खेलकुद

दार्जिलिङले जित्यो अन्तर्राष्ट्रिय चितवन भेटेरान कपको उपाधि

Banner

चितवन, असोज ७–

चितवनमा पहिलोपटक भएको अन्तर्राष्ट्रिय चितवन भेटेरान कप फुटबल प्रतियोगिताको उपाधि भारतीय टोली रोयल एफसी दार्जिलिङले जितेको छ । मंगलबार भएको फाइनलमा झापा भेटेरानलाई सडनडेथमा पराजित गर्दै दार्जिलिङले पहिलो संस्करणको उपाधि माथि कब्जा जमाएको हो । उपाधिसंगै दार्जिलिङले एक लाख ११ हजार १ सय ११ रुपैयाँसहित शिल्ड, मेडल र प्रमाण पत्र प्राप्त गर्दा उपविजेतामा सिमित भएको झापाले ५० हजार ५ सय ५५ रुपैयाँमा चित्त बुझाउन बाध्य भएको छ । उनीहरुलाई समापन समारोहका प्रमुख अतिथि प्रदेश ३ का सांसद विजय सुवेदीले पुरस्कार प्रदान गरे ।

दार्जिलिङको जितमा पाल्जर भुटिया पिटरले उत्कृष्ट प्रदर्शन गरे । निर्धारित समयको खेल १–१ को बराबरीमा सकिएपछि खेल टाईब्रेकरमा धकेलिएको थियो । टाईब्रेकरमा पनि दुबै टोलीबाट १–१ गोलको बराबरी भयो । दार्जिलिङले टाईब्रेकरमा फर्वाड पाल्जर भुटिया पिटरलाई गोलरक्षकको जिम्मेवारी सम्पेको थियो । टाईब्रेकरमा उनले झापाको २ प्रहार रोके । यस्तै झापाका गोलरक्षक रुपक गुरुङले पनि दार्जिलिङको २ प्रहार रोकेपछि टाईब्रेकरबाट निर्णय आउन सकेन र खेल सडन डेथमा धकेलियो । सडन डेथमा दार्जिलिङका गोलरक्षक पिटरले झापाको प्रहार रोके । अर्को तर्फ दार्जिलिङले गोल गरेपछि झापा पराजित भयो ।

त्यसअघि निर्धारित समयमा दुबैतर्फबाट १–१ गोल भएको थियो । खेलको २० औं मिनेटमा झापाले आत्माघाती गोल गरेपछि दार्जिलिङले १–० को अग्रता लियो । दार्जिङका खेलाडीको प्रहार झापाका डिफेन्डरले क्लियर गर्न खोज्दा आत्माघाती गोल भयो । पहिलो हाफमा १–० ले पछि परेको झापा दोस्रो हाफमा खेलमा फर्कियो । खेलको ३३ औं मिनेटमा निरेन्द्रमणी लिम्बुले सुन्दर गोल गर्दै झापालाई खेलमा फर्काए । बाँकी समयमा दुबै टोलीले प्राप्त केही अवसर सदुपयोग गर्न नसकेपछि खेल १–१ को बराबरीमा सकिएको थियो ।
खेलको म्यान अफ दि म्याच दार्जिलिङका पिटर घोषित भए । झापाका रुपक गुरुङ प्रतियोगिताभरको उत्कृष्ट गोलरक्षक घोषित भए भने दार्जिलिङका प्रणव घोष उत्कृष्ट डिफेन्डर घोषित भए ।
यस्तै दार्जिलिङका बी बान्तवा उत्कृष्ट मिडफिल्डर घोषित भए भने प्रतियोगिता भर ६ गोल गरेका दार्जिलिङकै पिटर सर्वाधिक गोलकर्ता बने । उनीहरुले जनही पाँच हजार रुपैया प्राप्त गरे । झापाका नरेन्द्रमणि लिम्बुले प्रतियोगिताभरको उत्कृष्ट खेलाडी बन्दै १० हजार पुरस्कार प्राप्त गरे । उनीहरुलाई प्रदेश ३ का प्रदेश सभा सदस्य सुवेदी, अखिल नेपाल फुटबल संघ चितवनका अध्यक्ष श्रीकृष्ण कार्की, आयोजक चितवन भेटेरान फुटबल क्लबका अध्यक्ष रविन्द्र श्रेष्ठलगायतले पुरस्कार वितरण गरे । गत असोज ४ गतेबाट शुरु भएको प्रतियोगितामा नेपाल र भारतका गरी १६ टोलीको सहभागीता रहेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published.

>