जोडिनुहोस
  • होमपेज
  • सुनका औँठी–सिक्री लाएका, आइफोन बोक्ने राहतको लाइनमा

सुनका औँठी–सिक्री लाएका, आइफोन बोक्ने राहतको लाइनमा
सांकेतिक तस्विर

रमेश गिरी

भक्तपुर, चैत २५-

लकडाउनका बेलामा अति विपन्न एवं ज्याला मजदुरीमा दैनिक गुजारा चलाउनेलाई वितरण गरिने राहत हुनेखानेहरु नै लाइनमा बसेर लिन थालेका छन् । कोभिड–१९ को सङ्क्रमण फैलिन नदिन सरकारले लागू गरेको लकडाउनमा दैनिक मजदुरी गरेर खानुपर्ने मानिस भोकै बस्नु नपरोस् भनेर स्थानीय तहले शुरु गरेको राहत वितरणको लाइनमा करोडौँको सम्पत्ति भएकाहरु पनि बसेपछि वितरणमा सकस पर्न थालेको छ ।

हातमा आइफोन बोकेका, औँलामा सुनका औठी र घाँटीमा सिक्री लाउनेहरु लाइनमा बसेर राहत लिन थालेकाले सोचेभन्दा दोब्बर बढी राहत वितरण गर्नुपरेको पहिलो चरणको राहत वितरण सम्पन्न गरेको मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले जानकारी दिनुभयो । नगरपालिकाभित्र सात हजार परिवारलाई राहत वितरण गरेको जानकारी दिँदै उहाँले भन्नुभयो, “हामीले आजदेखि सबै वडामा राहत वितरण सम्पन्न ग¥यौँ, तर राहत लिन अधिकांश बाहिर जिल्लाबाट यहाँ आएर भाडामा बस्नेहरु छन्, राहत लिने आधाजति त हुनेखाने नै छन्, हातमा आइफोन लिएर, सुनका सिक्री आँैठी लाएकाहरु गरिब, मजदुरलाई दिने राहत थाप्न आएको देखियो ।”

भूकम्पमा बरु पीडितको पहिचान भएर सजिलो भएको तर अहिले मजदुर र गरिबको पहिचान गर्न नसक्दा तीन हजार ५०० घरपरिवारलाई दिने भनेको राहत सात हजार परिवारलाई दिनुपरेको बताउँदै उहाँले सरकारी जागिरे भएकादेखि विदेशमा बस्नेहरुका परिवारसमेत राहत लिन आएको बताउनुभयो ।

यता सूर्यविनायक नगरपालिकाले वडा नं १ देखि ७ मा राहत वितरण सम्पन्न गरेको छ । नगरपालिकाले अहिलेसम्म चार हजार नागरिकलाई राहत वितरण गरिसकेको छ । वडा नं १ सिरुटारमा राहत वितरणको क्रममा एउटै घरमा १० परिवारसम्म भाडामा बसेका सबै राहत लिन आएको वडाध्यक्ष सानुकाजी कायस्थले जानकारी दिनुभयो । राहत लिन घर भाडामा लाउने घरमालिकदेखि जग्गा जमीन भएकासमेत आएको गुनासो गर्दै उहाँले ७०० भन्दा बढीको नाम सङ्कलन भए पनि वडाले छनोट गरी ४४१ परिवारलाई वितरण गरेको जानकारी दिनुभयो ।

सूर्यविनायक–८ सिपाडोलमा राहत वितरणमा हातमा आइफोन र घाँटीमा सुनका सिक्री लाएकाहरु लाइनमा बसेर राहत लगेको वडाध्यक्ष किरण थापाले जानकारी दिनुभयो । कतिपयले पैसा छ, खानेकुरा किन्न पाएनौँ भन्दै राहत लिन आएकोे उहाँले जानकारी दिनुभयो ।

यता सूर्यविनायककै वडा नं ६ कटुञ्जेमा चारतले पक्की घर हुनेदेखि महिनाको रु ४५ हजार भाडा तिर्ने व्यापारीसमेत राहत लिन आएको वडाध्यक्ष रामेश्वर ध्वजूले जानकारी दिनुभयो । एउटै घरमा ४८ परिवार भाडामा बसेको र सबै राहत लिन आएको पाइएको जानकारी दिँदै एउटै परिवारका श्रीमान् श्रीमतीले नै राहत लिन आएको जानकारी दिनुभयो । सूर्यविनायक नगरपालिकाका प्रशासकीय प्रमुख कमल ज्ञवालीले सङ्कटको बेलामा हुनेखानेले हुँदाखाने वर्गलाई सहयोग गर्नुपर्ने बेलामा हुनेखाने नै राहत लिन आएको गुनासो चारैतिरबाट आएको बताउनुभयो । उहाँले सूर्यविनायक नगरपालिकाभित्र अन्तिम नामावली छनोटपछि करिब पाँच हजारलाई राहत सामग्री वितरण गरिने र राहत लाने सबैको नामावली, राहतको विवरण वेबसाइटबाट सार्वजनिक गरिने जानकारी दिनुभयो ।

भक्तपुर नगरपालिकाले सोचेभन्दा धेरै मानिस वडामा राहत लिन नाम दर्ता गर्न आएपछि राहत वितरण नै शुरु गरेको छैन । प्रत्येक वडाबाट नामावली सङ्कलन गर्ने क्रममा स्थानीयभन्दा पनि बाहिर जिल्लाबाट आएका र हुनेखानेहरु नै बढी आएपछि छनोट गरेर मात्रै वितरण गर्ने तयारी गरेको छ । नगरपालिका प्रमुख सुनिल प्रजापतिले राहत लिन हुनेखानेहरु धेरै आएपछि यो विकृति रोक्न र वास्तविक मजदुर तथा गरिबलाई छनोट गरेर राहत वितरण गर्ने तयारी गरेको बताउनुभयो । उहाँले भूकम्पको बेलामा भन्दा जटिल अवस्था अहिले राहत वितरणमा देखिएको बताउँदै वडावडाबाट सङ्कलित नामको वास्तविक मजदुर र गरिबको पहिचान गरेर मात्रै कार्ड बाँडेर आजबाट राहत वितरण शुरु गर्ने बताउनुभयो ।

त्यस्तै चाँगुनारायण नगरपालिकाका प्रम्ुख सोमप्रसाद मिश्रले सरकारले सित्तैमा दिने त हो नि भन्दै आवश्यक नै नभएका हुनेखानेहरु राहत लिने सूचीमा वडाबाट आएको बताउनुभयो । नामावली सङ्कलनमा घरजग्गा भएका, सरकारी जागिर भएका, विदेशबाट पैसा आउने र सरकारी सुविधा पाउनेसमेत राहत लिन आएको पाइएको बताउनुभयो । चाँगुनारायणले पनि आएका नाममा छनोट गरेर वडा तहबाटै राहत वितरण शुरु गरेको छ ।रासस

12 प्रतिक्रिया on “सुनका औँठी–सिक्री लाएका, आइफोन बोक्ने राहतको लाइनमा

  1. बनेपा, धुलिखेल, पनौतीमा पनि घर हुनेहरुको राहात थाप्दैछ।

  2. सबै ठाउँमा यस्तै देखियो फरक छैन कहि।जातिवाद नातावाद कृपावाद मात्र छ जहितहिँ हजुर बोल्नेको पिठो बिक्छ भन्थे हो रहेछ।

  3. सुनका औँठी, सिक्री, आइफोन र रुपैयाँ देख्दादेख्दै लाइनमा बसेका लोभीपापी हरुलाई र उनीहरूको हैसियत र बाद्यताको विवेक प्रयोग नगरी राहत वितरण गर्ने अधम र अधिकारको दुरुपयोग गर्ने हरुलाई कडा भन्दा कडा कारबाही गरियोस् !

  4. नेपाल र नेपाली जनताको उन्नति र प्रगति रोकिनु को मुख्य कारण नै यो देशका अधिकांस नेताहरु र केहि येस्ता बेशरम लाज पचेका जनताहरुले गर्दा हो जो जति खाय पनि नपुग्ने हन्तकाली, सस्तो र अझै फोकटमा पाए त् झन् भिखारीको भेस बदलेर हात थाप्न रत्ति भर नलजाउने, दुखि गरिबको लाचारी, मजबुरी र आँसुमा पनि फाइदा खोज्ने खुरापाती, अमानविय, नर पिसाच र पतित मनस्थिति भएकाहरुले गर्दा नै हो….. बास्तबमा भन्नु पर्दा…!!!

  5. दयाराम महत बाग्मती प्रदेश धुलिखेल -५ काभ्रेपलान्चोक says:

    प्रत्येक स्थानीय तहले घर मालिकलाई घरमा भाडामा बस्नेको पूरा नामथर ठेगाना सहित (स्वदेशी बिदेशी दुबैको)कामको विवरण सहित जानकारी लिनुपर्छ अनि पछि घरधनिसङ्ग बहालकर असुली गर्ने सजिलो हुन्छ साथसाथै भाडामा बस्नेको सख्या र रोजगारी,बेरोजगारी आयआर्जन भए नभएको सबै तथ्यांक खुल्छ !

  6. त्यस्ता लाइ सिफारिस गर्ने कार्य कसले गर्यो, छानबिन हुन पर्छ् ।

  7. वडा अध्यक्ष र सदस्य हरु ले आफ्नो काम ठिक संग गरेका छैनन। आफ्नो वडा मा कती ? धुरी छन ।कती बाहिरबाट आयर बस्छन ।कमाई को सोरत के छ। कती गरीब र धनी छन सबै लेखा जोखा राख्न अफिस र कर्म चारी दियको छ। त्यसै बसी बसीबसी हस्ताक्षर गर्न तलब दियेको हैन। वडामा रासन को पसल सञ्चालन गर्न दिन पर्छ।सेवा भावना छैन भने किन नेता बन्नु ‌।

  8. के भोत सुनको सिक्री औंठि लाएर यीनिहरुलाइ चाहिं भोक लाग्दैन??कि सुनको सिक्री औंठि लाउनेहरु चाहिॅ फलामे मान्छे हुन? राहत भनेको राहत नै हो नेपालको हरेक जनता every single person has to get unless they reject

  9. सबै भन्दा विपन्न परिवार राहत लिन जाँदा राहत टोलीले नदिई फर्काएको मेरो आफ्नै आँखाले देख्दा मलाई पटक्कै चित्त बुझेन । म यो ठाउँमा नयाँ मान्छे हँ र मैले यहाँ कसैलाइ चिनेको छैन त्यसैले उनको यो दुर्दशा टुलुटुलु हेर्न बाहेक केही गर्न सकिन ।
    घटना झापा जिल्ला बूद्धशान्ति गाउपालिका अन्तर्गत् “जयपु” क्षेत्रको हो ।मिती २०७६ साल चैत्र २६ गते बुधबार जयपुरमा रहेको एक सरकारी मा बि स्कूलको खेलमैदानमा वडा कार्यालयले वितरण गर्न लागेको राहत वितरण कार्यक्रममा सोही टोलका टिकाराम रोकाया सार्की लाई राहतवाट बन्चि गरियो । उनी त्यो एरियाकै सबैभन्दा बिपन्न सुकुम्बासी हुन् ।

  10. सबै भन्दा विपन्न परिवार राहत लिन जाँदा राहत टोलीले नदिई फर्काएको मेरो आफ्नै आँखाले देख्दा मलाई पटक्कै चित्त बुझेन । म यो ठाउँमा नयाँ मान्छे हु, मैले यहाँ कसैलाइ चिनेको छैन त्यसैले उनको यो दुर्दशा टुलुटुलु हेर्न बाहेक केही गर्न सकिन ।
    घटना झापा जिल्ला बूद्धशान्ति गाउँपालिका वार्ड नं २ अन्तर्गत् “जयपुर” क्षेत्रको हो ।मिती २०७६ साल चैत्र २६ गते बुधबार जयपुरमा रहेको एक सरकारी मा बि स्कूलको खेलमैदानमा वडा कार्यालयले वितरण गर्न लागेको राहत वितरण कार्यक्रममा सोही टोलका टिकाराम रोकाया सार्की लाई राहतवाट बन्चि गरिएको हो । उनी त्यो एरियाकै सबैभन्दा बिपन्न सुकुम्बासी हुन् ।

  11. लगत उठाउने बेलामा ध्यान दिनु पर्यो , वास्तविक गरिब को हो भनेर त्याँहाको स्थानीय सरकारलाई थाहा भइहाल्छ नि । पछि गोहीको आँसु चुहाएर हुन्छ ? गलामा सिक्री र हातमा आइफोन छ भने उसलाई बेइज्जत गरेर लाइनबाट निकालिदिए भइ हाल्छ नि । बेकारमा के को गन गन हो यो ?

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका