चितवन विशेष
माडीमा १०५ बेडको क्वारेनटाइन र आइसोलेसन वार्ड

प्रीति पोख्रेल
चितवन, चैत १५–
चितवनको दक्षिणी भेग माडीमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट जोगिन १०५ बेडको क्वारेनटाइन र आइसोलेसन वार्ड बनाइने भएको छ ।
कोरोना भाइरस नियन्त्रणका लागि माडी नगरपालिकामा एक सय बेडको क्वारेनटाइन र पाँच बेडको आइसोलेसन वार्ड बनाउन लागिएको हो । कोरोना रोकथाम नगरस्तरीय समन्वय समितिको शुक्रबार बसेको बैठकले कोरोना संक्रमणको जोखिमले नगरबासीको दैनिकीमा परेको प्रभावप्रति गम्भिर बनेर सहज र सुरक्षित दैनिकी बनाउन प्रयास थाल्न समेत विभिन्न निर्णय गरेको छ ।
उपचारमा संग्लन रहने स्वास्थ्यकर्मीहरुलाई संक्रमणबाट जोगिन आवश्यक व्यक्तिगत सुरक्षा सामग्री (पीपीई) र औषधि खरिदका लागि माडी नगरपालिकाले तत्काल रकम निकासा गर्ने समेत निर्णय गरिएको नगरस्तरीय कोरोना रोकथाम समन्वय समिति माडीका संयोजक एवंम नगर प्रमुख ठाकुप्रसाद ढकालले जानकारी दिए ।
दुग्ध संकलन केन्द्र आजदेखि संचालनमा
माडीमा आज(शनिबार) देखि दुग्ध संकलन केन्द्रहरु संचालनमा आएका छन् । सरकारले अतिआवश्यक खाद्यन्न, पेट्रोलियम पदार्थ, खान पकाउने ग्याससँगै दुग्ध संकलन र आपूर्तिमा समेत लकडाउनको बेलामा पनि खोल्न सरकारले आग्रह गरेपछि कोरोनाको त्रासका कारण ३ दिन यता बन्द रहेका स्थानीय दुग्ध संकलन केन्द्रहरु आजबाट खुलेका हुन् ।
समितिको शुक्रबार बसेको बैठकले दुग्ध संकलन केन्द्रहरु र मासु व्यवसायहरु बिहान ८ देखि १० बजेसम्म र दिउँसो ४ देखि ६ बजेसम्म नियमित संचालन जारी राख्न सहजता दिइने निर्णय गरेसँगै आजबाट कृषकहरुले दुध विक्री गर्न पाएका हुन् ।
कोरोना नियन्त्रणमा सहयोगमा जुट्न चाहनेहरुको व्यबस्थापनको लागि नेपाल रेडक्रस सोसाइटी बघौडा उपशाखा सभापति भागिरथ बस्यालको संयोजकत्वमा माडीका रहेका सबै रेडक्रस उपशाखा रहने गरी सहयोग समिति समेत गठन गरिएको छ । यस्तै, देशव्यापी लकडाउनले देशभरसँगै माडीको व्यवसायमा समेत असर पारेकाले घरभाडामा छुटको लागि आग्रह गरिने निर्णय भएको छ ।
घरभाडा छुट दिन माग
नेपाल घर बहाल उपभोक्ता मञ्च माडी इकाईले भाडा रहेर व्यवसाय गर्दै आएकाहरुलाई घर भाडा छुट दिन माग गरेका छन् । माडी इकाईले एक विज्ञप्ती जारी गर्दै यस असहज परिस्थितीमा सम्बन्धित घरधनीलाई ५० प्रतिशत छुट दिने वातावरण मिलाउन अनुरोध गरिएको छ ।