जोडिनुहोस
  • होमपेज
  • भरतपुरमा रेग्मीका दुई कृतिमाथि शल्यक्रिया

भरतपुरमा रेग्मीका दुई कृतिमाथि शल्यक्रिया

चितवन, फागुन २४-

चितवनका अग्रज साहित्यकार इन्द्रप्रसाद रेग्मीका दुई कृतिहरु ‘स्वाहा’ र ‘जाइफल’ को आज विमोचन गरिएको छ ।

कवि तथा प्राध्यापक घनश्याम शर्मा पौडेलले आज रेग्मीका दुई कृतिलाई विमोचन गरेका हुन् । कृति विमोचन गर्दै पौडेलले राजनीति र समाजमा देखिएका विकृति र विसंगतिमाथि रेग्मीले टाउकोमा नै प्रहार गरेको विचार राखे । उनले भने,‘ सरल भाषामा लेखिएको रेग्मीका मुक्तक तथा निवन्धहरु समकालिन समाजको राम्रो प्रतिविम्व हो ।’

रेग्मीको ‘जाइफल’ मुक्तक संग्रह र ‘स्वाहा’ व्यङ्ग्य निवन्धसङ्ग्रहमाथि भवनाथ सडौला, एकनारायण पौडेल, सरिता तिवारी, एलबी क्षेत्रीलगायतले शल्यक्रिया गरेका थिए ।  नेपाली साहित्य क्षेत्रमा विसं २०२६ सालदेखि आजसम्म सक्रिय रेग्मीका कृतिहरुमा समसामयिक घटनाक्रमहरुमा सरल भाषामा व्यङ्ग्य गरिएको समालोचकहरुले बताए । देशको विकृत राजनीति, नातवाद र चाकडीवादको पुस्तकमा व्यङ्ग्य गरिएको छ । समालोचकहरुले भने, ‘सत्ताको दुरुपयोग गरी पहुँच र पकड बनाएर नव धनाढ्य बन्ने प्रवृत्तिका विरुद्ध रेग्मीको कलमले व्यङ्ग्यको झटारो हानेको छ ।’ स्वाहामा १५ वटा निवन्धहरु रहेको छ भने जाइफलमा २५४ वटा मुक्तकहरु संग्रहित छन् । जाइफललाई अमेरिकामा रहेका नारायणप्रसाद कँडेलले प्रकाशन गरेका छन् भने स्वाहालाई प्रियराज रेग्मीले प्रकाशन गरेका छन् ।

सबै विधामा कलम चलाउने तर आफूलाई निबन्धकार भन्न रुचाउने रेग्मी समाजमा देखिएका विकृतिका विरुद्ध कलम चलाउने गर्छन् । उनले गत वर्ष मात्र कविडाँडा साहित्य समाजको देवखीना साहित्य सम्मान तथा पुरस्कार, शहिद सारदा स्मृत्ति पुरस्कार र साहित्य संगम चितवनको मदनमोहन जोशी पुरस्कार प्राप्त गरेका छन् ।

विसं २००५ सालमा भारतको कलकत्तामा जन्मिएका रेग्मी चितवनका अघिल्लो पुस्ताका साहित्यकार हुन् । उनले विसं २०२६ सालबाट अहिलेसम्म गीत, गजल, निवन्ध, लघुकथा र कविता लेखनमा सक्रिय छन् । दुवै कृति उनको सातौँ र आठौँ कृति हो । उनको पहिलो कृति २०६८ सालमा ‘भर्खरै’ कविता सङ्ग्रह प्रकाशित भएको थियो । भरतपुर महानगरपालिका–११ भोजाडमा स्थायी बासिन्दा रेग्मी साहित्य संगम चितवनका संस्थापक सदस्य, जनसांस्कृतिक महासंघका सल्लाहकार तथा प्रगतिशील लेखक संघका केन्द्रीय सल्लाहकार हुन् । उनले साहित्य सिर्जनामा लागेर आजसम्म ११५ भन्दा बढी प्रशंसा र सम्मान पाइसकेका छन् । उनी त्रिभुवन विश्वविद्यालयबाट सेवानिवृत्त कर्मचारी हुन् । साहित्य संगमका अध्यक्ष बाबुराम पाण्डेको अध्यक्षतामा भएको दुई कृतिको विमोचन तथा कृतिमाथिको शल्यक्रिया कार्यक्रममा लेखकका नाती रञ्जन रेग्मीले स्वागत मन्तव्य राखेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका