जोडिनुहोस

Banner

मनोज घिमिरे-

म एउटा साधारण मजदुर हुँ। न मैले सरकारलाई चिनेको छु न त सरकारले मलाई चिन्ने कुरा नै भयो । मेरो परिचय भनेको म एउटा नेपाली नागरिक हुँ । मेरो एउटा सानो परिवार छ । रातदिन काम गर्छु । दैनिक कामबाट हुने धेरथोर आम्दानीले मेरो घर चलेको छ। मेरो परिवार यसैबाट पालिएको छ । सुःख दुःख जे भएपनि मेरो आफ्नो देशमै पौरख गरेर कमाएको मेरो आफ्नो कमाई प्रति मेरो केही गुनासो छैन । गरिब भनिने देश नेपालमा जन्मिएर मलाई केही दुःखेसो छैन । म आफूलाई मेरो देश कहिल्यै गरिब लाग्दै लगेन र लाग्दैन पनि। हरेक दिन हरेक ठाउँमा म हरेकलाई आफूभन्दा धेरै धनी पाउँछु । गाउँमा रहँदा पनि त्यहाँ हरेक गाउँलेसँग पुग्दो खेतबारी थियो ।

म सानै हुँदा मेरा बा ले गाउँमा रहेको खेतबारी बेचेर मुग्लान पसेका रहेछन् । बा ले कमाएर पठाएको धनले शहरमा घर बनाउने आशमा मेरी आमाले केही वर्ष कुरेकी पनि थिइन् रे । तर एक दिन अचानक धनसम्पत्ति कमाउन गएका मेरा बा काठको बाक्सामा फर्किएछन् । बा परदेश लागेपछि धेरै समयसम्म हाम्रो भेट नै भएन । त्यसैले बा ले मलाई छाडेर गएकोमा म सँग कुनै पनि गुनासो छैन । तर आमाले पनि मलाई एक्लो छाडेर गएपछि बल्ल मैले जिन्दगीमा एक्लो पनको महसुस गर्न थालेँ । गाउँलेको घरमा गोठालो रहेर केही बर्ष आफूलाई आफैंले हुर्काएँ । आफू जवान बनेको महसूस गरी त्यसपछि भने म शहर पसेको हुँ । शहर झरेको पनि आज २५ बर्ष पुगिसक्यो । शहरमा अग्लाअग्ला घर छन् । मोटर गाडी घरै पिच्छे छन् । तर मेरो बास भने एउटा सानो झुप्रोमा छ। श्रीमती, म र एक छोरी त्यही सानो घरमा सुखदुःख काटिरहेका छौं। ज्याला मजदुरी गरेर जीवन निर्वाह गरिरहेको म र मेरो परिवार यति बेला भने निकै पीडामा छ ।

सुन्छु सिङ्गो विश्व कोरोना भन्ने भाइरसको संक्रमणका कारण निसास्सिएको छ रे । त्यसैले पनि जिन्दगीमा यस अघि कहिल्यै नदेखेको र अनुभव नगरेको बन्दको महसूस गरिरहेको छु । मैले काम गर्ने ठाउँ बन्द छन् । केही दिन त धेरथोर अन्न खाएर भोक मेट्न खोज्यौं । अब भने मेरो घरमा अन्नको नाममा एउटा गेडो पनि बाँकी छैन । सरकारले राहतको नाममा खानेकुरा बाँढ्दै छ रे भन्ने सुनेर दौडिएर सो ठाउँमा पुग्छु तर म भन्दा अगाडी धेरै मानिस पुगिसकेका हुन्छन् । केही सुकिलामुकिला मान्छे पनि राहत पाउन लाईन उभिएको देख्दा अचम्ममा पर्छु । एकछिन कुनामा बसेर अरूले राहत बुझ्दै गरेको हेरिरहन्छु। राहत बुझ्ने मानिस भन्दा त राहत प्रदान गरिरहँदा दिएजस्तो गरी सेल्फी खिच्ने मानिसको भीडभाड बढी हुने रहेछ । डर लागेर आयो, कतै कोरोना भाइरसको संक्रमण यही राहत लिने भीडबाटै फैलने त होईन ?

राहत नलिइकनै घर फर्किएँ । घरमा फर्कदा श्रीमती र छोरी मलाई खाद्यान्न लिएर आउने आशमा पर्खिरहेका थिए । केही सीप नलागेपछि पुनः घरबाट बाहिर निस्किएँ । मनमनै सोचेँ, आज जहाँ जे काम भेट्छु, त्यही गर्छु । यही सोच्दै बाटोमा हिँड्दै थिएँँ । अचानक एक प्रहरीले चिच्याउदै कहाँ जाँदै हो भनेर सोधे । कामको खोजीमा हिँडेको भनेर मैले भनेँ । लकडाउनको बेलामा काम खोज्दै हिँड्छस् भनी उनले थर्काए । लामो लौरो देखाउँदै भाटा भेटलास् भनी झपारे । आँखा ठूला पारेर हेरे । अनि अघिकै लौराले घर फर्कन इसारा गरे । अगाडी बढ्न नपाएपछि म बाध्य भएर घर फर्किएँ ।

त्यस रात केवल पानी पिएर रात कटाउने सोच्यौं । भोलिपल्ट बिहानै टोलका केही मानिसहरू राहत आवश्यक भएका व्यक्तिहरूको नाम टिप्न आए । मैले आफ्नो र घरपरिवारको सामान्य जानकारी दिएँ । नाम संकलनकर्ताले हाम्रो परिवारको पनि नाम टिपे । अब भने केही पाऔंला भन्ने विश्वास लाग्न थाल्यो । केही क्षणमा चोकमा बोलाएर लाइनमा उभिन लगाइयो । अनि खानेकुराका पोका बाँढ्न सुरु गरियो । त्यहाँ रासन बाढ्ने व्यक्तिहरू को थिए कुन्नि, मैले चिनिनँ । उनीहरूले आफ्नो नाम पनि बताएनन् । ब्यानर समातेर फोटो खिच्ने र सेल्फी लिने पनि कोही थिएनन् । त्यो पलमा भने म सारै भावुक बनेँ । तिनै मानवसेवीहरू मध्ये एक जना जसले मेरो हातमा रासनको पोको राखिदिएका थिए, उनलाई मैले टाढैबाट अनुरोध गरेँ,के म तपाईको एउटा फोटो लिन सक्छु ? उनी मुसुक्क हाँसे । मानौं उनलाई मैले फोटो लिन गरेको अनुरोधमा उनले आफूले गरेको निःस्वार्थ मानवसेवाबाट प्राप्त हुुने आत्मसन्तुष्टि स्पस्ट देखे ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *