जोडिनुहोस

Banner

चितवन, चैत ८-

 विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड १९) बाट सुरक्षित रहन भन्दै धुर्मुस सुन्तली फाउण्डेसनले चितवनको रामपुरमा निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको काम स्थगित गरेको छ ।

फाउण्डेसनले आज एक प्रेस विज्ञप्ति सार्वजनिक गर्दै सामान्य अवस्था नहुन्जेलसम्मलाई काम स्थगित गरिएको जानकारी गराएको हो । फाउण्डेसनले विज्ञप्तिमा विभिन्न सुरक्षाका उपायहरु अपनाएर रंगशाला निर्माणलाई निरन्तरता दिइरहेको भए पनि सरकारले गरेको निर्देशन बमोजिम २५ जना भेला हुन नपाइने भएकोले निर्माणको कामलाई तत्कालका लागि स्थगित गरिएको उल्लेख छ ।

फाउण्डेसनको विज्ञप्तिमा विश्व कोरोनाको त्रासले आक्रान्त भएको अवस्थामा सामान्य जनजीवनदेखि राष्ट्रिय गौरवका आयोजना र परियोजनाहरु समेत प्रभावित भइरहेकाले गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला अछुतो रहने कुरै भएन भन्ने उल्लेख गरिएको छ । विज्ञप्तिमा भनिएको छ, ‘यद्यपि कामलाई तीव्रताका साथ अघि बढाइरहेका थियौं । कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै कामदारबाहेक अन्यलाई रंगशाला प्रवेशमा रोक लगाएका थियौं । कार्यस्थलभित्र प्रवेश गर्ने हरेकको ज्वरो नाप्नुका साथै ह्याण्ड स्यानिटाइजरको प्रयोग पनि सकेसम्म गरिरहेका थियौं । तर, कोरोना संक्रमण प्रति जसरी राज्य संवेदनशील बनेको छ त्यसैगरी हामीले निर्णय लिनु उपयुक्त ठानेका छौं ।’

रंगशाला निर्माणको काम अझै तीव्र गतिमा अगाडि बढाउने योजना बनाउँदै गर्दा सरकारले २५ जना बढी एक ठाउँमा जम्मा नहुन अपिल गरेकोले रंगशालामा कामदार मात्रै साढे २०० भन्दा बढी भएकोले पनि काम स्थगित गरिएको उल्लेख छ । विज्ञप्तिमा भनिएको छ, ‘निर्माण सामग्री, ढुवानीलगायतका कुरामा पनि प्रभाव पर्ने देखिसकिएको छ । साथै मानिसको स्वास्थ्य नै सबैभन्दा ठूलो कुरा हो । त्यसैले सबैको स्वास्थ्य संवदेनशिलतालाई दृष्टिगत गर्दै रंगशाला निर्माणको काम केही समय (सामान्य अवस्था नहुन्जेलसम्म) स्थगित गर्ने निर्णयमा पुगेका छौं । जनस्तरबाट निर्माण हुने यस रंगशालामा सहयोग पु¥याउने सम्पूर्ण सहयोगी मनहरुप्रति आभार व्यक्त गर्दै आफ्नो स्वास्थ्यको ख्याल गर्नुका साथै सावधानी अपनाउन आग्रह गर्दछौं ।’

जनस्तरबाट निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला गएको वर्ष माघ १६ गते भरतपुर महानगरपालिका र धुर्मुस सुन्तली फाउण्डेशनबीच सम्झौता भई निर्माण घोषणा गरिएको थियो । विस्तृत गुरुयोजना तयार हुनु अगावै फाउण्डेसनले प्रारम्भिक चरणका काम (कम्पाउण्डिङ, साइट क्लीरयन्स, साइट अफिस, गोदाम घर, कर्मचारी आवास, कामदार आवास) बनाउने काम मंसिर अगाडि नै सम्पन्न गरिसकेको थियो । विस्तृत गुरुयोजना (डीपीआर) तयार भई यही मंसिर १ गतेदेखि उक्त गुरुयोजना अनुसार गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको काम सुरु गरि चार महिना ८ दिनमा सातवटा क्रिकेट पिच भएको खेल मैदानको ८५ प्रतिशत काम र प्याराफिट संरचनाको तयारी स्वरुप जग खन्ने ९० प्रतिशत काम सम्पन्न भइसकेको छ ।

यस्तै, ६४ वटा पिल्लरको लागि फलामको (रड बंग्याउने, बाँध्ने र पिल्लरको आकार बनाउने) काम पूरा भएको छ । खेलमैदानको पिचमा प्रयोग हुने माटो तनहुँको जामुनेदेखि ढुवानी गरी प्रशोधनको काम पनि गरिसकिएको छ । प्याराफिटको पिल्लरको पिसीसी ढलानको काम करिब ७० प्रतिशत सकिएको छ भने दुई मिटर चौडाई र २ दशमलब ३७ मिटर उचाई रहेको ड्रेन तयार भइसकेको छ । जसमा आकाशे पानी संकलन गरिनेछ र खेल मैदानको दुबोको सिंचाइँका लागि प्रयोग गर्ने उद्देश्य राखिएको छ ।

नमूना खेलमैदान तयार भई सुचारु अवस्थामा छ । सात हजार वर्ग मिटर बरमुढा प्रजातिको दुबोको नर्सरी तयार पारिएको छ । उक्त दुबो रंगशालाको क्रिकेट खेलमैदानमा सारिनेछ । १० ट्रिपर, चार ट्याक्टर, एक ग्रेडर, एक बुल डोजर, पाँच ब्याक हो–लोडर (जेसीबी), दुई एक्जाभेटर, एक रोलर दैनिक प्रयोग भइरहेका छन् । यस्तै, २७० जना जनशक्ति कार्यस्थलमा खटिरहेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *