चितवन विशेष

प्रतिबन्धित बाघको छालासहित चितवनमा तीन जना पक्राउ

Banner

चितवन, असोज ८-

चितवन प्रहरीले प्रतिबन्धित बाघको छालासहित तीन जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनबाट खटिएको प्रहरीको विशेष टोलीले मंगलबार बेलुका नारायणगढको पुलचोकबाट बाघको छालासहित तीन जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा बुटवल उपमहानगरपालिका–७ ईट्टाभट्टी बस्ने दिपक भन्ने चिरञ्जीवी सेन ठकुरी, जिल्ला पाल्पा निस्दी गाउँपालिका–२ सहलकोट बस्ने चुमबहादुर राना र जिल्ला वाग्लुङ ढोरपाटन नगरपालिका–९ बस्ने हिम साङ्वो गौचन रहेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनको प्रहरी टोली आफै ग्राहक बनी उनीहरुसँग उक्त छालाको करिब २५ लाख रुपैयाँमा मोलमोलाई गरिरहेको अवस्थामा झोलामा लुकाएर ल्याएको नेपालमा संरक्षित एवम् संकटान्मुख वन्यजन्तु बाघको दाँतसहितको छाला तीन थानसहित उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । उक्त छाला निजहरु तीन जना मिले बाग्लुङको ढोरपाटन–९ बोबाङ शेराबाङबाट बेचबिखनको लागि ल्याइएको भन्ने प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

बरामद उक्त बाघको छाला र पक्राउ मानिसलाई आवश्यक कानुनी कारबाही तथा अनुसन्धानको लागि डिभिजन वन कार्यालय चितवनमा बुझाइएको छ । दुर्लभ वन्यजन्तु तथा वनस्पतीको व्यापार नियन्त्रण अन्तर्राष्ट्रिय महासन्धिको अनुसूचि १ मा उल्लेखित भए अनुसार बाघ दूर्लभ एवम् संकटान्मुख वन्यजन्तुमा पर्छ ।

नेपालसमेत उक्त सन्धिको हस्ताक्षरकर्ता भइ नेपाल सरकारले ‘संकटापन्न वन्यजन्तु तथा बनस्पतिको अन्तर्र्रािष्ट्रय व्यापार नियन्त्रण ऐन–२०७३’ समेत बनाई लागू गरिसकेको अवस्थामा संकटापन्न र लोपोन्मुख वन्यजन्तुको आखेटोपहार ओसारपसार, बिक्री बितरण वा कुनै पनि किसिमको निकासी पैठारीमा पूर्णरुपमा बन्देज लगाएको छ । उक्त कसुरमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन–२०२९ र संकटापन्न वन्यजन्तु तथा वनस्पतीको अन्तर्र्रािष्ट्रय व्यापार नियन्त्रण ऐन–२०७३ अनुसार दण्ड सजाय पाँच लाख रुपैयाँदेखि १० लाख रुपैयाँसम्म जरिवाना वा पाँच वर्षदेखि १५ वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था रहेको छ ।

साथै यस्ता प्रकारका अपराधमा जिल्ला प्रहरी कार्यालय चितवनको निरन्तर विशेष चासो र अग्रसरताका कै कारण यस किसिमको सफलता हात पर्न गएको र सन् २०१० मा सेन्ट पिटर्सबर्गमा भएको विश्व बाघ सम्मेलनमा व्यक्त प्रतिबद्धता अनुरुप सन् २०२२ सम्ममा विश्वमा बाघको संख्या दोब्बर बनाउने अभियानमा नेपाल अग्रणी स्थानमा रहेको छ । आगामी दिनमा पनि दूर्लभ वन्यजन्तुको आखेटोपहारको अबैध ओसारपसार, बिक्री वितरण तथा निकासी पैठारीको नियन्त्रणमा थप तदारुकता र क्रियाशील रहने चितवन प्रहरीको विश्वास छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published.

>