मनोरञ्जन

चलचित्र ‘लक्ष्मी रानी’को ट्रेलर सार्वजनिक, कात्तिक १ मा प्रदर्शन हुने

Banner

काठमाडौं, असोज १५-

नारी प्रधान चलचित्र ‘लक्ष्मी रानी’को ट्रेलर सार्वजनिक भएको छ ।

चलचित्र लक्ष्मी रानीमा नायिका शुभेच्छा थापालाई कवाडीवालीको भूमिकामा देख्न सकिने भएको छ । कात्तिक १ गते तिहारमा प्रर्दशन हुन लागेको ‘लक्ष्मी रानी’ चलचित्रले सबैको मन जित्ने कलाकारहरुको अपेक्षा रहेको छ ।

नारी विषयलाई केन्द्र बिन्दुमा राखेर निर्माण गरिएको सामाजिक कथामा आधारित चलचित्र ‘लक्ष्मी रानी’ले नेपाली चलचित्र उधोगमा नयाँ आयाम थप्नेमा निर्माण पक्ष ढुक्क भएको छ । शुभेच्छा सिने फ्रेमको प्रस्तुति ‘लक्ष्मी रानी’ चलचित्र देशका दुर्गमदेखि सुगम क्षेत्रमा छायांकन गरिएको चलचित्र हो । चर्चित पत्रकार विनोद त्रिपाठी यो चलचित्रका परिकल्पनाकार हुन् । यो चलचित्र विशुद्ध नेपाली नारीको अवस्था र सामाजिक परिवेशमा आधारित छ ।

‘लक्ष्मी रानी’ चलचित्र नायिका शुभेच्छा थापाको पहिलो निर्देशनमा बनेको चलचित्र हो । उनले यसअघि दर्जन बढी चलचित्रमा मुख्य नायिका, निर्माता तथा सहायक निर्देशनको भूमिका निर्वाह गरिसकेकी छिन् । यो चलचित्रमा एउटा नारीले कसरी गाउँले जीवनयापनदेखि शहरिया शैलीलाई पछ्याएर जिन्दगी बिताउनका लागि संघर्ष गर्नुपरेको छ भन्ने देखाउने प्रयास गरिएको छ ।

द्वन्द्व, मनमुटाव, संघर्ष, गरिबी, शिक्षा र सफलतालाई यो चलचित्रको कथामा मुख्य जोड दिइएको निर्देशक थापाले जानकारी दिइन् । चलचित्रको निर्देशनको अलवा मुख्य निर्माता र कथा लेखन स्वयं थापाले गरेकी हुन् ।‘लक्ष्मी रानी’ मा शुभेच्छा थापा, धिरेन शाक्य, जयकिशन बस्नेत र भोजपुरी सुपरस्टार परदेशी साहको मु्ख्य भूमिका रहेको छ । नायिका शुभेच्छा थापाको यो चलचित्रमा दोहोरो भूमिका छ । अन्य कलाकारमा श्याम राई, शारदा गिरी, रश्मी भट्ट, खगेन्द्र नेपाल, कृष्ण सिवाकोटी, राजु गिरीलगायत रहेका छन् ।
चलचित्रमा ‘लक्ष्मी रानीलाई भन्ने बोलको शीर्ष गीत रहेको छ । यसमा गायिका तथा गायकमा जुनु रिजाल–दौलत राई र गीतकार लोक राई रहेका छन् । अर्को ‘फुल्यो सयपत्री भन्ने बोलको गीतमा गायक गायिका ध्रुवराज अधिकारी र संगिता तिमिल्सेना र गीतकार शंकर अधिकारी ‘घायल’ रहेका छन् । दुवै गीतमा चर्चित युवा संगीतकार बबुल गिरीको संगीत रहेको छ । चलचित्रलाई रामेश्वर हुमागाईं, दुर्गा वान्तवा राई र बासु न्यौपानेले छायांकन गरेका छन् ।

सम्पादन ललितसिंह साउद, नृत्यमा विवेक थापा, साइमन राजवंशी र खगेन्द्र नेपालको मुख्य जिम्मेवारी रहेको छ । चलचित्र वितरण प्रदर्शनका लागि आरआर फिल्स् प्रालिले जिम्मा लिएको छ । चलचित्रको यतिबेला धमाधम डबिङको काम भइरहेको र यही २०७६ सालको तिहारमा प्रर्दशनमा आउने तयारी थालिएको निर्माण पक्षले जनाएको छ । ‘लक्ष्मी रानी’ चलचित्रको सुदुरपश्चिमको दार्चुला, नेपालगञ्ज, चितवनको सौराहा, भैरहवा, काभ्रेको पनौती र काठमाडौंमा सुटिङ गरिएको थियो । यो चलचित्रमा हाम्रो समाजमा नारीहरुले जीवन जिउनका लागि कसरी संघर्ष गर्नु परेको छ भन्ने देखाउन खोजिएकोले सम्पूर्ण नेपाली दर्शकलाई ‘लक्ष्मी रानी’ मनपर्ने निर्देशक थापाले दाबी गरिन् । नेपाली चलचित्र क्षेत्रमा यो फिल्मले ब्रेक थु्र गर्नेछ, उनले भनिन् । यही तिहारमा प्रर्दशनमा आउने ‘लक्ष्मी रानी’ चलचित्र हेर्न सम्पूर्ण नेपालीलाई निर्देशक थापाले आग्रहसमेत गरेकी छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published.

>