जोडिनुहोस

Banner

चितवन, फागुन १५-

पश्चिम चितवनको पटिहानीमा रहेको गंगानगर दुग्ध उत्पादक सहकारी संस्थाले दुग्धजन्य परिकारहरु उत्पादन गर्ने भएको छ ।

सहकारीले स्थापना गरेको अत्याधुनिक उद्योगबाट प्रशोधित दूध, दही, पनिर, घ्यू र दुग्धजन्य परिकारहरु चैत मसान्तभित्र उत्पादन गरी बिक्री वितरण गर्न लागिएको हो । करिब दुई करोड रुपैयाँ लगानीमा उद्योग स्थापना गर्न लागिएको संस्थाका अध्यक्ष कृष्णप्रसाद सापकोटाले जानकारी दिए । उद्योग स्थापनाका लागि सहकारी विभागले ८५ लाख रुपैयाँ अनुदानसमेत दिएको थियो । उत्पादित वस्तुहरु प्याकिङ गरी गंगा ब्राण्डका रुपमा बिक्री गरिने अध्यक्ष सापकोटाले बताए । यस सहकारीमा प्लान्ट मेसिन, दूध ढुवानी साधन बोलेरोसमेत रहेको छ ।

उद्योग स्थापना भएपछि सहकारीले प्रतिलिटर १० रुपैयाँ किसानलाई अनुदान दिन सक्ने अनुमान गरेको छ । अहिले किसानले सरदरमा ५७ रुपैयाँमा खरिद गर्दै आएको छ । पछि ६७ रुपैयाँमा खरिद गर्न सकिने सापकोटाले बताए । उद्योग स्थापनाका लागि सहकारीले आधुनिक नमुना गाई फार्म तथा स्रोत केन्द्र सञ्चालन गरी दैनिक दुई सय देखि ५०० लिटर दुग्ध उत्पादन गर्ने बताएको छ ।

उद्योगले पशुपालन व्यवसायको माध्यमबाट स्वरोजगार सिर्जना तथा गरिबी निवारणमा योग्दान पु¥याउने अपेक्षा गरिएको छ । अहिले भरतपुर महानगरपालिका २२ का ७०० किसानले उत्पादन गरेको दूध सहकारीले खरिद गर्छन् । यस सहकारीमा दैनिक पाँच हजार लिटर दूध संकलन हुने गरेको सापकोटाले बताए । तत्काल उद्योग सञ्चालन गर्नका लागि एक हजार लिटर दूध भए पुग्ने उनको भनाइ छ । ‘हामीले दैनिक ५०० लिटरको दही प्याकिङ गर्ने लक्ष्य राखेका छौँ । बाँकी ५०० लिटरको घ्यु, पनिर, आईसक्रिमलगायतका सामग्री बनाउने लक्ष्य रहेको छ । उनले भने, ‘पछि बजार विस्तार गर्दै तीन हजार पु¥याउने लक्ष्य राखेका छौँ ।’ दुग्धजन्य खाद्य सामग्री उत्पादन गरी सहजरुपमा बजारमा वितरण गरिने उनले बताए ।

संस्थाले केही समयपछि बटर, क्रिमलगायत दुग्धजन्य पदार्थका परिकार बनाउने समेत बताएको छ । यहाँबाट उत्पादित वस्तुहरु नवलपुर, रुपन्देही, कास्की, तनहुँ, गोरखा धादिङ र काठमाडौँलगायतका जिल्लामा बिक्री वितरण गर्ने लक्ष्य राखेको छ । दूध र दुग्धजन्य पदार्थ उचित मूल्यमा उपलब्ध गराई पाँच वर्षभित्र राष्ट्रिय मापदण्ड स्तरको दुग्धजन्य पदार्थहरु बजारमा दैनिक १० हजार लिटर दूध प्रशोधन गरी बिक्री वितरण गर्ने लक्ष्य सहकारीको छ ।

किसानलाई दूध उत्पादनका लागि प्रोत्साहन गर्नका लागि सहकारीले नयाँ नीतिसमेत ल्याएको छ । उसले पशु व्यवसायमा आवश्यक पर्ने औषधि सहुलियत, ऋण, घाँस दानाको उचित व्यवस्था, पशु सुत्केरी खर्चको आर्थिक भार कम गर्नको लागि प्रतिपशु एक हजार रुपैयाँ दिने व्यवस्था गरेको छ । दूध उत्पादन लागत कम गर्न पशु व्यवसायमा आवश्यक पर्ने औषधि सहुलियतरुपमा उपलब्ध गराउँदै आएको अध्यक्ष सापकोटाले बताए । विसं २०४९ सालमा स्थापना भएको यस सहकारीले वार्षिक २० करोड रुपैयाँ बराबरको कारोबार गर्ने गरेको छ ।
सहकारीले साढे दुई बिघा क्षेत्रफलमा पशुका लागि आवश्यक पर्ने बहुवर्षीय, डाले र मौसम अनुसारको घाँस खेती गर्र्दै आएको छ । पटिहानीको धनौजीमा केन्द्रीय कार्यालय रहेको सहकारीले गंगानगर र बरौजीमा समेत दूध संकलन केन्द्र स्थापना गरेको छ ।

तस्बिर : फाइल फोटो

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *