Breaking News

कोरोना प्रभावः चितवनमा स्वास्थ्यकर्मीलाई अभद्र व्यवहार गर्ने घरधनीलाई कारवाही गरिने

Banner

चितवन, चैत १२–

चितवनमा घरमा भाडामा बसेर अस्पतालमा काम गर्ने चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीहरुलाई अभद्र व्यवहार गर्ने घरधनीलाई कारवाही गरिने भएको छ । कोरोना भाईरस (कोभिड १९)को संक्रमणको त्राससंगै जिल्लामा भाडामा बस्ने स्वास्थ्यकर्मीहरुमाथि अभद्र व्यवहार हुन थालेको गुनासो आएसंगै कारवाहीको तयारी थालिएको हो ।

कोरोना नियन्त्रण कार्यदल चितवनको आज भरतपुरमा सम्पन्न बैठकमा भरतपुर कोरोना विशेष (अस्थाई) अस्पताल र अन्य अस्पतालमा समेत काम गर्ने चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीहरु बस्ने घरधनीहरुबाट फरक व्यवहार भएको भन्ने गुनासो आएको जानकारी गराईएको थियो । बैठकमा सहभागी कार्यदलका प्रबक्ता डा. भोजराज अधिकारीका अनुसार त्यस्तो पाईएमा स्थानीय प्रशासनले कडा कारवाही गर्ने बैठकले निर्णय गरेको छ ।

उनले भने “कसैलाई समस्या परेमा मलाई फोन गर्न लगाउनुस भनेर प्रमुख जिल्ला अधिकारीले भन्नुभएको छ । त्यस्ता घरधनीलाई स्थानीय प्रशासनले कडा कारवाही गर्ने छ ।” अभद्र व्यवहार भोगेका चिकित्सक, स्वास्थ्यकर्मीले कार्यदलका सदस्यहरुलाई गुनासो गरेको बैठकमा जानकारी गराईएको थियो ।

बैठकले भरतपुर कोरोना विशेष(अस्थाई) अस्पताललाई अहिले भएको सेवालाई यथावत राख्दै गुणस्तर सुधार गरी बहिरंग सेबा र आईसोलेसनको रुपमा प्रयोग गर्ने निर्णय गरेको छ । सो अस्पतालमा हाल १० शैयाको सघन उपचार कक्ष, १० शैयाको एचडियु र ५० साधारण शैया रहेको छ । कार्यदलका प्रबक्ता अधिकारीका अनुसार आवश्यकता अनुसार शैया थप समेत गर्ने बैठकमा छलफल भएको थियो ।

कोरोना भाईरस (कोभिड १९)को आशंका भई गम्भिर भएका बिरामीलाई जिल्लामा संञ्चालन भईरहेका मध्ये एक अस्पतालको सघन उपचार कक्षमा उपचार गर्ने विषयमा छलफल भएको थियो । अधिकांशले पहिलो चरणमा भरतपुर अस्पतालको सघन उपचार कक्षमा राखेर उपचार गराउनुपर्ने र त्यस अस्पताल भरिए पछि चितवन मेडिकल कलेज, कलेज अफ मेडिकल साईन्सेस शिक्षण अस्पताल भरतपुर, वीपी कोईराला मेमोरियल क्यान्सर अस्पताल र नीजि अस्पतालका सघन उपचार कक्षमा उपचार गर्दा उपयुक्त हुने सुझाब दिएका थिए । भरतपुर अस्पतालमा रहेको २० शैयाको सघन उपचार कक्षलाई बिस्तार गर्नुपर्ने र त्यस्ता बिरामीहरुको उपचारका लागि चिकित्सक, कर्मचारीको एउटै संयन्त्र बनाउन उपयुक्त हुने सुझाब आएको अधिकारीले जानकारी दिए ।

बैठकले कोरोनाको आशंका भई गम्भिर रहेका बिरामीलाई भरतपुर सहितका अस्पतालहरुमा उपचार गर्न व्यवस्थापन गर्नका लागि विशेषज्ञ चिकित्सक र अस्पतालका उच्च अधिकारीहरुलाई जिम्मेवारी समेत दिएको छ ।

कोरोना उपचारमा प्रत्यक्ष रुपमा संलग्न भई क्वारेन्टाईनमा बस्नु पर्ने चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीका लागि स्थानीय होटलहरुमा व्यवस्थापन गर्ने बैठकले निर्णय गरेको छ । कोरोना संक्रमणको आशंकामा घरबाटनै स्वाब लिनुपर्ने बिरामीका लागि आवश्यक सम्पूर्ण व्यवस्था गरिने भएको छ । सुरक्षाकर्मीको सहयोगमा घरमानै पुगेर स्वाब लिईने छ ।

कार्यदलले विभिन्न स्थानबाट माग र खरिद गरेका उच्च स्तरका र सर्जिकल मास्कहरु भरतपुर अस्पताल, नीजि मेडिकल कलेज, वीपी कोईराला मेमोरीयल क्यान्सर अस्पताल, नीजि अस्पताल, एम्बुलेन्स चालक र सुरक्षाकर्मीलाई आजै वितरण गरेको जनाएको छ । भित्र बिरामीसंग हेलमेल हुनेका लागि एन ९५ र बाहिर काम गर्नेका लागि सर्जिकल मास्क वितरण गरिएको अधिकारीले जानकारी दिए ।

बैठकले बिभिन्न उपसमिति बनाउन डा. अधिकारीलाई जिम्मा दिएको र बाहिरबाट आएका र उच्च जोखिम भएकाहरुलाई क्वारेन्टाईनमा राख्ने निर्णय गरेको छ । बैठकमा कार्यदलका संयोजक भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल, प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराई, भरतपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रेमराज जोशी लगाएत सदस्यहरुको उपस्थिति रहेको थियो ।

यसैबीच नेपाल रेडक्रस सोसाईटी चितवन र मातहतका एम्बुलेन्सका चालकहरु बीच आज यहाँ भएको बैठकले अहिलेको विशेष परिस्थितिमा एम्बुलेन्सहरुले उच्च सतर्कताका साथ सेवा दिने निर्णय भएको छ । भरतपुर कोरोना विशेष अस्पतालको परिषरमा दुईवटा एम्बुलेन्स राख्ने र अन्य विभिन्न स्थलहरुमा एम्बुलेन्सलाई तयारी अवस्थामा राख्ने, एम्बुलेन्समा कोरोना संक्रमण नफैलियोस् भन्नका लागि स्प्रे गर्ने जिम्मा एम्बुलेन्स चालक संघका राष्ट्रिय अध्यक्ष नवराज लामिछानेलाई दिने निर्णय गरेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>