देश/प्रदेश

कम उमेरमा विवाह गरेर पछुताउँदै महिला

Banner

अञ्जना पराजुली

विराटनगर, असोज १२–

‘बीसपारि अनि मात्र बिहेवारी’ अवधारणालाई आत्मसाथ गर्न सकेमात्र हाम्रो समाज असल समाज बन्न सक्छ भन्ने यथार्थतालाई यहाँका महिलाले अब बुझ्न थालेका छन् । अपरिपक्व उमेरमा गरिने विवाहले भविष्य उज्वल हुनुका साटो अन्धकार भएको अनुभव सानो उमेरमा विवाह गरेर पछुताएका महिलाले सुनाउन थालेका छन् । विवाहपछि आउने समस्यालाई हल गर्न सक्ने क्षमता निर्माण नगरी गरिने विवाहले मानिसको जीवनमा पर्ने दुःखबाट आँशु मात्र बग्छ, अनुहारमा हाँसो भने हुँदैन र पछुताउनुपर्छ भन्न थालेका छन अहिले उनीहरु ।

पढ्नेलेख्ने, हाँस्नेखेल्ने उमेरमा विवाह गरेको कारण आफूहरुलाई अहिले निकै पछुतो हुने गरेको मेनुका चौहानले बताउनुभयो । विराटनगर महानगरपालिका–१२ निवासी ३४ वर्षीया चौहान आफू कक्षा ९ मा पढ्दापढ्दै एक युवकसँग भेटघाट भयो । भेटघाट भएसँगै सम्बन्ध बलियो हुँदै जाँदा ती युवकसँग भागेर विवाह गरेको स्मरण गराउनुभयो । आफू १६ वर्षकै उमेरमा भविष्यको चिन्ता नै नगरी गरिएको यो विवाह आफ्नो जीवनमा अभिशाप बन्यो उहाँले अतितलाई सम्झँदै भन्नुभयो । पछि गएर दुःख पाउँदा जीवनमा ठूलो भूल गरेको चेतना त भयो तर त्यसलाई सच्याउने बाटो नपाएको उहाँको कथन थियो ।

सोचेअनुसार वैवाहिक जीवन नचलेपछि कलहमा जीवन गुजार्नुभन्दा सम्बन्धविच्छेद गरेर एक्लो जीवन बिताउने निर्णय लिएसँगै उनले सम्बन्धविच्छेद गरिन् । ‘हुनेखाने घरको छोरी भएर पनि अहिले कष्टकर जीवन बिताउनु पर्दा मलाई झन् पीडावोध हुन्छ’ उहाँ भन्नुहुन्छ । हतारमा गरिएको यो विवाहले मेरो सर्वस्वहरण त भयो तर अब आउने दिनमा कसरी समस्याको सामना गर्ने झन् चुनौती थपिएको दुखेसो चौहानले गर्नुभयो । उहाँले भन्नुभयो, “आफूले गरेको विवाहप्रति निकै पछुतो छ, यसकोे कारण आफ्नो पढाइ सबै बिग्रियो, केही काम छैन, बेरोजगार छु र विवाहको परिणाम भोग्दैछु ।”

यस्तै, विराटनगर महानगरपालिका निवासी २६ वर्षीया सीमा कार्कीले पनि बालविवाहको कारण आफ्नो भविष्य बर्बाद भएको सुनाउनुभयो । घरका आमाबुबाले नै विवाह गरिदिएको उहाँको भनाइ छ । आफ्नो आमाबाबु र दाजुको जिद्धीबाट विवाह भएका कारण आफ्नोे रहर र सबै सपना चकनाचुर भएको उहाँको भनाइ छ । उहाँले आफ्नो हाँसखेल गर्ने उमेरमा घरपरिवार चलाउनुपर्ने, साना नानीहरुको हेरचाह गर्नुपर्ने, घर व्यवहार धानेर बस्नु परेकाले मनमा कहिले पनि सन्तुष्टि नआएको र चिन्ता मात्र लागिरहेको अनुभव सुनाउनुभयो । आमाबुबाले आफूलाई बोझ सम्झेर छोरी पढाएर केही फाइदा नहुने भन्ने सोचका कारण आफ्नो विवाह गरिदिएको गुनासो कार्कीले गर्नुभयो ।

त्यस्तै, कम उमेरमै विवाह गर्ने ममता पासवानको पारिवारिक स्थिति निकै कमजोर र नाजुक देखिएको छ । कक्षा ८ मा पढ्दा आफ्नो विवाह भएको उहाँ बताउनुहुन्छ । परिवारको आर्थिक स्थिति कमजोर भएका कारण केटा पक्षले केही दाइजो नलिने भनेपछि घरपरिवारका सदस्यले विवाह गरिदिएका थिए । उहाँ भन्नुहुन्छ, “परिवारको मायाले विवाह गर्न बाध्य भएँ । आफ्नो पढाइलेखाइलाई बीचमै छाडे । विवाहपछि घरकै काममा व्यस्त हुने गरेको छु, पढ्ने सोच बनाए पनि घरको कामले फुर्सद हुँदैन ।”

विवाहपछि धेरै मानिसहरुको जीवन धरापमा परेको छ तर यहाँ केही प्रतिनिधिमूलक घटनाको मात्र प्रस्तुत गरिरहँदा सुष्मा शर्मा पनि यही कारणले दुःख पाउनुभएको छ । आफू १४ वर्षकी हुँदा पे्रमविवाह गरेको र एक वर्षपछि छोरी जन्माएको उहाँले बताउनुभयो । शर्माले परिवारमा सधैँ झगडा हुने, गाली खानुपर्ने, सकिनसकी काम गर्नुपर्ने र कलह मात्र हुने यो परिवारबाट छुटकारा पाउन सम्बन्धविच्छेद गरेको जानकारी दिनुभयो । कलिलो उमेरमा विवाह भयो, एक वर्षपछि बच्चा जन्मियो, घरको झगडाले सीमा नाघेको र सधैँ श्रीमान्बाट कुटाइ खाइरहनुभन्दा एक्लै बस्ने मनस्थिति बनाएका कारण सम्बन्धविच्छेद गरेको शर्माको भनाइ छ । आफूसँगै पढ्ने साथीहरु शिक्षित भएको र केही जागिरमा पनि रहेकाले अहिले मैले पछुताउनुको विकल्प छैन, उहाँको भनाइ थियो । उहाँको वैवाहिक जीवन साह्रै पीडादायी बनेको र अहिले त्यही नानी लिएर माइतीमा बसेको बताउनुभयो ।

विराटनगर महानगरपालिका–१२ मा मात्र यो तीन महीनामा १५ भन्दा बढी उमेर नै नपुगी विवाह दर्ताका लागि सिफारिश लिन आएको वडाध्यक्ष हीरालाल कामतले जानकारी दिनुभयो । उहाँले २० वर्ष नपुगी गरिने विवाह बालविवाह हो । यस्तो विवाह गर्नु हुँदैन र २० वर्ष नपुगी विवाह दर्ता नहुने कानूनी प्रावधान भएकाले सम्झाएर पठाउने गरेको अध्यक्ष कामतको भनाइ छ । सरकारले कम उमेरमा विवाह गरेमा रु २५ हजार जरिवाना र एक वर्ष कैद गर्ने कानून बनाए पनि यसलाई व्यवहारमा नमान्ने मानिसहरुले नै भविष्यमा दुःख भोग्ने गरेका छन् । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published.

>