चितवन विशेष

भरतपुर १० मा टोल विकास समितिहरुको संयुक्त सरसफाइ

Banner

चितवन, असोज ११-

सरसफाइ अभावका कारण सरुवा रोगको संक्रमण जोखिम हुन नदिन भरतपुर–१० का विभिन्न टोल सुधार समिति र सुनौलो बिहानी संस्थाले शनिबार बिहान सरसफाइ गरेका छन् ।

दुई अस्पताल क्षेत्र भरतपुर अस्पताल र पुरानो मेडिकल कलेज परिसरमा उनीहरुले सरसफाइ गरेका हुन् । पछिल्लो समय चितवनमा डेंगुको प्रकोप फैलिएर आक्रान्त हुनुपरेको अवस्थालाई ध्यानमा राख्दै सरसफाइ गरिएको सहभागीहरुले बताएका छन् । बडादसै‘को बेला कोही पनि बिरामी हुनु नपरोस् भन्दै सरसफाइमा जोड दिइएको प्रगतिपथ टोल विकास समितिकी अध्यक्ष रमा लौडारीले बताइन् । ‘यो बेला घर टोल त अधिकांशले सरसफाइ गर्नुहुन्छ’ उनले भनिन्, ‘ तर अस्पताल परिसरमा पनि सरसफाइ गर्नुपर्ने रहेछ ।’ अस्पतालको डम्पिङ एरिया, गरेज जस्ता क्षेत्रमा सरसफाइ गरिएको हो । भरतपुर अस्पताल र पुरानो मेडिकल कलेज क्षेत्रमा अधिकांश भाडामा व्यवसाय सञ्चालन गर्नेहरु धेरै छन् । भाडामा बस्ने भएकाले सरसफाइमा ध्यान नदिने समस्या बढी छ । अस्पताल आसपास बसोबास गर्ने समुदायलाई अस्पताल परिसरमै हुने फोहोरका कारण सरुवा रोग लाग्ने अवस्था आउन नदिन सरसफाइ गरिएको महाकालेश्वर टोल सुधार समितिका अध्यक्ष उर्मिला पन्तले बताइन् ।

बडादसै‘को बेला हरेक वर्ष आआफ्नो टोलमा सरसफाई गर्दै आएको उनले बताइन् । मौसम परिवर्तनका कारण समयमा वर्षा नहुनु र अहिले चाड पर्वको बेलामा पनि निरन्तर झरी पर्दा विभिन्न रोगको संक्रमण जोखिम बढेको भन्दै उनीहरुले चिन्ता व्यक्त गरे । सरसफाइको क्रममा स्थानीयलाई सरसफाइसम्बन्धी सचेतना दिइएको थियो भने बडादसै‘को अवसरमा शुभकामना आदानप्रदान गरिएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published.

>