अन्तर्राष्ट्रिय
अमेरिकालाई सहयोग गर्न चाहन्छौं,ट्रम्पले मानवीय नैतिकता देखाउः चीन

एजेन्सी,चैत १२-
अमेरिकामा कोरोना भाइरस तीव्र रूपमा फैलिएर मानवीय हताहती बढेपछि चीनले सहयोग गर्न चाहेको जनाएको छ। मानवीय नैतिकता देखाई सहायता स्वीकार गर्न बेइजिङले अमेरिकालाई आग्रह गरेको छ। तर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रकट गरिरहेको घृणास्पद लफ्फाजीका कारण द्विपक्षीय सहायतालाई ओझेलमा पारिदिएको चीनको विश्लेषण छ।
चीनको उहानमा गत डिसेम्बरमा पहिलोपटक कोरोना संक्रमणको मामिला फेला परेपछि अमेरिकाले लगातार चीनविरुद्ध खेदजनक अभिव्यक्ति दिइरहेको छ। ट्रम्प स्वयम्ले कोरोना भाइरसलाई चिनियाँ भाइरस भन्दै आएका छन्। अमेरिकामा यतिखेर बुलेट ट्रेनको गतिमा कोरोना संक्रमण फैलिइरहेको छ। विश्व नै कोरोना संक्रमणको चपेटामा लपेटिइरहँदा विश्वका प्रमुख दुई शक्तिशाली मुलुकबीच सहायता सम्झौता हुन सकेको छैन।
अवस्था खराब हुँदै गएपछि अहिले अमेरिकामा चीन निर्मित चिकित्सकीय सामग्री, उपकरण र औषधीको ब्यापक माग भैरहेको छ। चीनले अमेरिकालाई सहायता सामग्री उपलब्ध गराउन चाहेपनि वासिङ्टनका राजनीतिज्ञहरूले यसलाई स्वीकार गरिरहेका छैनन्। यस्तो रवैयाका कारण अमेरिकाले कोरोना संक्रमणबाट थप क्षति ब्यहोर्नुपर्ने चेतावनी दिएका छन्।