Breaking News
कोरोना परीक्षण गर्न चितवनमै प्रयोगशाला बनाउने निर्णय

चितवन, चैत १४–
विश्वभर माहामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को पत्ता लगाउन चितवनमै प्रयोगशाला निर्माण गर्ने निर्ण भएको छ । प्रदेश सांसद विजय सुवेदीको संयोजकत्वमा बनेको ‘कोरोना प्रकोपविरुद्ध जिल्ला व्यवस्थापन समिति’को बैठकले जिल्लामै कोरोना परीक्षणका लागि प्रयोगशाला (ल्याब) बनाउने निर्णय गरेको हो ।
समितिकी सदस्य भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले आज (शुक्रबार) बसेको पहिलो बैठकले चितवनमा प्रयोगशाला बनाउने निर्णय गरेको नारायणी अनलाइनलाई जानकारी दिइन् । उनले प्रयोगशाला निर्माणका लागि आवश्यक व्यवस्थापन गरिदिन संघीय र प्रदेश सरकारसंग अनुरोध समेत गरेको जानकारी दिइन् । मेयर दाहालले हाल भरतपुर महानगरपालिकाले अग्रसरता लिएर कोरोनाविरुद्ध लड्ने काम भइरहेको भन्दै यस समितिले समग्र जिल्लाकै व्यवस्थापनको काम गर्ने जानकारी दिइन् । उनका अनुसार यो समितिले संकटको बेलामा आवश्यक खाद्यान्न व्यवस्थापन, स्वास्थ्य क्षेत्रमा देखिने समस्या समाधानलगायतका सबै कामको व्यवस्थापन गर्नेछ ।
१५ सदस्यीय समितिमा जिल्लाका सबै क्षेत्रका प्रमुख व्यक्तित्वहरुलाई समेटिएको छ ।