नवलपुर

विकूको १३औं सेवा केन्द्र दलदलेमा स्थापना

Banner

गैंडाकोट, असोज २५–

विकू बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १३औं सेवा केन्द्र देवचुली–१३ दलदलेमा संचालनमा आएको छ ।
दलदले सेवा केन्द्रको शनिबार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, सहकारी विभागका रजिष्ट्रार डा. टोकराज पाण्डेले रिवन काटेर समुद्घाटन गरेका थिए ।

उनले सो क्रममा बोल्दै सहकारीमा अब शेयर सदस्य दुखी हुने अवस्था अन्त्य गर्नुपर्ने बताए । संचालक र व्यवस्थापन पक्ष नभएर सहकारीमा शेयर सदस्य खुशी बनाउने अभियान सहकारीले थालनी गर्नुपर्नेमा उनको जोड थियो । सहकारीको संख्या बढ्ने, व्यवस्थापन कमजोर हुने र बचतकर्ताको बचत खाएर भाग्ने अवस्था अन्त्यका लागि सहकारी एकीकरणको विकल्प नभएको पाण्डेको भनाई छ । नवलपरासी र गण्डकी प्रदेशमै सहकारीको एकीकरणमा विकूलाई नेतृत्व लिन पनि उनले आग्रह गरे ।

विकू सहकारीले हाम्रो लक्ष्य खुसी एवंम् स्वस्थ सदस्य नारा लिएर काम गरिरहेको छ । जन्मदेखी मृत्युसम्म मात्र नभई आमाको कोखदेखी चितासम्म विकू भन्ने अभियान रहेको संस्थाका अध्यक्ष केशवप्रसाद सापकोटाले बताए । विकू सहकारीले गरिबी निवारणमा पनि महत्वपूर्ण भुमिका निर्वाह गरेको अध्यक्ष सापकोटाले बताए ।
समुद्घाटन समारोहमा बोल्दै गैंडाकोट नगरपालिकाकी उपप्रमुख विष्णुकुमारी कँडेलले ५० पैसा बचत संकलनबाट शुरु भएको विकूले ४ अर्ब २५ करोड पुँजी संकलन गरेको छ ।

नेफ्स्कुनका संचालक भरतप्रसाद दवाडीले आर्थिक खाडललाई सम्म बनाउने यन्त्र नै सहकारी भएको बताए । उनले धनी र गरिबी बीचको खाडल पुर्न सहकारीले भुमिका निर्वाह गरिरहेको बताए । कार्यक्रममा देवचुली नगरपालीका वडा नम्बर १० का वडाध्यक्ष केशर आले, जिल्ला बचत तथा ऋण सहकारी नवलपरासीका अध्यक्ष माधवप्रसाद गौतम, विकू सोकोसका पूर्वअध्यक्ष ईन्द्रराज ज्योती पौडेल, समाजसेवी तिलकप्रसाद सापकोटा, सहकारीकर्मी मिलन श्रेष्ठ, विकु कावासोती सेवा केन्द्र संयोजक दिलमाया श्रेष्ठ, समाजसेवी खिमानन्द भुषाल, दलदले वजार व्यवस्थापन समिति अध्यक्ष तेजप्रसाद न्यौपानेलगायतले मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा संस्थाका उपाध्यक्ष त्रैलक्यनाथ खरेलले स्वागत मन्तव्य व्यक्त गर्दे २०४८ सालमा स्थापना भएको यस सहकारीले नवलपरासीका विभिन्न स्थानमा १२ वटा सेवा केन्द्र स्थापना गरेर ६२ हजार सदस्यलाई सेवा प्रदान गर्दे आइरहेको जानकारी दिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published.

>