Breaking News
पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टमा बस्ने २ हजार जनाको पनि कोरोना परीक्षण गरिँदै

काठमाडौं, वैशाख २–
काठमाडौँको पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टमा बसोबास गरिरहेका दुई जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ ।
पेप्सीकोला टाउनप्लानिङ क्षेत्रमा रहेको सनसिटी अपार्टमेन्टमा बस्ने सबै जनामा कोरोना भाइरसको संक्रमण भए नभएको परीक्षण हुने भएको छ ।
गत चैत ४ गते बेलायतको लण्डनबाट आएर सनसिटी अपार्टमेन्टमा बस्दै आएका २ जनामा कोरोना भाइरसको संक्रमण देखिएपछि अपार्टमेन्टमा बस्ने सबै जनाको कोरोना परीक्षण गर्न लागिको हो ।
कागेश्वरी मनोहरा नगरपालिका कार्यालय स्रोतका अनुसार उक्त अपार्टमेन्टमा हाल करिब ५ सय परिवारका २ हजार व्यक्ति बस्दै आएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अपार्टमेन्टमा बस्दै आएका सबै जनाको कोरोना परीक्षण मंगलबारबाट नै शुरु भइसकेको जनाएको छ ।
कोरोना संक्रमण देखिएका २ जना एकै परिवारका व्यक्ति हुन् । बेलायतबाट आएका उनीहरु लुकेर बस्दै आएको सूचनाका आधारमा आइतबार र्यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) गरिएको थियो । आरडीटी गर्ने क्रममा तीनै जनामा कोरोना संक्रमणेको संकेत जनाउने एन्टीबडी पोजेटिभ देखिएको थियो ।
त्यसपछि तीनै जनालाई पाटन अस्पतालको आइसोलेसनमा भर्ना गरिएको थियो । पाटन अस्पतालमा भर्ना गरिएपछि उनीहरुको पीसीआर विधिवाट परीक्षण गर्न नमूना लिइएको थियो । जसमध्येका २ जनाको रिपोर्ट पोजेटिभ आएको छ भने अर्का एक जनाको नेगेटिभ रिपोर्ट आएको छ ।
पोजेटिभ देखिनेमा ८१ वर्षीया महिला र ५८ वर्षीया पुरुष छन् । स्वास्थ्य मन्त्रालयले कोरोनाको संक्रमण देखिएकाहरुसँग सम्पर्कमा रहेका व्यक्तिहरुको ट्रेसिङ शुरु गरिएको पनि जानकारी दिएको छ ।