दुई जना, बाग्लुङमा दुइ जना, धनगढीमा ५ जना र वीरगञ्जको नारायणी अस्पतालमा ४ जना कोराना संक्रमितको उपचार भइरहेको छ ।