कर्णाली
क्वारेन्टाइनमै स्वास्थ्यकर्मीमाथि स्थानीयले गरे आक्रमण

बैतडी, चैत १३–
कोरोना भाइरस (कोभिड–१९)बाट जोगाउन नेपालका विभिन्न स्थानहरुमा क्वारेन्टाइन निर्माण गरिएका छन् । तर बैतडीको पुरचौंडी नगरपालिका–५ को क्वारेन्टाइनमा भने सुरक्षाका लागि बनाइएको क्वारेन्टाइनमै स्थानीयले आक्रमण गरेका छन् । नगरपालिकाले बनाएको क्वारेन्टाइनमा भारतबाट फर्केका ७ जनालाई राखिएको थियो । सोही कारण सुनील जागरीका बुवा नरेन्द्र जागरीसहितका व्यक्तिले क्वारेन्टाइनमा आक्रमण गरेका हुन्। उनले स्वास्थ्यकर्मी करनसिंह धामीलाई चिरपटले हानेर घाइते बनाएका छन् भने उनको औंला दाँतले चपाई दिएका छन् ।
भारतबाट आएका छोरालाई किन राखेको भन्दै एक सहकारीका प्रबन्धक समेत रहेका स्थानीय नरेन्द्रले क्वारेन्टाइनमै पसेर कुटपिट गरी औंला चपाएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख विनोद कुवँरले बताए ।
कुटपिटबाट घाइते भएका स्वास्थ्यकर्मीलाई उद्धार गरेर उपचारका लागि स्वास्थ्यचौकीमा पुर्याइएको छ । ज्यानको बाजी लगाएर कोरोना भाइरसको सङ्क्रमण भित्रिन नदिन चौबीसै घण्टा काममा खटिएका स्वास्थ्यकर्मीमाथि भएको कुटपिटको नगरपालिकाले निन्दा गरेको छ । आक्रमणमाथि कडा कारवाही गर्न माग गरिएको छ ।