Breaking News

कोरोना अस्पतालको व्यवस्थापन भरतपुर अस्पतालले गर्ने, उपसमितिहरु भंग गरियो

Banner

चितवन, चैत ३०–

कोरोना नियन्त्रण कार्यदल भरतपुरले कोरोना विशेष अस्पताल र कोरोना परीक्षण प्रयोगशाला स्थापनार्थ गठन गरेका उपसमितिहरुलाई भंग गरेको छ ।

कार्यदलको आज (आइतबार) भरतपुर महानगरपालिकामा सम्पन्न बैठकले प्रयोगशाला, व्यवस्थापन, खरिद, प्राविधिक, कर्मचारी भर्ना र क्वारेन्टाईन उपसमितिहरु भंग गरेको हो । कोरोना अस्पतालको सम्पूर्ण व्यवस्थापन भरतपुर अस्पतालले गर्ने गरी भरतपुर महानगरपालिका र भरतपुर अस्पतालबीच यसअघि गरिएको सम्झौताको समेत कार्यदलको बैठकले अनुमोदन गरेको छ । यससंगै भरतपुर कोरोना विशेष (अस्थायी) अस्पताल भरतपुर महानगरपालिकाबाट स्थापित र भरतपुर अस्पतालबाट संञ्चालित हुने भएको छ । बैशाख १ गतेबाट कोरोना अस्पतालको सम्पूर्ण व्यवस्थापन भरतपुर अस्पतालले नै गर्ने भएको छ ।

कार्यदलका सदस्य सचिव डा. भोजराज अधिकारीले कोरोना अस्पतालको सम्पूर्ण व्यवस्थापन भरतपुर अस्पतालले गर्ने भएसंगै उपसमितिहरु तत्कालका लागि आवश्यक नभएकाले धन्यबादसहित भंग गरिएको जानकारी दिए । जिल्लामा कोरोना भईरस (कोभिड १९)को संक्रमण फैलिएमा के कसरी नियन्त्रण र उपचार गर्न सकिन्छ भन्ने विषयमा प्राविधिक एवं चिकित्सकहरुलाई योजना बनाउन पनि बैठकले निर्देशन गरेको छ ।

अधिकारीका अनुसार योजना तयार भएपछि अर्को बैठकमा छलफल हुनेछ । अन्य जिल्लाहरुबाट थप उपचारका लागि बिरामी पठाउनु पर्दा सामान्य चेकजाँच सम्बन्धित जिल्लाका अस्पतालहरुमा गरेर थप उपचार चाहिने र जटिल बिरामीहरुलाई मात्र पठाउन अनुरोध गर्ने बैठकले निर्णय गरेको छ ।

वीरगञ्जमा समेत संक्रमण देखिएपछि जिल्लामा उच्च सतर्कता अपनाउने विषयमा सबैले आ–आफ्नो ठाउँबाट सहयोग गर्नुपर्ने बैठकमा छलफल भएको अधिकारीले जानकारी दिए । सो अबसरमा कार्यदलका संयोजक एबंम भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले कोरोना अस्पताल स्थापनाका क्रममा उपसमितिमा रहेर सहयोग गर्ने सबै प्रति धन्यबाद ज्ञापन गरिन् । उनले वैशाख १ गते (सोमबार)बाट कोरोना अस्पतालको पूर्ण संञ्चालन भरतपुर अस्पतालले गर्दै गर्दा कुनै जटिलता र समस्या भएमा त्यसको निराकरणका लागि महानगरले सहयोग गर्ने बताइन् ।

सो अबसरमा कार्यदलका सदस्य सचिब एबंम भरतपुर अस्पतालका अध्यक्ष समेत रहेका डा. भोजराज अधिकारीले अस्पताल र महानगरकाबीचमा सम्झौता भई सकेको जानकारी दिदै महानगरसंगै सहकार्य गरेर अस्पताल संञ्चालन गर्ने बताए । बैठकमा जिल्ला समन्वय समिति चितवनका प्रमुख कृष्णकुमार डल्लाकोटी, प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईसहित कार्यदलका सदस्यहरुले आ–आफ्नो धारणा राखेका थिए । कोरोना अस्पताल पछि भरतपुरमा संञ्चालनमा आएको कोरोना परीक्षण प्रयोगशालाको विषयमा समेत बैठकमा छलफल भएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>