चितवन विशेष

नयाँ बर्षमा चितवनको सिराइचुलीमा लाग्ने मेला स्थगित

Banner

चितवन,चैत ३०-

पर्यटकीयस्थल चितवनकै सबैभन्दा अग्लो स्थान सिराइचुलीडाँडामा हरेक नयाँ वर्षमा लाग्ने मेला यस वर्षको नयाँ वर्ष २०७७ मा आयोजना नहुने भएको छ । विश्वव्यापी माहामारीका रूपमा फैलिरहेको कोरोना सङ्क्रमणको प्रभावका कारण यस वर्ष मेला आयोजना नहुने भएको हो ।

जिल्लाको एकमात्र गाउँपालिका इच्छाकामनाको वडा नं १ मा पर्ने सिराइचुलीडाँडा समुद्री सतहदेखि करिब एक हजार ९४५ मिटरको उचाइमा छ । यहाँबाट बिहानी सूर्योदयसँगै तराईका फाँटहरुका साथै हिमालका आकर्षक दृश्यहरु हेर्नका लागि आन्तरिक तथा बाह्य पर्यटकको लर्को लाग्ने गरेको थियो । हरेक वर्ष वैशाख १ गतेका दिन भव्य मेलासमेत लाग्ने भएका कारण नयाँ वर्षका दिन यहाँ आउनेको भीड थामिनसक्नुको हुने गथ्र्यो ।

यतिबेला देश लकडाउनको अवस्थामा रहेको र कोरोना सङ्क्रमणमा सजगता अपनाउनुपर्ने भएकाले मेला स्थगन गरी सिराइचुलीडाँडामा कसैलाई पनि प्रवेश गर्न नदिइने भएको वडाध्यक्ष नन्दलाल गिरीले बताउनुभयो । यसका लागि सिराइचुली प्रवेश गर्ने हरेक नाकामा आगन्तुक रोक्नका लागि स्थानीय गाउँटोलीवासीसँग आवश्यक समन्वय भइरहेको उहाँले बताउनुभयो ।

गत वर्ष नयाँ वर्षका दिन करिब एक हजार ५०० सिराइचुली अवलोकनका लागि आएको पनि वडाध्यक्ष गिरीले जानकारी दिनुभयो । यहाँ चितवनलगायत छिमेकी जिल्ला धदिङ र गोरखाबाट समेत मेला हेर्न आउने गरेको अध्यक्ष गिरीले बताउनुभयो । पछिल्लो समय नयाँ वर्षको मेलाबाहेक अन्य दिनमा आन्तरिक तथा बाह्य पर्यटक आउने क्रम बढेको पनि उहाँले बताउनुभयो । यसैबीच गाउँपालिकाले कोरोना भाइरसको सङ्क्रमणबाट बच्न गाउँपालिकाभित्र हुने सम्पूर्ण मेला महोत्सव आयोजना गर्न रोक लगाइएको गाउँपालिका अध्यक्ष गीताकुमारी गुरुङले जानकारी दिनुभयो ।रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>