जोडिनुहोस
  • होमपेज
  • शनिबारदेखि जलपन्छीको गणना गरिँदै

शनिबारदेखि जलपन्छीको गणना गरिँदै

काठमाडौं, पुस १७–

यतिबेला नेपालका सिमसार क्षेत्रमा चराको चहलपहल बढदो छ । हिउँदको चिसो बढेसँगै न्यानो वासस्थान, आहार र प्रजननका लागि चरा उत्तरी गोलाद्र्धबाट दक्षिणी गोलाद्र्धमा बसाइँसराइ गर्छन् । एकथरी चराले अन्तरदेशीय सीमाको लामो दूरी पार गरी नेपालमा बसाइँसराइ गर्छन् भने केहीले नेपालकै उच्च पहाडी भूभागबाट तराईमा छोटो दूरीको बसाइँसराइ गर्ने गरेका छन् ।

यही समयमा सिमसार क्षेत्रमा आश्रित रैथाने तथा आगन्तुक चराको विवरण र अवस्था पत्ता लगाउन एवं सङ्ख्याको अध्यावधि गर्न शनिबारदेखि जलपन्छीको गणना गरिँदैछ । यही पुस १९ देखि माघ ५ गते (जनवरी ४ देखि १९) सम्म हुने जलपन्छी गणनामा विज्ञ, सम्बन्धित सङ्घसंस्थाका प्रतिनिधि, स्थानीय, र सरकारी प्रतिनिधिलगायत गरी ३०० भन्दा बढी जनशक्ति परिचालन हुने बताइएको छ । सिमसार र आसपासको क्षेत्रमा प्रजनन गर्ने, चरन गर्ने र आफ्नो अधिकांश समय व्यतीत गर्ने चराका प्रजातिलाई पानी चरा अथवा जलपन्छी भनिन्छ ।

स्वयंसेवीरूपमा गरिने यस गणनामा स्थानीय समुदाय र सरोकारवाला निकायलाई सहभागी बनाई संरक्षणमा जनचेतना अभिवृद्धिसमेत गर्ने उद्देश्य रहेको गणनाका राष्ट्रिय संयोजक डा हेमसागर बरालले जानकारी दिए । ‘वेटलेण्ड इन्टरनेशनल’ संस्थाको समन्वयमा नेपालको ‘हिमाली प्रकृति’ संस्थासँगको सहकार्यमा स्वयंसेवीरूपमा यो गणना हुन लागेको हो । मुलुकभरका पाँच दर्जन बढी सिमसार क्षेत्र, तालतलैया र नदीमा गरिने जलपन्छी गणना तराई क्षेत्रका सिमसार क्षेत्रमा बढी केन्द्रित हुनेछ ।

वेटलेण्ड इन्टरनेशनलको अगुवाइमा विश्वभर नै यही समयमा जलपन्छी गणना हुने भएकाले विश्वभरकै जलपन्छीको सङ्ख्या आँकलन हुने उनले बताए। यस गणनामा चरा चिन्ने विज्ञको नेतृत्वमा अन्य सहभागीको सहयोगले चरा पहिचान गरी गणना गरिन्छ । नेपालका सिमसार क्षेत्रमा यतिबेला विभिन्न प्रजातिका हाँस, बकुल्ला, लामा आउले, सुडसुडियलगायतका चरा बढी देखिन्छन् । गणनाको विवरण वन तथा वातावरण मन्त्रालयअन्तर्गतको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागलाई बुझाइने र सार्वजनिक गरिने डा बरालले बताए ।

सन् १९८७ देखि नेपालमा पनि हुँदै आएको यो गणनामा जलपन्छीका प्रजाति, तिनको सङ्ख्या, सङ्कट र वासस्थानमा देखिएका समस्याजस्ता जानकारी अभिलेख गरिने छ । विभागले जलपन्छी गणनामा सहयोग पुर्‍याउन मुलुकभरका संरक्षित क्षेत्रका प्रमुखलाई परिपत्र गरिसकेको विभागका सूचना अधिकारी विष्णुप्रसाद श्रेष्ठले जानकारी दिए । गणनामा संलग्न संस्था नेपाल पन्छी संरक्षण सङ्घका अनुसार नेपालमा ८८६ भन्दा बढी प्रजातिका चरा पाइन्छन् । त्यसमध्ये १५० भन्दा बढी हिउँदमा र ६० भन्दा बढी चरा गर्मीयाममा नेपाल आउने पाहुना चरा हुन् ।

खासगरी उत्तरी धु्रवमा हिमपातको शुरुआतसँगै अनुकूल मौसम, सुरक्षित वासस्थान र चरनको खोजीमा बर्सेनि करिब १५० प्रजातिका चरा उत्तरी मुलुक रुस, किर्गिजस्तान, तुर्किस्तान, उज्वेकिस्तान, अजरवैजान, चीन, मङ्गोलियाका साथै युरोप, कोरिया तथा तिब्बती क्षेत्रबाट नेपालमा आउने गर्दछन् । यसरी जाडो छल्न आउने हिउँदे आगन्तुक पानी चरा सिमसार क्षेत्रमा नै आफ्नो समय व्यतीत गर्दछन् । पाहुना चराको दिगो संरक्षण, तिनको आहार, वासस्थान र उडान मार्गको सुरक्षा साथै आश्रयस्थलका लागि मुलुकका सिमसारको दिगो संरक्षण तथा व्यवस्थापन गर्नु आवश्यक रहेको सङ्घका संरक्षण अधिकृत कृष्णप्रसाद भुसालले बताए ।

चराको बसाइँसराइ मौसमअनुसार फरकफरक हुन्छ । हिउँदेयामको बसाइँसराइ सबैभन्दा लामो दूरीको हुन्छ । ग्रीष्मयामको बसाइँसराइ तुलनात्मकरूपमा कम दूरीको हुन्छ । हिउँदेयाममा तराईका तालतलैयामा बाहिरबाट आएका हाँस प्रजातिका चरा बढी देखिन्छन् । चराकोे हिउँदेयामको बराइँसराइ असोजको शुरुदेखि माघसम्म हुने गर्छ । हिउँदे आगन्तुक चराले अधिकांश समय कोशीटप्पु, बिसहजारी ताल, जगदीशपुर, घोडाघोडी ताल, शुक्लाफाँटाका ताल क्षेत्र तथा कोशी, गण्डकी, नारायणी नदी र त्यसका सहायक नदीमा व्यतीत गर्छन् ।

संरक्षण अधिकृत भुसालका अनुसार जलपन्छी पछिल्ला वर्षमा खासगरी सिमसार क्षेत्रको सङ्कुचन तथा विनाश, उडान मार्गमा हुने अवरोध, कृषिमा रासायनिक मलको बढ्दो प्रयोग, जलस्रोतमा विषादीको प्रयोग, अवैध चरा शिकार तथा व्यापार, बदलिँदो तापमान र मौसम परिवर्तनजस्ता कारणले विस्थापित हुँदै गएका छन् । बसाइँसराइ गरी आउने चरा लामो दूरीको यात्राले थकित हुने तथा आश्रयस्थल नयाँ स्थान हुने हुँदा प्राकृतिक तथा मानवीय शिकारको अत्यधिक जोखिम हुन्छ । तसर्थ जलपन्छी संरक्षण र सिमसार क्षेत्रको दिगो व्यवस्थापनका लागि आवश्यक प्रभावकारी कदम चाल्नुपर्ने जरुरी रहेको पन्छी संरक्षणकर्मीको भनाइ छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका