
अन्तर्राष्ट्रिय
अमेरिकामा कोरोना भाइरसका संक्रमित चीनमा भन्दा धेरै, एकै दिन १५ हजार संक्रमित



एजेन्सी,चैत १४-
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले चेतावनी दिए जस्तै विश्वव्यापी महामारीको रुपमा फैलिरहेको नोवेल कोरोना भाइरसको संक्रमणका कारण हुने कोभिड १९ को नयाँ इपिसेन्टर अमेरिका बन्दै गएको छ। पुष्टि भएका संक्रमितको संख्या अमेरिकामा विश्वमा सबैभन्दा धेरै पुगेको छ । पछिल्ला केही दिन १० हजार भन्दा बढीका दरले नयाँ संक्रमित थपिएको अमेरिकामा कुल संक्रमितको संख्या कोरोना भाइरसको उत्पति भएको चीनमा भन्दा धेरै भएका छन् ।
पछिल्लो २४ घण्टामा १४ हजार ९९५ जनामा नयाँ संक्रमण पुष्टि भएपछि अमेरिका विश्वमै सबैभन्दा धेरै कोरोना भाइरस संक्रमित हुने देश बनेको हो । चीनमा कुल संक्रमितको संख्या ८१ हजार २८५ छ भने अमेरिकामा त्यो भन्दा बढी ८३ हजार २०६ पुगेको छ ।
तेस्रो स्थानमा रहेको इटालीमाम कुल संक्रमितको संख्या ८० हजार ५९८ पुगेको छ । पछिल्लो २४ घण्टामा इटालीमा ६ हजार २०३ जना नयाँ संक्रमित थपिएका हुन् । यस्तै स्पेनमा ८ हजार २७१ नयाँ संक्रमित थपिएपछि कुल संक्रमितको संख्या ५७ हजार ७८६ पुगेको छ।
विश्वभर अहिलेसम्म ५ लाख २९ हजार १४८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । त्यसमध्ये २३ हजार ९६८ जनाको मृत्यु भएको छ । अहिलेसम्म एक लाख २३ हजार ३८० जना निको भएर घर फर्किएका छन् ।