चितवन विशेष

प्रचण्डले फेरी दोहोराएः ‘माडीलाई पाँच वर्षभित्रमा मणि बनाउने छु’

Banner

चितवन, असोज २४–

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवंम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पाँच वर्षभित्र माडीलाई मणि बनाइने प्रतिवद्धता दोहोराएका छन् ।

चितवनको माडीमा आज (शुक्रबार) आयोजित कम्युनिष्ट नेता दिवाकर भुषालको १६औं स्मृति दिवस तथा स्मृति ग्रन्थ विमोचन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले पुनः माडीलाई मणि बनाउने प्रतिवद्धता जनाएका हुन् ।

‘माडीलाई मणि बनाउने कुरा बिर्सेको छैन’ उहाँले भन्नुभयो, ‘२०२९ सालको वन ऐन संशोधन हुँदैछ, त्यसले माडीवासीलाई फाइदा पुर्‍याउने छ । माडीमा अर्गानिक खेतीको आयोजना ल्याउने पहल भइरहेको छ । आकासे पुल, भूमिगत बाटो वा राम्रो पिच बाटो माडीमा जसरी पनि बनाउँछौं । माडीको निम्ति संघर्ष मेरो सफलतासँग पनि जोडिएको छ । तपाइँहरुको सहयोग मलाई चाहिन्छ ।’ प्रचण्डले यसअघि प्रतिनिधि सभाको निर्वाचनमा चितवन क्षेत्र नं. ३ बाट निर्वाचन लड्दा माडीमा सो प्रतिवद्धता जनाएका थिए ।

मानिसहरु जन्मेपछि मर्ने कुरा प्रकृतिको शाश्वत नियम भएको तर सबैको मृत्यु एकैनासको नहुने अध्यक्ष प्रचण्डको भनाइ थियो । ‘कसैकसैको मृत्युले लाखौंलाई उद्वेलित र उत्प्रेरित गर्छ’ उहाँले भन्नुभयो, ‘कमरेड दिवाकर भुषालको मृत्युले पनि अमरत्व प्राप्त गरेको छ । उहाँले सामाजिक न्याय, स्वतन्त्रता, समानता र निष्ठाको लागि काम गर्नुभयो ।’
अध्यक्ष प्रचण्डले दिवाकर भुषालको पूर्ण कदको शालिक अनावरण समेत गर्नु भएको थियो । त्यसअघि उहाँले माडीको अयोध्यापुरीमा रहेको अस्पतालमा नवनिर्मित शल्यक्रिया कक्षको उद्घाटन गर्नु भएको थियो । त्यस अवसरमा अध्यक्ष प्रचण्डले अस्पताललाई ५० शैयाको बनाउन पहल गर्ने प्रतिवद्धता जनाउनु भयो ।

यस्तै फरक प्रशंगमा अध्यक्ष प्रचण्डले चीनका राष्ट्रपति सी जिनपिङको आसन्न नेपाल भ्रमण सरकारको उपलब्धि रहेको बताउनुभयो । चिनियाँ राष्ट्रपति सि जिनपिङको यो भ्रमणले नेपालका लागि दूरगामी महत्व राख्छ’ उहाँले भन्नुभयो, ‘बाटो, उद्योग, औद्योगिक पार्क बनाउने सन्दर्भमा चीनसँग सम्झौता हुँदैछ । यो भ्रमण ऐतिहासिक हुने कुरामा हामी विश्वस्त छौं । २३ वर्षपछि चिनियाँ राष्ट्रपबिाट नेपाल भ्रमण हुँदैछ । २३ वर्षमा राजनीतिमा धेरै ठूलो परिवर्तन भएको छ । निरंकुश राजतन्त्रलाई बिदा गरिएको छ । मुलुक समाजवाद उन्मुख अवस्थामा छ ।’
चीनमा पनि कमरेड सि जिनपिङको नेतृत्वमा त्यहाँको सरकारले जनताको पक्षमा अभूतपूर्व विकास गरेर संसारकै दोस्रो ठूलो आर्थिक शक्तिको रुपमा आफूलाई उभ्याएको अध्यक्ष प्रचण्डको भनाइ थियो । चीन विश्वकै पहिलो शक्तिराष्ट्र बन्ने दिशामा अगाडि बढेको अध्यक्ष प्रचण्डले दाबी गर्नुभयो ।

यस्तै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले दिवाकर भुषाल आफ्नो राजनीतिक आदर्श भएको बताउनु भयो । उहाँले भुषालको आदर्शलाई व्यवहारमा उतार्दै अगाडि बढेमात्र उहाँप्रति सच्चा श्रद्धाञ्जलि हुने धारणा व्यक्त गर्नुभयो । पार्टीको एकीकरण प्रकृया अन्तिम चरणमा पुगेको भन्दै उहाँले त्यसपछि विकास र समृद्धिले फड्को मार्ने बताउनु भयो ।

पार्टीका महासचिव विष्णु पौडेलले अबको युग विकास र समृद्धिको युग भएको बताउनु भयो । उहाँले अध्यक्ष प्रचण्डको नेतृत्वमा माडी मणि बनेरै छाड्ने दृढता व्यक्त गर्नुभयो । भुषालको आदर्शलाई पूरा गर्न सिंगो पार्टी लाग्नु पर्ने उहाँको भनाइ थियो ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) चितवनद्वारा आयोजित कार्यक्रम पार्टीका जिल्ला अध्यक्ष यमबहादुर परियारको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा जिल्ला इन्चार्ज कृष्ण खनाल, माडी नगरपालिका प्रमुख ठाकुर ढकाल लगायतले भुषालको योगदानबारे चर्चा गरेका थिए ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published.

>