जोडिनुहोस
  • होमपेज
  • नारायणी नदी किनारमा २८ वर्षदेखि छठको रौनक, संस्कारको प्रतिक बन्यो छठ

नारायणी नदी किनारमा २८ वर्षदेखि छठको रौनक, संस्कारको प्रतिक बन्यो छठ

गंगाप्रसाद शाह

नेपाल बहुभाषिक, बहुसांस्कृतिक विषमताका साथ एकता प्रदर्शन गर्न सक्षम अति रमणीय प्राकृतिक सम्पदाले भरिपूर्ण वीरताको गाथा रचेका अविभाज्य मुलुक हो । यहाँको हावापानी अनुसार विभिन्न भागमा बसोबास गरेका नागरिकहरु आ–आफ्नै रहनसहन, चाडपर्व, भेषभूषा अलग भएता पनि एक अर्काको धर्म संस्कृतिको संरक्षण सम्वद्र्धनमा जुट्ने गर्छन् । उनीहरुबीचको धार्मिक सहिष्णुताले एउटै मालाका फरक फूल झैं नेपालीपनको एकता प्रदर्शन गर्दै शान्तसुन्दर मुलुकको ऐतिहासिक पृष्ठभूमि बनाएको छ । यसै सन्दर्भमा नेपालको दक्षिण समथर भूमिमा बसोबास गर्दै आएका तराईवासीहरु आस्था र विश्वासले मनाउँदै आएको एक प्रमुख पर्व छठ हो ।

यो पर्व तराईवासीको धरोहरको रुपमा परिचित छ । पूर्वी तथा मध्य नेपालको मिथिला भोजपुरा क्षेत्रमा अत्यन्तै श्रद्धाभक्ति आस्था विश्वासको साथ मनाइने चाड छठ हो । हिन्दू संस्कृतिमा मनाइने चाडपर्व मध्ये छठ एउटा महत्वपूर्ण चाडको रुपमा मनाइन्छ । यो पर्व परापूर्व कालदेखि मनाईँदै आएको पाइन्छ । यस पर्वमा खास गरेर सूर्य देवताको उपासना गरिन्छ । यस पर्वको उत्पत्तिसम्बन्धी विभिन्न प्रचलित र पौराणिक कथाहरु छन् । पौराणिक मान्यता अनुसार छठ सूर्य भगवानको बहिनीको नाम हो । यसैले छठ वा छठी मातालाई प्रसन्न गर्न सूर्यदेवको उपासना र पूजा गर्ने चलन छ ।

छठ व्र्रत कथानुसार छठदेवी ईश्वरको पुत्री देवसेना छन् । देवसेनाले आफ्नो परिचय प्रकृतिको छैठौं अंश (१÷२) को रुपमा चिन्छिन् । उनलाई प्रकृतिको छैठो अंशको रुप्मा व्याख्या गरिएको छ । त्यसैले उसलाई छठी माता वा षष्ठी माता पनि भनिन्छ । देवी छठी माता वा देवसेना भन्छिन् यदि कसैलाई सन्तान प्राप्त गर्नु छ भने षष्ठीको दिनमा विधिपूर्वक उनको पूजा गर्नु पर्छ । अर्को कथाअनुसार रामायणकालमा जव श्रीराम लंका विजयपछि फर्केका थिए । त्यसबेला उनले माता सीतासँग षष्ठीको दिनमा छठमाताको पूजाअर्चना गरेका थिए । महाभारत कालमा कुन्तीले सूर्य देवताको उपासना गरेकी थिइन् र उनले अविवाहित अवस्थामा कर्णको जन्म दिइन् । कर्णलाई उनले नदीमा प्रवाहित गरेकी थिइन् । भनिन्छ सूर्य देवताको कृपा कर्ण माथि सदैव रह्यो र उनी अत्यन्त बुद्धिमान र बलशाली, सुरवीर थिए । यस कारणले कर्ण जस्तै वरदान प्राप्त गर्न पनि मानिसले सूर्य देवताको उपासना गरी पूजा गर्छन् । वनवासको क्रममा द्रोपदीले आफ्नो दुःख हरण गर्न र पुनः राज्य प्राप्त गर्न सूर्यदेवतालाई प्रसन्न गर्न छठी मैयाको पूजा गरेकी थिइन् ।

यसरी छठ व्रतको उत्पत्तिसम्बन्धी अनेक कथाहरु पाइन्छ । यस व्रतलाई छठ व्रत, डाला पूजा, छठी पूजालगायत नामबाट जानिन्छ । यो पर्व वर्षमा दुई चोटी मनाउने गरिन्छ । जसमा चैत शुल्क षष्ठी र कात्तिक शुल्क षष्ठी यसमध्ये कात्तिक शुल्क षष्ठी पूजालाई विशेष महत्वकासाथ मनाउने चलन छ । यो पर्व मुख्यरुपमा षष्ठीको दिन मनाउने चलन भए पनि यसको प्रक्रिया चतुर्थीदेखि सुरु हुन्छ । यस पूजालाई ठाउँ अनुसार छठ पूजा, डाला छठ, सूर्य षष्ठी पूजा, छठी माई पूजालगायत नामले जानिन्छ । यो पूजा सूर्यदेवको उपासना गरेर उनको कृपा प्राप्त गर्न मनाउने चलन छ । त्यसै पनि सूर्यदेव समस्त पृथ्वीको निर्माणकर्ता र रक्षक छन् । सूर्यको बिना पृथ्वी वा अन्य ग्रहको कल्पना पनि गर्न सकिन्न ।

छठ पर्व चार दिनसम्म मनाइन्छ । पहिलो चतुर्थीको दिनलाई ‘नहायखवाय’ भन्ने चलन छ । यस दिन व्रतालुहरु स्नान गरी नयाँ बस्त्र धारण गरेर चोखो शाकाहारी भोजन गरेर बस्छन् । व्रतालुले भोजन गरेपछि मात्र घरका अरु परिवारले भोजन गर्ने चलन छ । सबै जनाले शाकाहारी भोजन गर्ने चलन छ । छठ पूजाको दोस्रो दिनलाई खरना भनिन्छ । कात्तिक शुल्क पञ्चमीका दिन व्रतालु दिनभरि निराहार अर्थात् भोकै बस्छन् । बेलुका पख विशेष चामल र भेलीबाट पकाएको खीर नैवेद्यको रुपमा र गहँुको पीठोबाट बनाएको रोटी खान्छन् । फलफूल खाने चलन पनि छ । नुन र चिनीको प्रयोग गरिँदैन । पीठो र घ्युबाट बनेको रोटी पनि प्रसादको रुपमा लिइन्छ । परिवारका अन्य सदस्यले पनि व्रतालुले भोजन गरिसके पछि मात्र भोजन गर्छन् ।

तेस्रो दिन पूजाको लागि गहुँ वा मैदाबाट ठेकुवाको टिकिया बनाउने चलन छ । चामलको पीठो र सुजीको प्रयोगबाट पेडुकिया बनाउने चलन पनि छ । पूजाको लागि नरिबल, स्याउ, केरा, उखु, अदुवा, निंबुलगायतका फलफूल सजाएर टोकरी या डालामा राखेर नदी वा पोखरीको किनारमा गई धुमधामसित अस्ताउँदो सूर्यको अर्घ अर्पण गरि पूजा गरिन्छ । पूजा समापन चौथौ दिन यानी सप्तमी तिथिमा उदाउँदो सूर्यको अर्घ दिई पूजा गरेपछि यो व्रत सकिन्छ त्यसपछि प्रसादलगायत वितरण गरिन्छ ।

यो पर्व लोकतान्त्रिक प्रक्रियाको एउटा अनौठो प्रतिक हो । यसमा उच र नीच, जातभातको सीमा रहँदैन, धनी गरिब सबैले मनाउने गर्छन् । यसमा सर्वसुलभ सामग्रीको प्रयोग गर्दै कठोर प्रक्रिया र अनुशासनको प्रर्यायवाचीको रुपमा देखिन्छ । बलेको आगो ताप्ने उखानको विपरित सुसंस्कार, कृतज्ञताको उपहारकै रुपमा अस्ताउँदो सूर्यलाई श्रद्धाभक्तिको साथ भावपूर्ण भावना अर्पण गर्नु तराईको अनुकरणीय संस्कृतिको नमूना हो । यस पर्वले मानिस समाथ्र्यवान हुँदा मात्रै अघिपछि गर्ने आदर गर्ने मात्र नभई ओरालो लाग्दा पनि कृतज्ञसाथ सम्मान गर्नुपर्ने असल संस्कारको सन्देश सम्पूर्ण मानव समुदायलाई प्रसारित हुने चेतनाको विकास हुने गर्छ ।

चितवनलाई मानिसहरुको बसोबासको दृष्टिकोणले हिजो ७५ जिल्ला रहँदा नेपालको ७६ औं जिल्ला भन्ने गरिन्थ्यो । चितवनको सन्दर्भमा भन्ने हो भने सम्भवतः करिब २०२० सालबाट यो पर्व मनाएता पनि २०४८ सालबाट अविछिन्न रुपबाट नारायणी नदी किनारमा छठ पूजा भव्यताको साथ मनाउने गरिएको छ । मधेसी, पहाडी, मारवाडी एवम् सम्पूर्ण तराईवासीहरुको सक्रियता र सहयोगबाट टाँडी, पर्सा, माडी, पदमपुर, जिल्लाको केही स्थानमा, तराई सामुदायिक सेवा समितिको नेतृत्वमा प्रत्येक वर्ष यो पर्व मनाउने गर्छन् । यस पर्वमा श्रद्धालुको संख्यामा उल्लेखनीय वृद्धि हुनुका साथ आस्था र विश्वास बढेको पाइन्छ । अझ नारायणगढ बजारको नारायणी तटमा प्रदर्शनी स्थल विकास हुँदै गरेको पर्यटकीय स्थल (नदी किनार) मा हात्ती, गौतम बुद्ध, शिवजीलगायतको प्रतिमाले आकर्षण ल्याए झैं सूर्यदेवको प्रतिमा स्थापना गर्न सकेको खण्डमा छठ पुजन कार्य तथा यस क्षेत्र आकर्षणमा टेवा पुग्ने थियो भन्ने कुरा जानकारहरुको बुझाइ छ । यस कार्यमा सम्बन्धित निकायहरुको ध्यान आकर्षित गर्दै सम्पूर्ण नेपाली दाजुभाई, दिदीबहिनी, आमाबुबा र धर्मानुरागीलगायत मानव समुदायमा छठ पर्वको उपलक्ष्यमा उत्तरोत्तर प्रगति, सुस्वास्थ्य, सदविचार, आपसी सद्भावको लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं ।

(लेखक शाहा, तराई सामुदायिक सेवा समिति, नारायणगढका सदस्य हुन् । )

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका