जोडिनुहोस
बिहिबार, कार्तिक ११, २०७८
बिहिबार, कार्तिक ११, २०७८
alt
  • होमपेज
  • चितवन ट्राफिकलाई मोटरसाइकल, ल्यापटप र क्यामरा सहयोग

चितवन ट्राफिकलाई मोटरसाइकल, ल्यापटप र क्यामरा सहयोग

चितवन, माघ २८-

दुर्घटना न्यूनीकरणका लागि ट्राफिक कार्यालय चितवनलाई जिल्लाका व्यवसायीले आवश्यक सामग्री सहयोग गरेका छन्।

ट्राफिक कार्यालय चितवन र दुर्घटना न्यूनीकरण महाअभियान कार्यसमिति चितवनले गरेको कार्यक्रममा सो सहयोग सामग्रीहरु हस्तान्तरण गरिएको हो । सामग्रीहरुमा गोप्रो क्यामरा, मोटरसाइकल ल्यापटपलगायत छन् । नारायणी मोटर्सका प्रवन्ध निर्देशक बालगोपाल चुकेद्वारा १२५ सीसीको दुई थान बजाज मोटरसाइकल चितवन अटोमोबाइल डिलर्स एसोसियसनका अध्यक्ष ईश्वर श्रेष्ठले एक थान ल्यापटप र पोजेक्टर प्रहरीलाई हस्तान्तरण गरेका थिए । त्यस्तै चितवन निर्माण सेवा संघका अध्यक्ष कुल ब.राई र निर्माण व्यवसायी जिल्ला समन्वय समिति चितवनका अध्यक्ष विष्णु महर्जन ले संयुक्तरुपमा दुई थान गोप्रो क्यामरा सहयोग गरेका छन् ।

सडक दुर्घटना न्यूनीकरण अभियानलाई सघाउ पु¥याउन सो उपकरण सहयोग गरेको चितवन अटोमोबाइल्स डिलर्स एशोसिएसन चितवनका अध्यक्ष ईश्वर श्रेष्ठले बताए । कार्यक्रममा वागमती प्रदेश ट्राफिक रामनगरका प्रमुख प्रकाश रानाभाटाले ट्राफिक प्रहरीलाई प्रविधिमैत्री बनाउनुपर्ने आवश्यकता औल्याए । विकासोन्मुख देशमा आवश्यकता अनुसार ट्राफिक परिचालन गर्न नसकेता पनि भएको जनशक्तिलाई प्रविधिसँग जोडेर परिचालन गर्नु आजको आवश्यकता रहेको बताए ।

नेपालमा दैनिक आठ जनाले सडक दुर्घटनाबाट ज्यान गुमाउँछन् त्यस्तै १८ देखि ३० जनाको हाराहारीमा मानिसहरु घाइते हुने गरेको दृष्टान्त प्रस्तुत गर्दै सडक दुर्घटना चुनौती र संवेदनशील विषय भएको बताए ।  भौतिक स्रोतसाधन र आधुनिक उपकरणहरुको प्रयोग बिना शान्ति सुरक्षा सम्भावना नभएको बताउँदै समग्र वाग्मती प्रदेश ट्राफिक कार्यलयले आधुनिक उपकरणद्वारा सवारी दुर्घटना न्यूनीकरण कार्ययोजना नै बनाएर अगाडि बढिरहेको बताए । त्यसैले जनशक्ति विस्तार भन्दा पनि प्रविधिको विस्तारलाई जोड दिनुपर्ने बताउँदै उनले वागमती प्रदेशलाई आवश्यक पर्ने १२ वटा राडर गन, ६ वटा ड्रोन क्यामरालगायतका अत्यावसकीय प्रविधि माग सरोकारवाला निकायसँग माग गरिरहेको जानकारी दिए।

कार्यक्रममा बढ्दो सवारी चापसँगै यहाँको सुरक्षा चुनौती पनि थपिँदै गएको चितवन ट्राफिक प्रमुख दयाकृष्ण भट्टले विचार राखे । नेपालकै केन्द्रबिन्दुमा रहेको चितवनमा सुरक्षा संवेदनशिलता चुनौतीपूर्ण रहेको उनको विचार थियो । सुरक्षा संवेदनशिलतासँगै ट्राफिक जनशक्तिको अभाव र सुरक्षा संयन्त्रसँग सम्बन्धित पूर्वाधारको कमी रहेको बताउँदै यस्ता सहयोगले केही हदसम्म सहयोग पुग्ने उनको विचार थियो । अहिले चितवनमा एक महिनामा सडक दुर्घटनाबाट औषतमा १३ जनाको मृत्यु हुने गरेको तथ्याङ्क पनि भट्टले प्रस्तुत गरेका थिए ।

विगत ६ महिनादेखि वाग्मती प्रदेश ट्राफिक रामनगरले मुग्लिननारायणगढ त्रिशूली नदीको सडकखण्डअन्तर्गत रात्रिकालीन चल्ने सवारी साधनका चालकहरुको नियमन गर्न मोबाइल कम्युनिकेसन एप प्रयोग गरिरहेको छ । जसबाट २५० बढी किमी लामो दूरी तय गरेर आएका चालकले अनिवार्य रुपमा चालक परिवर्तन भए नभएको मोबाइल कम्युनिकेसन एपबाट निगरानी गरिरहेको छ । अनुगमनबाट ९० प्रतिशत बढी दुर्घटना न्यूनीकरण भएको प्रहरीको दाबी छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका