जोडिनुहोस

Banner

चितवन, असोज १५–

नेपालीहरुको महान् चाड बडादशैं सुरु भएसंगै सडकमा सवारी चाप झनै बढेको छ । चाडबाडको बेलामा लापरवाही पूर्वक सवारी चलाउँदा धेरै दुर्घटना समेत हुने गरेका छन् । सोही अवस्थालाई मध्यनजर गर्दै दुर्घटना न्यूनीकरणका लागि जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले तिव्र गतिमा सवारी चलाउनेलाई कारवाही गर्न सुरु गरेको छ ।

पृथ्वी राजमार्ग, नारायणगढ–मुग्लिन सडक खण्डलगायत मुख्य राजमार्गमा चितवन ट्राफिक प्रहरीले राडार गन मार्फत सवारीको गति नाप्दै कारवाही गर्न थालेको हो । आज (बुधबार) पृथ्वी राजमार्गको चुम्लिङटार लगायत क्षेत्रमा राडर गनले चेकजाँच गर्दा तिव्र गतिमा चलाउने मोटरसाईकल, बसलगायतका सवारीलाई कारवाही गरिएको छ । चेकजाँचका क्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी निरीक्षक चन्द्रकुमार गिरी र प्रहरी नायव निरीक्षक अर्जुन भुषालले राडार गन मार्फत मोटरसाईकल, कार र बसको गति मापन गरेका थिए ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी निरीक्षक चन्द्रकुमार गिरीले दशैंको बेला धेरै दुर्घटना हुने भएकाले यसपटक सवारीको गति मापन, मापसे चेकजाँच, सवारी अनुमति पत्र चेकजाँचका कार्यलाई तिव्रता दिएको बताए । उनले भने–‘चेकजाँच अरुबेला पनि गर्छौ, यो बेला तिव्र गतिमा चलाउने सवारीलाई कारवाही गर्छौ ।’ विगतका वर्षहरुमा चितवनमा चाडबाडको बेला धेरै जसो सवारी दुर्घटना हुने गरेको छ ।

गतवर्ष चाडपर्वको बेला असोज र कार्तिक महिनामा ५६ वटा सवारी दुर्घटना हुँदा २४ जनाले ज्यान गुमाएका थिए । यसवर्ष दुर्घटनालाई कमी ल्याउन ट्राफिक प्रहरीले सक्रियता देखाएको हो । प्रदेश ३ मा काठमाडौं उपत्यका बाहेकका जिल्लामा सबै भन्दा बढी दुर्घटना हुने जिल्लामा चितवन पर्दछ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *