जोडिनुहोस
बिहिबार, कार्तिक ११, २०७८
बिहिबार, कार्तिक ११, २०७८
alt
  • होमपेज
  • विश्व मधुमेह दिवसः नर्सिङ विद्यार्थीबीचको वक्तृत्वकलामा पूजा पहिलो

विश्व मधुमेह दिवसः नर्सिङ विद्यार्थीबीचको वक्तृत्वकलामा पूजा पहिलो

चितवन, कार्तिक २८–

विश्व मधुमेह दिवसको अवसरमा आज (बिहीबार) भरतपुरमा अन्तर नर्सिङ कलेजस्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ ।

मधुमेह समाज चितवन, श्री पुष्पाञ्जली हस्पिटल मधुमेह स्वंमसेवक समाज, चितवन, लायन्स क्लव इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ बी टु नेपाल, एरिया ३, डाइविटिज एण्ड एन्डोक्रिनोलजी एशोसियसन नेपाल (डीन)को संयुक्त आयोजनामा वक्तृत्वकला प्रतियोगिता गरिएको हो ।

प्रतियोगितामा बालकुमारी कलेज नर्सिङ कार्यक्रमकी पूजा पन्त प्रथम भएकी छिन् । यस्तै आइओएमटी कलेजकी चाँदनी बिक द्धितीय र सिएमसी स्कुल अफ नर्सिङकी सृजना भट्टराई तृतीय भइन् । उनीहरुले क्रमशः १५ हजार, १० हजार र पाँच हजार रुपैयाँ पुरस्कार पाए ।

यस्तै स्मार्ट स्पिकरको रुपमा ओएसीस मेडिकल कलेजकी ममता कट्टेलले पुरस्कार प्राप्त गरेको कार्यक्रम संचालक प्रविन खनालले जानकारी दिए । उनका अनुसार कट्टेलले पनि पाँच हजार रुपैयाँ पुरस्कार पाइन् ।
कार्यक्रममा शिक्षाविद् रमाकान्त सापकोटा, वरिष्ट मुटुरोग विशेषज्ञ डा.शंकर लौडारी र प्राकृतिक चिकित्सालयका चिकित्सक डा.हेमराज कोइराला निर्णायकको रुपमा रहेका थिए ।

कार्यक्रमको समुद्घाटन सत्रमा बोल्दै श्री पुष्पाञ्जली हस्पिटलका निर्देशक, कार्यक्रमका संयोजक तथा सभापति डा.भोजराज अधिकारीले वर्षेनी विश्वमै मधुमेही बिरामीको संख्या बढ्दै गइरहेको भन्दै खुलेरै यसको उपचारमा लाग्नु पर्ने बताए । उनले परिवारभित्रै मधुमेहको बारेमा लुकाउने गरिएको भन्दै खुलेर मधुमेह बारे जानकारी गराउनुपर्ने बताए । डा.अधिकारीले नर्सिङ विद्यार्थीहरु मेडिकल क्षेत्रसंगै परिवारसंग पनि जोडिएकाले घरघरमै चेतना फैलाउने उद्देश्यले नर्सिङ विद्यार्थीहरुबीच मधुमेह सम्बन्धि प्रतियोगितात्मक कार्यक्रम गरिएको जानकारी दिए ।

भरतपुर महानगरपालिकाका प्रमुख कार्यकारी अधिकृत नेत्रप्रसाद सुवेदीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा रमाकान्त सापकोटा, केशव देवकोटा, प्रेम रिमाललगायतले मन्तव्य व्यक्त गरेका थिए । यसअघि नारायणगढको लायन्सचोकदेखि चौविसकोठी हुँदै गेष्टहाउस चौरसम्म वाकाथन कार्यक्रम गरिएको थियो ।

अँग्रेजी वर्षको नोभेम्बर १४ तारिखमा विश्व मधुमेह दिवस मनाउने गरिएको छ । सन् १९९१ देखि मनाउन थालिएको यो दिवसका अवसरमा मधुमेह रोग सम्बन्धी जनचेतना जगाउन विभिन्न कार्यक्रम गरिदै आइएको छ । मधुमेह उपचारका लागि प्रयोग गरिने इन्सुलिन बनाउन महत्वपूर्ण भूमिका खेलेका वैज्ञानिक फ्रेड्रिक व्यान्टिङको जन्मदिनको सम्झनामा हरेक वर्ष १४ नोभेम्बरमा दिवस मनाउने गरिन्छ ।

दैनिक खानपानमा ध्यान दिने, नियमित ब्यायाम गर्ने, तनावमुक्त जीवनशैली अपनाउने गर्दा मधुमेहबाट बच्न सकिने चिकित्सकहरुको सुझाव छ । खानाामा कार्वोहाइडेटको मात्रा बढी, चिल्लो र गुलियो पदार्थ बढी हुने हुँदा मधुमेहको संभावना बढी हुने चिकित्सकहरुको भनाइ छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका