अन्तर्राष्ट्रिय
स्पेन र इटालीमा कोरोना संक्रमितको संख्या घट्न थाल्यो

स्पेन, चैत २४–
कोरोना भाइरस (कोभिड–१९) बाट सबैभन्दा बढी प्रभावित दुई युरोपेली मुलुक स्पेन र इटालीमा संक्रमितको संख्या बिस्तारै घट्न थालेको छ ।
विगत केही दिनयता कोभिड–१९ संक्रमितको संख्यामा कमी आएपछि त्यहाँ लकडाउनले काम गरेको ठानिएको छ । स्पेनमा लगातार चौथो दिन मृतकको संख्यामा कमी आएको बीबीसीले जनाएको छ ।
कोभिड–१९ का कारण स्पेनमा सोमबार ६३७ जनाले ज्यान गुमाए । योसँगै मृतकहरूको संख्या १३ हजार नाघिसकेको छ । गत बिहीबार ९ सय ५० जनाको मृत्यु भएको थियो । स्पेनमा संक्रमितको संख्या १ लाख ३५ हजारभन्दा बढी पुगेको छ । जुन अमेरिकापछिकै बढी हो ।
तीन सातादेखिको लकडाउन अप्रिल अन्त्यसम्मका लागि बढाइएको छ ।
त्यस्तै इटालीमा पनि पछिल्ला केही दिनयता मृतक तथा संक्रमितको संख्यामा कमी आएको छ । शनिबार इटालीमा ६ सय ८१ जनाले ज्यान गुमाएका थिए । जुन मार्च २३ यताकै सबैभन्दा कम हो ।
आइतबार ५ सय २५ जनाको ज्यान गएको जनाइएको छ । यो दुई सातायताकै सबैभन्दा कम हो । इटालीमा कोभिड–१९ का कारण हालसम्म १५ हजार ५ सयभन्दा बढीले ज्यान गुमाइसकेका छन् । संक्रमितको संख्या १ लाख २५ हजार नाघिसकेको छ ।