चितवन विशेष

चितवनमा आज यस्तो देखियो जितिया पर्वको रौनक (फोटोफिचर)

Banner

चितवन, असोज ५–

चितवनका थारु समुदायका महिलाहरुले आज धुमधामका साथ जितिया पर्व मनाइरहेका छन् ।

थारुहरुको बाक्लो बसोबास रहेको चितवनको पूर्व, पश्चिम र माडी क्षेत्रमा जितिया पर्व हर्सोउल्लाहसका साथ मनाइरहेका छन् । आज महिलाहरु विहानैदेखि निराहर ब्रत बसी दिनभर झाम्टा नाच नाचेका छन् । रातको समयमा दर खाएर विहानै नुहाई धुवाई गरी बेलको पात टिपेर दिनभर निराहर ब्रत बसी महिला तथा युवतीहरु यो पर्व मनाउने गरेका छन् । जितिया पर्वलाई तीन दिनसम्म मनाउने चलन छ ।

यो पर्व आश्विन कृष्णपक्षको सप्तमी, अष्टमी र नवमी तिथिमा तीन दिन मनाउने गरिन्छ । आज जितियाको दोस्रो दिन अर्थात मूख्य दिन हो । सप्तमीको दिनलाई ‘लाहा खाएके’, अष्टमीको दिनलाई ‘उपास’ र नवमीको दिनलाई ‘पारन’ भनिन्छ । आज अष्टमीको दिन भएकोले महिलाहरू विहानैदेखि ‘उपास’ ब्रत बसि झम्टा नाँच नाचेर मनाइरहेका छन् । आजै (आइतबार) बेलुकीपख ब्रतालु महिला जम्मा भएर कथा श्रवण गर्ने प्रचलन रहेको छ । रुखको चारैतिर ब्रतालु महिलाहरू फलफूल, पानी, दूध, दही साथै बिहान भिजाएको मास र चामल लिएर बस्छन् । गाउँको कुनै एक भद्र पुरुषले जीतबाहनको कथा (जितिया ब्रत कथा) घण्टौं लगाएर सुनाउँछ ।

कथा सकिएपछि सबै जना घर गएर फलाहार गर्छन् । त्यसलाई ‘फराहर’ भनिन्छ । भोलिपल्ट अर्थात् नवमीको दिन सबेरै सबै ब्रतालु खोलामा नुहाएर निराकार प्रतिमूर्ति (जसलाई थारु भाषामा ‘गरग्वाङ’ भनिन्छ) बनाएर मासको गेडाले पूजा गर्छन् । खोलाबाट घर आइसके पछि ब्रतालुहरुले दहि चिउरा, केरा लगायतका खानेकुरा खान बस्छन् तर खानु भन्दा अगाडि गुइठाको अङ्गारमा काठको धूप बालेर सबै खानकीको केही अंश चढाएर मात्र खान्छन् । त्यसलाई ‘पारन’ भनिन्छ । त्यसपछि भने ब्रत सकिएसंगै जितिया पर्व सकिन्छ ।

चितवनमा करिव ८० हजार थारु समुदायको बसोबास रहेको छ । चितवनको पूर्वी क्षेत्र रत्ननगर, कालिका, खैरहनी, राप्ती नगरपालिका, पश्चिम क्षेत्र मेघौली र माडीमा जितियाको रौनक छाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published.

>