



चितवन, पुस २०-
साइट क्लियर भएपछि नारायणगढ–बुटवल सडक विस्तारको कामले गति लिएको छ ।
आयोजनाको ‘राइट वे’ मा पर्ने रुख र बिजुलीका पोल हटाउन नसक्दा काम थाल्न बाधा परे पनि तीन सातायता आयोजनाको कामले गति लिएको छ । वन विभागबाट रुख कटान स्वीकृति र विद्युत प्राधिकरणले पोल हटाउन थालेसँगै सडक विस्तारको काम अघि बढेको हो। अहिले साइटमा १०० बढी उपकरणबाट काम भइरहेको छ । इञ्जिनियर र कामदार खण्डखण्डमा खटिएका छन् । बक्स कल्भर्ट बनाउने, विस्तारित भाग पुर्ने र रुख कटानको काम भइरहेको आयोजनाका इन्जिनियर सुजन अधिकारीले बताए । यतिबेला करिब ३६ किमि काम भइरहेको छ । ‘साइटमा पर्ने ३० हजार रुख काट्ने स्वीकृति आयोजनाले पाएको छ । पहिलो फेजमा करिब पाँच हजार रुख काट्न लागिएको छ,’ उनले भने, ’बिजुलीका करिब दुई हजार चार सयवटा पोल हटाउनुपर्ने देखिएको छ ।’ काम हुने स्थानमा प्राधिकरणले पोल हटाउदै जाने उनले बताए।
दाउन्ने–नारायणगढ ६५ किमि र दाउन्ने–बुटवल ५० किमी गरी आयोजनालाई दुई खण्डमा विभाजन गरेर निर्माण कार्य चलिरहेको छ । दुवै खण्ड निर्माणको जिम्मा चाइना स्टेट इन्जिनियरिङ कर्पोरेसनले पाएको छ । आगामी साढे तीन वर्षमा सडक विस्तार गरिसक्ने लक्ष्य अनुरुप आयोजनाका अधिकारीहरू निर्धारित समयावधिमै काम पूरा हुनेमा विश्वस्त देखिन्छन् । सुरु भएका काम गुणस्तरीय रहेको इञ्जिनियर अधिकारीले बताए।
‘फर्मरमेन्स बेस’ का आधारमा ठेक्का दिइएकोले विस्तार सकेको पाँच वर्षसम्म ठेकेदार कम्पनी आफैंले मर्मत सम्भार र रेखदेख गर्नुपर्ने प्रावधान छ । आयोजनाका अनुसार सडक चार लेनको हुनेछ । दुई र दुई लेनको बीचमा मेडियन रहने छ, जसमा फूल र विरुवा रोपेर ग्रीन बेल्ट बनाइने छ ।
फोटो – इञ्जिनियर शिव खनालको फेसबुकबाट