Breaking News
नयाँ वर्षमा सुनसान सौराहा (फोटोफिचर)

चितवन, वैशाख १–
आज नयाँ वर्ष २०७७ साल । नयाँ वर्षको दिन चितवनको पर्यटकीय नगरी सौराहामा छुट्टै रौनक हुन्थ्यो । तर आज त्यस्तो अवस्था देखिएन । सरकारले कोरोना संक्रमणसंग लड्न ‘लकडाउन’ गरेपछि यसवर्षको नयाँ वर्षको दिन सबैभन्दा उराठलाग्दो बन्यो ।
पर्यटकीय नगरी सौराहा पूर्णरुपमा ठप्प छ । पर्यटकको भीडभाड लाग्ने ठाउँहरु राप्ती किनार, हात्ती चोक, गैंडा चोकलगायतका स्थानमा आज सुनसान देखियो । क्षेत्रीय होटल संघ सौराहाका अध्यक्ष दीपक भट्टराईले यसवर्षको पहिलो दिन अहिलेसम्मकै शून्य देखिएको बताए । उनले भने–‘नयाँ वर्षको दिन पहिलोपटक होला यस्तो शून्यता, हामी समस्यामा छौं ।’
लकडाउनका कारण हरेक क्षेत्र अहिले गम्भिर संकटमा फस्दै गइरहेको छ । विगतका नयाँ वर्षको दिनलाई सम्झदै होटल पार्क इनका संचालक दिपेश चौधरीले भने–‘पहिले यतिबेला खुट्टा टेक्ने ठाउँ हुन्थेन, कतिपय मानिस कोठा नपाएर राती नै फर्किएका हुन्थे, यसपटक उराठलाग्दो बन्यो ।’
सौराहामा हाल ११५ वटा होटलहरु रहेका छन् भने ६० भन्दा बढी रेष्टुरेण्टहरु रहेका छन् । मुख्य गरी चितवन राष्ट्रिय निकुञ्ज अवलोकनका लागि आन्तरिक तथा बाह्य पर्यटकहरु सौराहा आउने गरेका छन् ।