चितवन विशेष

रत्ननगरका मेयर र उपमेयरले दिए वृद्धवृद्धालाई हौसला

Banner

रत्ननगर, असोज १४-

रत्ननगर नगरपालिकाका मेयर नारायण वन र उपमेयर विमला दुवाडी नगर भित्रका आश्रम र मन्दिरमै पुगेर वृद्धवृद्धालाई सम्मान तथा हौसला प्रदान गरेका छन् ।

२९ औं अन्तर्राष्टिय ज्येष्ठ नागरिक दिवसको अवसर पारेर नगर भित्र रहेका वृद्धाश्रम तथा मन्दिरमा आश्रित २० जना वृद्धवृद्धालाई मेयर वन र उपमेयर दुवाडीले ब्लाङ्केट र पौंष्टिक आहार प्रदान गर्दै निराश नहुन आग्रह गरे । परिवारले बेवास्ता गरेर आश्रममा रहेका वृद्धवृद्धालाई भेट गरी वन र दुवाडीले आवश्यक पर्ने सामग्री, औषधि उपचार नगरपालिकाले गर्ने बताएका थिए ।  नगरपालिकाले वडा नं १२ मा रहेको असहाय वृद्ध कल्याण समाजमा आश्रित ६ जना, श्रीकृष्ण प्रणामी मन्दिर धर्मधाम जिरौनामा आश्रित ७ जना र श्रीकृष्ण प्रणामी मन्दिर टिकौलीमा आश्रित ७ जना वृद्धवृद्धालाई सम्मान गरिएको महिला तथा बालबालिका शाखा प्रमुख रञ्जना पौडेलले जानकारी दिइन् ।

कार्यक्रममा मेयर वन, उपमेयर दुवाडी, प्रमुख प्रशासकीय अधिकृत टुवराज पोखरेल, कार्यपालिका सदस्य निर्मला खड्का, नगरस्तरीय ज्येष्ठ नागरिक समन्वय समितिका अध्यक्ष गोकुलदास श्रेष्ठ आश्रममै पुगेर वृद्धवृद्धालाई ब्लाङ्केट र हर्लिक्स हस्तान्तरण गरेका थिए । सो अवसरमा मेयर वनले ज्येष्ठ नागरिक अनुभवका खानी भएकाले उनीहरुको अनुभवलाई आत्मसाथ गरी नगरको विकासको लागि काम गर्ने बताए । उनले परिवारबाट अलगिएका ज्येष्ठ नागरिकलाई स्थानीय सरकारले संरक्षण गर्ने बताए । कार्यक्रममा उपमेयर विमला दुवाडीले आफूलाई जन्म दिएका बाबुआमालाई आश्रम जान बाध्य बनाउने संस्कारको अन्त्य हुनुपर्ने बताइन् ।

धर्मधाममा भएको कार्यक्रममा वडा नं ११ का वडाध्यक्ष शशिभक्त न्यौपाने, धर्मधामका अध्यक्ष श्यामप्रसाद बराललगायतको सहभागिता रहेको थियो । यसैबीच दिवसकै अवसरमा रत्ननगर नगरपालिका वडा नं १० ले वडा भित्रका ज्येष्ठ नागरिकलाई मंगलबार सम्मान गरेको छ । ७० वर्ष पूरा भएका २१२ जना ज्येष्ठ नागरिकलाई दोसल्ला ओडाएर सम्मान गर्नुका साथै उनीहरुलाई दूध र खिर खुवाइएको वडाध्यक्ष केशव आचार्यले जानकारी दिए । कार्यक्रममा मेयर नारायण वनले ज्येष्ठ नागरिकलाई दोसल्ला ओढाएर सम्मान गरेका थिए । सोही कार्यक्रममा तेजप्रसाद पौडेल संयोजक रहेको वडास्तरीय ज्येष्ठ नागरिक समन्वय समिति गठन गरिएको छ । कार्यक्रममा वडा सदस्यहरु कमलबहादुर घिमिरे, सीता भेटवाल, माया नेपाली, छन्नुराम चौधरी, बैरिया माविका प्राचार्य युवराजशर्मा पौडेललगायतको सहभागिता रहेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published.

>