जोडिनुहोस

Banner

चितवन, पुस २१

जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले विगत १० महिनामा निकै उल्लेखनीय कामहरु गरेको छ । जिल्ला ट्राफिक प्रहरी प्रमुखको रुपमा चन्द्र गिरी गत वर्ष फागुनमा चितवन आएका थिए । उनको नेतृत्वमा चितवन ट्राफिक प्रहरी कार्यालयले निकै उल्लेखनिय कार्यहरु गरेको छ । विगत १० महिनामा ट्राफिक व्यवस्थापन, सवारी कारबाही गर्नेदेखि जनचेतनामूलक अभियानसम्मका विविध कार्यक्रमहरु सञ्चालन गर्न प्रहरी सफल भएको छ । बढ्दो ट्राफिक चुनौती र सहरीकरणसँगै सीमित स्रोतसाधनका बाबजुद ट्राफिक प्रहरीले जिल्लामा सञ्चालन गरिरहेको गतिविधिहरु उल्लेखनिय रहेको देखिन्छ ।

विसं २०७५ साल फागुन २६ गतेदेखि २०७६ साल पुस २० गतेसम्म चितवनमा सवारी नियम उल्लंघन गर्ने ३२ हजार २७९ वटा सवारी साधनलाई कारबाही गरी दुई करोड ५१ लाख ७१ हजार ५०० राजस्व संकलन गरिएको छ । चितवनमा निर्धारित भाडादर भन्दा बढी भाडा लिने ६५ वटा सवारी साधनबाट २८२ जना यात्रुको ८५ हजार ५४० भाडा फिर्ता गराइएको ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ ।

त्यस्तै समुदाय–प्रहरी साझेदारी अभियानअन्तर्गत ट्राफिक प्रहरीले विभिन्न टोल विकास संस्था, स्कुल, कलेजहरुमा ७६ पटक सडक सुरक्षा सम्बन्धमा प्रशिक्षण कार्यक्रम सञ्चालन गरिएकोमा जसबाट ८ हजार २५० जना लाभान्वित भएका छन् । चितवनमा बढ्दो सवारी दुर्घटना न्यूनीकरणको लािग प्रहरीले साप्ताहिकरुपमा चालकसँग १ मिनेट र यात्रुसँग दुई मिनेट कार्यक्रम पनि गरेको छ । विभिन्न संघसंस्था, अस्पताल तथा कार्यालयहरुको सहयोगमा ५३५ वटा सवारीको यान्त्रिक परीक्षण र एक हजार २३० जना चालकहरुको आँखा तथा स्वास्थ्य परीक्षण गरिएको छ ।

जनचेतना र ट्राफिक व्यवस्थापन मात्र नभएर जिल्ला ट्राफिक प्रहरी कार्यालयलाई साधनस्रोत सम्पन्न बनाउन पनि यस अवधिमा विभिन्न कार्य भएका छन् । जसअन्तर्गत नारायणी मोटर्स प्रालिका सञ्चालक बालगोपाल चुकेले २ थान बजाज कम्पनीका मोटरसाइकल र पिनाकल ट्रेडिङ कन्सर्न भरतपुरका सञ्चालक ईश्वर श्रेष्ठबाट एक थान ल्यापटप र प्रोजेक्टर सहयोग गर्ने प्रतिबद्धता प्राप्त भएको ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ ।

अहिलेसम्म ट्राफिकको आफ्नो कार्यालय भवन नभएकोले यससम्बन्धी गृहकार्यको लागि उपयुक्त भवन निर्माण स्थलको पहिचान गरी राय प्रदेश प्रहरी कार्यालय हेटौंडालाई पठाइसकेको छ । बजेट निकाशा हुनासाथ भवन निर्माण हुने प्रहरीले जनाएको छ । प्रहरीले यस अवधिमा हराएका तथा चोरी भएका सवारी साधन सम्बन्धित सवारी धनीलाई जिम्मा पनि लगाएको छ । यस १० महिने अवधिमा भरतपुर महानगरसँग समन्वय गरी ४१ थान हिलटेक कम्पनीको बिग साइजका डिभाइडर महानगरका विभिन्न स्थानामा राखी ट्राफिक व्यवस्थापन गरिएको छ । त्यस्तै चितवनका विभिन्न स्थानमा ६५ थान ट्राफिक संकेत बोर्डहरु, दुर्घटना स्थल बढी हुने गीतानगर जाने बाटोको सीतारामचोकमा रिफ्लेक्टिभ स्टिकर टाँस गरिएको छ ।

ट्राफिकले विभिन्न स्थानमा जानको लागि प्रयोग गर्दै आएको मोबाइल गाडी अन्यन्तै पुरानो भएकोले विशेष पहल गरी यस अवधिमा नयाँ सवारीसाधन निकाशा भएको छ । यस अवधिमा ६५० जना चालक मापसे गरी सवारी चलाएको कसुरमा कारबाही हुनुका साथै साइलेन्सर परिवर्तन गरी ठूलो आवाजमा मोटरसाइकल चलाउने ७० वटा सवारीसाधनको साइलेन्सर नै जफत गरी जरिवाना गरिएको छ । यसरी चितवन ट्राफिक प्रहरी कार्यालयलाई आफ्नो भवनसहित साधनस्रोत सम्पन्न बनाउने, जनचेतना दिने र ट्राफिक व्यवस्थापनमा नयाँ सोच तथा अवधारणा ल्याउने काम यस १० महिनाको अवधिमा भएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *