Breaking News

चितवनमा कोरोना परीक्षण ल्याबको प्राविधिक काम सकियो, सोमबारबाट मात्रै नियमित परीक्षण

Banner

चितवन, चैत २३–

चितवनमा कोराना भाईरस (कोभिड–१९) को नमुना परीक्षणका लागि स्थापना गरिएको प्रयोगशालामा प्राविधिक काम सकिएको छ । भरतपुरस्थित राष्ट्रिय पंक्षीरोग अन्वेषण प्रयोगशालामा सञ्चालन हुने प्रयोगशालाको विज्ञसहितको प्राविधिक टोलिले दुई दिनसम्म लगाएर कोभिड–१९ को नमुना परीक्षणका लागि उपकरणहरु जडान गरेका हुन् ।

प्रयोगशालाको प्राविधिक काम सकिएकाले सेवा सुचारु गर्नका लागि छलफल भईरहेको प्रयोगशाला स्थापना तथा सञ्चालन उपसमितिका संयोजक डा.कृष्णसागर शर्माले जानकारी दिए । “हामीले प्रयोगशालाको प्राविधिक काम सकायौँ । आजदेखि गुणस्तरीय व्यवस्थापनको काम गर्दछौँ ।” डा. शर्माले भने, “भोली देखि विरामीको नमुनाको परीक्षण नै सुरु गर्दछौँ ।”

प्रयोगशालाको जडान राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुका प्राविधिक र चितवनका प्राविधिकसहितको टोलीले गरेको थियो । ल्याब स्थापनाको सम्भाव्यता अध्ययन गर्न चितवन आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको स्वास्थ्य व्यवसायी परिषद्का रजिष्टार पुष्पराज खनाल सहितको टोलीले भरतपुरको राष्ट्रिय पंक्षीरोग अन्वेषण प्रयोगशालामा सञ्चालन गर्न उपयुक्त देखेपछि यहाँ प्रयोगशाला सञ्चालनको काम भएको थियो ।

यहाँ कृषि तथा वन विश्वविद्यालयमा रहेको आरटी पीसीआर मेसिन पनि ल्याएर जडान गरिएको छ । यसको दैनिक ९ सय वटा नमुना परीक्षण गर्न सक्ने क्षमता रहेको उपसमिति संयोजक डा.शर्माले बताए । एक सिफ्टमा तीन सय वटा नमुना परीक्षण हुने भएको छ । कोरोना भाईरसको नुमना अहिलेलाई पाँच वटा स्टेपमा परीक्षण गरिने उनले बताए । तत्काल बिरामीको रिपोर्ट ४८ घण्टा भित्र निकाल्ने तयारी गरिएको छ । तर, बिरामी धेरै भएको खण्डमा रिपोर्ट छिटो पनि आउन सक्ने उनले बताए ।

ल्याव सञ्चालन गर्नकालागि डिएसएलटु स्तरको बायोसेफ्टी क्याविनेट (जैविक सुरक्षा)को प्रवन्ध मिलाईएको छ । प्रयोगशाला सञ्चालनका लागि २० जनाको प्राविधिक टोली समेत तयार रहेको डा. शर्माले बताए । “भरतपुर अस्पताल, चितवन मेडिकल कलेज, पुरोना मेडिकल कलेज र बीपी कोईराला मेमोरीयल क्यान्सर अस्पतालबाट चार/चार जना, कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुर र काठमाण्डौँबाट आएका प्राविधिकको टोलिले अहिले काम गर्नेछन्,” उनले भने, “आवश्यक परे जनशक्ति थप गरिने छ ।”

सन् २०१६ मा अमेरिकन कम्पनीको यो मेशिनले आरएनए र डिएनए परीक्षण समेत गर्ने गर्दछ । यस मेशिनले दुई घण्टा भित्र नतिजा दिन सक्ने कृषि तथा वन विज्ञान विश्वविद्यालयका जैविक प्राविधिक केन्द्रका निर्देशक प्रा.डा.ईश्वरी प्रसाद कडरियाले बताए । यसले गर्दा बिरामी र चिकित्सकलाई समेत सहज हुने उनको विश्वास छ । सरकारले नेपालमा भएका ल्याबहरुलाई परिचालन गर्ने हो भने पनि बाहिरी मुलुकबाट तत्काल यस्ता मेसिनहरु ल्याउन नपर्ने उनको भनाई छ ।

चितवनबाट कोरोना परीक्षणका लागि स्वाब निकालेर पठाऊँदा नतिजा आउन लामो समय लाग्ने गरेको छ । अहिले गाडीमा राखेर स्वाब हेटौडा पठाउने गरिएको छ । यस्तो अवस्थामा चितवनमा नै कोरोनाको नमुना परीक्षण भएमा उपचार गर्न सहज हुने भरतपुर अस्पतालका मेडिकल सुपरिटेन्टेण्ड श्रीराम तिवारीले बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>