देश/प्रदेश

मकवानपुरको राक्सीराङमा विद्यालय बनाउन जापानी राजदूतावासको एक करोड सहयोग

Banner

काठमाडौं, असोज १४-

मकवानपुरको बिकट राक्सीराङ गाउँपालिका–२ मा रहेको एक विद्यालयको भवन बनाउन जापानी राजदूतावासले एक करोड सहयोग गरेको छ ।
नेपाली कांग्रेस ३ नम्बर प्रदेश संसदीय दलका नेता ईन्द्रबहादुर बानियाको विशेष पहलमा जापानी राजदूतावासले राक्सीराङ २ सरिखेत कुँडुलेमा रहेको प्रजा प्रगति आधारभूत विद्यालयको शौचालय र बाथरुमसहितको ६ कोठे भवन बनाउन एक करोड रुपैयाँ सहयोग गरेको हो ।
जापानी राजदूतावासका डेपुटी चिफ अफ मिशन युजो योशियोका र विद्यालयका प्रधानाध्यापक गोपालप्रसाद चौधरीले मंगलबार जापानी दूतावासमा एक कार्यक्रमका बीच सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । मकवानपुरको विकट पश्चिमी क्षेत्र राक्सीराङ गाउँपालिका २ सरिखेतमा अवस्थित ८ कक्षासम्म पठनपाठन हुने र ८० प्रतिशत चेपाङ तथा प्रजाका बालबालिकाहरु अध्ययन गर्ने प्रजा प्रगति स्कुलको ६ कोठे भवन आगामी २०७७ असोज १४ गतेभित्र निर्माण सम्पन्न गरिसक्नुपर्ने सम्झौतापत्रमा उल्लेख छ ।

सम्झौतापत्र हस्ताक्षर कार्यक्रममा बोल्दै नेता बानियाँले आफूले जापानी दूतावासलाई गरेको आग्रह स्वीकार गर्दै ६ कोठे भवन बनाइदिन लागेकोमा दूतावासलाई आभार प्रकट गर्दै उक्त ग्रामीण क्षेत्रका चेपाङ तथा प्रजा बालबालिकाहरु अब वर्षातमासमेत पानी नचुहिने र आरामदायी भवनमा पठनपाठन गर्न पाउने भन्दै खुसी प्रकट गरे । राक्सीराङ गाउँपालिका अध्यक्ष राजकुमार मल्लले अबको दिनमा विकट राक्सीराङका पिछडिएका चेपाङ तथा प्रजाका बालबालिकाले ढुक्कसँग पठनपाठन गर्न पाउने भन्दै दूतावास र विशेष पहल गरिदिने कांग्रेस ३ नम्बर प्रदेश संसदीय दलका नेता बानियाँलाई विशेष धन्यवाद दिएका थिए । राक्सीराङ गाउँपालिका–२ मा रहेको ८ कक्षासम्म पठनपाठन हुने प्रजा प्रगतिमा पाँच स्थायी शिक्षक र चार जना निजी स्रोतका गरी ९ जना शिक्षकहरुले पठनपाठन गराइरहेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published.

>