जोडिनुहोस
  • होमपेज
  • चितवनको माटोमा अल्मियपना बढ्यो, सजग नभए खाद्य उत्पादन घट्ने

चितवनको माटोमा अल्मियपना बढ्यो, सजग नभए खाद्य उत्पादन घट्ने

चितवन, फागुन ३-

चितवनको माटोमा अम्लियपना बढी रहेको पाइएको छ ।

माटो तथा मल परीक्षण प्रयोगशाला हेटौँडा, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाइ चितवनले राप्ती, खैरहनी र रत्ननगर नगरपालिकामा गरेको माटो परीक्षणमा प्राङ्गारिक पदार्थ र पोटासको कमीसँगै माटोमा अम्लियपना बढी देखिएको हो ।  १२० वटा नमुना परीक्षण गरिएकोमा १०१ वटामा अम्लिएपना भेटिएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाइ चितवनका सूचना अधिकारी माधव पौडेलले जानकारी दिए ।  माटो परीक्षणका लागि दुई हप्तादेखि परियोजनाका प्राविधिक, कृषि तथा वन विज्ञान विश्वविद्यालयवाट बीएसी अध्ययन पूरा गरी इन्टर्न गर्ने विद्यार्थीहरु, कृषि अध्ययन गरी परियोजनामा ओजेटी गर्ने प्राविधिक र सम्वन्धित कृषकसहितको टोलीले फिल्डमा पुगी नमुना संकलन गरेका थिए ।

करिब १८० नमुना संकलन गरिएकोमा अहिले १२० वटा नमुनाको नतिजा आएको छ । बाँकी नमुनाहरु पनि यसै हप्तामै परीक्षण सूचना अधिकारी पौडेलले जानकारी दिए । समान १२० वटा नमुना परीक्षण गरिएकोमा प्राङ्गारिक पदार्थमा ९८, पोटासमा ७१ वटामा कमी तथा १०१ वटा नमुनामा माटो अम्लिएपना देखिएको छ । अत्यधिक नाइट्रोजन र फस्फोरस जन्य मलमात्र प्रयोगले झन् समस्या बढ्दै गरेको पौडेलले बताए । यसले गर्दा विगतमा खाद्य तत्वको कमी हुनुका साथै रोग तथा जटिल खाद्य तत्व अभावबाट सृजित समस्या देखिएको उनको भनाइ छ ।

‘चितवनमा व्यवस्थित रुपमा माटो परीक्षण गरी खेती गर्नुपर्ने भएकाले माटो तथा मल परीक्षण प्रयोगशाला हेटौँडाको सहयोगमा पूर्वीचितवनका नगरपालिकामा माटो परीक्षण गरियो ।’ पौडेलले भने । ‘मुख्य गरी धान खेतीलाई लक्षित गरी माटो परीक्षण गर्दा प्राङ्गारिक पदार्थ, पोटासमा कमी र अम्लियपना बढी देखियो ।’ कृषकले गाईवस्तुका लागि नल पराल र ढोड प्रयोग गरी खेतवारीमा नमिलाउँदा प्राङ्गारिक पदार्थको कमी देखिएको पौडेलले बताए । यसको विकल्पमा कम्पोष्ट वा गोठेमलको प्रयोग बढाउन आवश्यक रहेको उनको भनाइ छ ।

अम्लियपनाको कारण खाद्यतत्वको अभाव हुने र माटोको समग्र गुणस्तर बिग्रने समेत गर्दछ । यसका लागि कृषि चुनको प्रयोग बढाउनुपर्ने आवश्यकता रहेको परियोजनाले जानकारी दिएको छ । कृषि चुन जमिन खाली रहेको समयमा प्रयोग गर्नुपर्ने छ । प्रर्याप्त चिस्यान भएको माटोमा चुन प्रयोग गरि जोतेको १५ दिनसम्म जमिन खालि हुनुपर्ने उनको भनाइ छ ।

पोटासका कमीका कारण बिरुवाको रोग प्रतिरोधात्मक क्षमता घटी अधिकांश रोगहरुको आक्रमण बढ्ने र अन्य खाद्यतत्वको पनि कमी हुने गर्छ । कृषकले प्राय पोटास मलको प्रयोग नगर्दा खाद्यन्नबालीमा निरन्तर कमी आउने गरेको सूचना अधिकृत पौडेलले बताए । सो परीक्षणबाट चितवनको माटोमा धेरै समस्या रहेको र तत्काल माटो सुधार गर्नुपर्ने देखिएको माटो विज्ञ गणेश शाहले बताए । माटो परीक्षणको नतिजा सार्वजनिक कार्यक्रममा खैरहनीका मेयर लालमणि चौधरीले समस्या ग्रस्त क्षेत्रमा माटोको माग अनुसार माटो व्यवस्थापनमा आफू लागिपर्ने बताएका थिए ।

त्यस्तै परियोजनाका प्रमुख मेघनाथ तिमल्सेनाले परियोजनाले पनि माटो सुधारमा केन्द्रित कार्यक्रमहरु सञ्चालन गर्ने बताए । चितवनका कृषकहरुले तोरी वा फापर बाली भित्राइसकेपछि चैते धान रोप्नु पूर्व करिब एक महिना जमिन खालि राखेमा अम्लिएपना हट्न सक्ने तिमल्सेनाको भनाइ छ । चैते धान भित्राइएको एक हप्ता पनि नपुग्दै बर्से धान रोप्ने भएकाले खेतीमा समस्या देखिने गरेको छ । साथै माटोको अम्लिएपन हटाउनको लागि प्रयोजना कार्यान्वयन इकाइ चितनवले कृषि चुन वितरणको कार्यक्रम राखेको तिमल्सेनाले जानकारी दिए । कृषकहरुको सचेतना अभावमा कृषि चुनको प्रयोग नभएको कार्यालयको भनाइ छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका