चितवन विशेष

दसैँमा माइक्रोले यात्रुबाट लिएको बढी भाडा चितवन ट्राफिकले फिर्ता गरायो

Banner

चितवन, असोज १५

दसैँको मौका पारी यात्रुसँग धेरै भाडा असुलेर ठगी गर्ने माइक्रो बसलाई चितवन ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ ।

काठमाडौँबाट १७ जना यात्रुलिएर कावासोतीको लागि हिडेको बा ३ ख ३८९१ नम्बरको माइक्रो बसले मनलाग्दीरुपमा यात्रुसँग भाडा असुलेपछि चितवन ट्राफिक प्रहरीले नियन्त्रण लिएको हो । पुलचोकबाट प्रहरीले नियन्त्रणमा लिएर तोकिए भन्दा बढी उठाएको चार हजार ७५० रुपैयाँ ट्राफिक प्रहरी हरेराम खतिवडाले सबै यात्रुलाई फिर्ता गरे । प्रत्येक यात्रुलाई २०० रुपैयाँ देखि ६०० रुपैयाँसम्म फिर्ता गराएको छ ।

साउदीबाट घर फर्किएका यात्रु राज परियारले दुई जनाको लगेजसहित एक हजार २०० रुपैयाँ भाडा लिनुपर्नेमा सो माइक्रोले एक हजार ८०० रुपैयाँ लिएको बताए । उनीसँगै यात्रा गरेकी अर्के यात्रु अन्जु मगरले पनि कावासोतीसम्मको भाडा ६०० रुपैयाँ भए पनि ८०० रुपैयाँ आफूसँग लिएको गुनासो गरिन् । उनीहरुले चितवन ट्राफिक प्रहरीको प्रशंसा पनि गरे ।

परियारले भने, ‘ देशमा व्यवसायीको मनपरी छ जस्तो लागेको थियो तर प्रहरीले हामीसँग बढी लिएको एक एक भाडा फिर्ता गरायो । कार्यक्षेत्रमा खटिएका प्रहरी जवान खतिवडाले आफूहरुले चितवनमा खटिएर कडाइका साथ चेकजाँच गरेकोले पनि कारबाही गर्न सफल भएको बताए । थप अनुसन्धानको लागि माइक्रो बस चितवन ट्राफिक प्रहरीको नियन्त्रणमा रहेको छ भने यात्रुहरु पैसा फिर्ता लिएर आफ्नो गन्तव्यमा गएका छन् ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी निरीक्षक चन्द्रकुमार गिरीले दसैँको मौकामा यातायात व्यवसायीहरुले मनपरी भाडा उठाउने गरेको गुनासो आएपछि चेकजाँचमा तिव्रता दिइएको बताए । उनले भने–‘गन्तव्यमा पुग्नै पर्ने यात्रुलाई बाध्य पारेर बढी भाडा लिने गरिएको छ, यसप्रति हामी सचेत छौं, त्यस्ता सवारीलाई कडा कारवाही गर्छौ ।’
चितवन ट्राफिक प्रहरीले चाडबाडको बेलामा विशेष रुपमा चेकजाँचलाई कडाइ गरिरहेको छ । जिल्लाका सबैजसो ट्राफिक प्रहरीलाई फिल्डमा उतारिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published.

>