चितवन विशेष

पत्रकारितासंगै पानको व्यापारमा जम्दै त्रिपाठी ,मासिक ६० हजार सम्म कमाई

Banner

चितवन कात्तिक १९-

दुई दशकभन्दा बढी पत्रकारितामा सक्रिय रोहिणी त्रिपाठी यतिबेला मुग्लिन बजारमा पत्रकारितासँगै पानको व्यापारमा गरिररहेका छन । त्रिपाठी स्टेशनरी व्यापारसँगै पत्रकारिता क्षेत्रमा लागेका हुन ।

विसं २०५४ मा ईच्छाकामना गाउँपालिकाको मुग्लिन बजारमा स्टेशनरी शुरु गरेसँगै उनले पत्रकारिता पनि सँगै अगाडि बढाए । तत्कालीन समयमा पारदर्शी साप्ताहिकबाट पत्रकारिता शुरु गरेका त्रिपाठीले झण्डै २२ वर्षसम्म सूचनाको स्रोत बनेर मुग्लिनमा रहँदै आएका छन ।

पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडक खण्डमा हुने ठूला सवारी दुर्घटनामा राष्ट्रिय र स्थानीयस्तरका सञ्चारमाध्यमका साझा संवाददाताका रुपमा उनले सघाउँदै आएका छन । पछिल्लो समय उनकै प्रेरणाले मुग्लिन बजारमा पत्रकार हुने क्रम भने बढ्दै गएको छ । अहिले सो क्षेत्रमा एक दर्जन पत्रकार क्रियाशील छन् । उनीहरुलाई सङ्गठित गरेर आफ्नै नेतृत्वमा उनले ईच्छाकामना पत्रकार समूहसमेत बनाएका छन ।

भरतपुरको अदब मिडिया हाउसमा भेटिएका त्रिपाठीले भने, “पत्रकारिता र स्टेशनरी व्यापार भन्दा पानको व्यापारबाट सन्तुष्ट छु ।” उनले आफ्नै स्टेशनरी पसल अगाडि घुम्तीमा गत भदौबाट पान पसल शुरु गरेका हुन । पान बनाउने काम उनी र श्रीमती शान्ताले आलोपालो गर्दै आएका छन । सोही ठाउँमा यसअघि पानको व्यापार गर्दै आएका शिवशङ्कर जैसवालसँग सीप सिकेर उनले व्यापार थालेका हुन ।
पान पसलमा सुर्तीजन्य पदार्थसँगै पानी, फास्टफुडसँगै चिसो पेय पदार्थ, जुस, चक्लेटलगायतका सामग्री बिक्री गर्दै आएका छन । त्रिपाठीले भने,“दैनिक पाँचदेखि आठ हजारसम्म व्यापार हुन्छ, । महिनामा न्यूनतम ६० हजार बचाउँछु ।”

स्टेशनरी पसलबाट भने उनी सन्तुष्ट छैनन । दैनिक दुई हजार हाराहारी व्यापार हुने स्टेशनरी व्यापारमा नाफा पनि कम हुने गरेको उनले बताए । सामान्यदेखि ठूला घरानीयासम्मलाई त्रिपाठी आफ्नै हातले बनाएर मिठा र जर्दा पान खुवाउने गरेको बताउछन ।

सवारी यात्रा गर्नेहरुका लागि खानामा प्रख्यात मुग्लिन बजारमा पारखीहरु खानापछि पान पसल खोज्दै हिँड्ने गर्दछन् । बिहान ६ बजेदेखि राति १२ बजेसम्म पनि पानको व्यापार हुनेगर्दछ । ५० वर्षीय त्रिपाठीलाई जिल्ला र राजधानीका धेरै पत्रकारले चिन्दछन् । नेपाल पत्रकार महासङ्घमा उनी धेरै पटक केन्द्रीय पार्षद् बनेका छन । हाल पनि उनी चितवनबाट प्रदेश पार्षद् छन । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published.

छुटाउनु भयो कि?

>