Breaking News

चितवनमा आजदेखि कोरोना परीक्षण सुरु, भरतपुर कोरोना अस्पतालको १६ नमुनाको परीक्षण जारी

Banner

चितवन, चैत २४–

चितवनको भरतपुरमा आज (सोमबार)देखि कोरोना भाइरस (कोभिड–१९) को नमुना परीक्षण सुरु गरिएको छ । तीन दिन लगाएर तयार पारिएको ल्याबमा भरतपुर कोरोना विशेष (अस्थायी) अस्पतालबाट संकलन गरिएको १६ जनाको स्वाबको परीक्षण सुरु गरिएको छ ।

छिटो र भरपर्दो रिपोर्ट प्रदान गर्ने गरी काम सुरु गरिएको प्रयोगशाला निर्माण उपसमितिका संयोजक डा.कृष्णसागर शर्माले जानकारी दिए । प्रयोगशालामा हालका लागि चितवनका विभिन्न अस्पतालहरुमा कार्यरत प्राविधिकहरु काम गरिरहेका छन् । तर यतिले मात्र प्रयाप्त नभएकाले कर्मचारी थप गर्नुपर्ने आवश्यकता रहेको डा.शर्माले बताए । नारायणी अनलाइनसंग उनले भने–‘अहिले विभिन्न अस्पतालका कर्मचारीलाई राखेर काम भइरहेको छ, अब छिट्टै नयाँ कर्मचारी नियुक्त गर्नुपर्छ ।’

यस ल्याबमा कृषि तथा वनविज्ञान विश्वविद्यालयमा रहेको आरटी पिसिआर मेसिन जडान गरिएको छ । ल्याब संचालनका लागि धेरैजसो सामग्री चितवनमै जुटाइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले किटलगायतका प्राविधिक पक्षहरुमा सहयोग गरेको छ । ल्याबलाई स्यानिटाइज गर्ने र क्वालिटी कन्ट्रोलको पाटोलाई विशेष ध्यानमा राखिएको छ ।

भरतपुर महानगरपालिकाको अगुवाइमा संचालनमा आएको यस ल्याबमा हालका लागि चितवनकै अस्पतालबाट संकलन गरिने नमुना परीक्षण गरिने छ । आवश्यकता अनुसार परीक्षणको दायरा विस्तार गर्दै लैजाने प्रयोगशाला संचालन उपसमितिले जनाएको छ । यस ल्याबबाट दैनिक नौ सय वटा परीक्षण गर्न सकिने बताईएको छ ।

जिल्लामा ल्याब नहुँदा यसअघि काठमाडौं पठाइदै आइएको थियो भने पछि हेटौंडामा पठाउन थालिएको थियो । जिल्ला भित्रमै परीक्षण हुने भएपछि बिरामीको उपचारमा थप सहजता हुने चिकित्सकहरुले बताएका छन् । सरकारले यसअघि काठमाडौं बाहेक हेटौंडा, धरान, जनकपुर, पोखरा, धनगढी, सुर्खेत र बुटवलमा ल्याब संचालनमा ल्याएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>