गण्डकी

तनहुँमा अत्यावश्यक वस्तुको मौज्दात सङ्कलन शुरु

Banner

तनहुँ, चैत २१–

तनहुँ जिल्लामा दैनिक उपभोग्य वस्तु तथा आवश्यक स्वास्थ्य सामग्रीको मौज्दात सङ्कलन शुरु गरिएको छ ।

जिल्लाका विभिन्न स्थानीय तह, जिल्लास्तर र अस्पतालमा अत्यावश्यक दैनिक उपभोग्य वस्तु तथा स्वास्थ्य सामग्रीको मौज्दात र मागको विवरण सङ्कलन शुरु गरिएको हो । जिल्लाका विभिन्न स्थानीय तहको समन्वयमा उद्योग वाणिज्य सङ्घले सङ्कलन गर्ने उक्त विवरण चैत २३ गतेभित्र गण्डकी प्रदेश स्तरीय आपूर्ति समन्वय समिति र गृह मन्त्रालयमा पठाइने प्रमुख जिल्ला अधिकारी एवम् नोभल कोरोना सङ्क्रमण रोकथाम तथा नियन्त्रण समितिका अध्यक्ष बद्रीनाथ अधिकारीले जानकारी दिनुभयो ।

राहत सामग्री वितरण सम्बन्धी कार्यविधि बनाई आवश्यक उपभोग्य सामग्री न्यायोचित र पारदर्शी हुने गरी वितरण गर्न स्थानीय तहलाई अनुरोध गरिएको प्रजिअ अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार उक्त कार्यको अनुगमन जिल्लास्तरीय आपूर्ति समितिले गर्नेछ । प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा जिल्लास्तरीय आपूर्ति अनुगमन समिति गठन भएको छ । समितका सदस्यमा जिल्ला समन्वय अधिकारी प्रेमराज गिरी, व्यास नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत, प्रहरी उपरीक्षक, सशस्त्र प्रहरी उपरीक्षक, उप अनुसन्धान निर्देशक, कालीभञ्जन गणका सेनानी तथा उपभोक्ता हित संरक्षण मञ्च, नेपाल पत्रकार महासङ्घ, नेपाल चेम्बर अफ कमर्श र तनहुँ उद्योग वाणिज्य सङ्घका अध्यक्ष वा प्रतिनिधि रहेका छन् । समितिको सदस्य सचिवमा घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख नारायणप्रसाद ढकाल रहनुभएको छ ।

अत्यावश्यक सेवा सञ्चालनमा प्रयोग हुने सवारी साधनका लागि जारी हुने सवारी साधन अनुमतिपत्र सम्बन्धी कार्यविधि कार्यान्वयन गरी तनहुँ जिल्लामा अत्यावश्यक सेवाको आपूर्ति र वितरणलाई सहज बनाइने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

स्वास्थ्यकर्मी कुटपिट गर्नेलाई कारवाही गर्न माग

तनहुँको भानु नगरपालिकामा–५ पुरनडिही प्राथमिक स्वास्थ्य केन्द्रमा कार्यरत स्वास्थ्यकर्मीमाथि कुटपिट गर्नेलाई कारवाही गर्न माग गर्दै बिहीबार प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाइएको छ ।

स्वास्थ्य केन्द्रमा उपचारका लागि आएका सोही ठाउँका सागर श्रेष्ठ र मदन गुरुङ लगायतका युवाले केन्द्रमा कार्यरत अहेवद्वय महोत्तरी जिल्ला घर भएका २५ वर्षीय मनोहर पण्डित र भानु नगरपालिका–१२ बस्ने २७ वर्षीया पुष्पालाई हातपात गरेको भन्दै उनीहरुमाथि कारवाहीको माग गरिएको हो ।

भानु नगरपालिका स्वास्थ्य शाखाका प्रमुख ऐश्वर्यचन्द्र भट्टराई, पुरनडिही स्वास्थ्य चौकीका प्रमुख डा। सुगम प्रधान, स्थानीय तह कर्मचारी सङ्घ भानु नगरपालिकाका अध्यक्ष शङ्कर रानाभाट र स्थानीय तह कर्मचारी युनियनका अध्यक्ष जितबहादुर घर्तीले संयुक्त रुपमा प्रजिअ अधिकारीलाई ज्ञापनपत्र बुझाउनुभएको हो ।

ती युवाको समूहले स्वास्थ्यकर्मीमाथि दुव्र्यवहार गर्दै केन्द्रको कुर्सी, टेबल र अन्य उपकरण तोडफोड गर्नुका साथै स्वास्थ्यकर्मीको मोवाइल फुटाइदिएको स्वास्थ्य शाखा प्रमुख भट्टराईले जानकारी दिनुभयो । मदिरा सेवन गरेका उनीहरुले स्वास्थ्यकर्मीलाई केन्द्रभित्र प्रवेश गरी कुटपिट गरेको घटनाले अहिले कोरोना सङ्क्रमणको जोखिमको ज्यानको परवाह नगरिकन स्वास्थ्य सेवामा खटिने स्वास्थ्यकर्मीको मनोबल कमजोर भएको विज्ञप्तीमा जनाइएको छ ।

कुटपिटमा संलग्नहरुलाई इलाका प्रहरी कार्यालय भानु मुकाम डुम्रेले चैत १८ गते पक्राउ गरेपनि २४ घण्टाभित्र पीडित पक्ष जाहेरी दिन नआएको र अहिले हिरासतमा धेरै जना राख्न अवस्था नभएको हुँदा चैत १९ गते तारेखमा रिहा गरिएको इलाका प्रहरी कार्यालय डुम्रेका प्रहरी निरीक्षक जितेन्द्र श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार ती व्यक्तिहरुलाई हाजिरी तारेखमा राखिएको हुँदा पीडित पक्षले जाहेरी दिएको खण्डमा पुनः कारवाहीको प्रक्रिया शुरु गरिनेछ । –रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>