जोडिनुहोस
  • होमपेज
  • भरतपुर अस्पताललाई ५०० डेँगु कीट सहयोग

भरतपुर अस्पताललाई  ५०० डेँगु कीट सहयोग

चितवन, भदौं ३१-

उद्योग वाणिज्य संघ चितवनले आज भरतपुर अस्पताललाई ५०० डेँगु परीक्षण किट हस्तान्तरण गरेको छ ।

अस्पतालपरिसरमा आयोजित कार्यक्रममा संघका अध्यक्ष सहनलाल प्रधानले भरतपुर अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेण्ट प्रकाश खतिवडालाई ५०० डेँगु कीट हस्तान्तरण गरेका हुन् । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले पछिल्लो समय चितवनमा डेँगुको प्रकोप फैलिएकोले सतर्क हुन आग्रह गरे । डेँगु नियन्त्रणको लागि स्वास्थ्यकर्मीको मात्रै एक प्रयासले सम्भव नहुने बताउँदै बस्नेतले त्यसका लागि सरोकारवाला निकायको सहकार्य आवश्यक रहेको बताए । डेँगु रोग नियन्त्रणको लागि निजी क्षेत्र र सामाजिक संघसस्थाको पनि महत्वपूर्ण भूमिका हुने बताउँदै उनले बिरामी नहुँदै घर घरमा सरसफाई गर्ने हो भने अस्पताल जानै नपर्ने बताए ।

कार्यक्रममा उद्योग वाणिज्य संघ– चितवनका अध्यक्ष सहनलाल प्रधानले उद्योगी व्यवसायी नाफा घाटामा मात्रै केन्द्रित हुन्छन् भन्ने आरोप चिर्न सामाजिक उत्तरदायित्वअन्तर्गत संघले भरतपुर अस्पताललाई डेँगु कीट हस्तान्तरण गरेको बताए । व्यवसायीहरु समाजिक काममा पनि उत्तिकै क्रियाशील रहेको बताउँदै संघले हस्तान्तरण गरेको डेँगु परीक्षण कीटको सही सदुपयोग हुनुपर्नेमा जोड दिए ।

कार्यक्रममा अध्यक्ष प्रधानले आगामी दिनमा पनि डेँगुको संक्रमण कम नभए फेरि पनि आवश्यक सहयोगको लागि संघ तयार रहेको जानकारी दिए । कार्यक्रममा अध्यक्ष प्रधानले उवासंघ–चितवनले जिल्लाको शिक्षा, स्वास्थ्य, कृषि र पर्यटनको विकासमा आफ्ना गतिविधिलाई केन्द्रित गर्दै आइरहेको बताउँदै स्वास्थ्य क्षेत्र अझ बढी सम्वेदनशील भएकोले आगामी दिनमा पनि यस किसिमका कार्यक्रमहरु आयोजना गर्ने बताए । उनले नेपाल भ्रमण वर्ष–२०२०को पूर्वसन्ध्यामा देखिएको डेँगु प्रकोपलाई समयमै नियन्त्रण गरी राष्ट्रिय तथा अन्तरराष्ट्रिय स्तरमा नेपाल सुरक्षित छ भन्ने सन्देश फैलाउनुपर्ने बताए ।

कार्यक्रममा भरतपुर अस्पतालका वरिष्ठ फिजिसियन डा. भोजराज अधिकारीले चितवनमा डेंगुको अवस्था, बच्ने उपाय र उपचारको बारेमा जानकारी गराएका थिए । चितवनमा डेँगु रोगको संक्रमण सोचेभन्दा धेरै क्षेत्रमा फैलिए पनि नियन्त्रण बाहिर नगएको बताए । पछिल्लो समय डेँगुको संक्रमणसँगै जनता जागरुक भएको बताउँदै उनले ज्वरो आउँदा घरमै सिटामोल खाएर बस्ने मान्छे अहिले ज्वरो आएकै दिन चिकित्सकको सम्पर्कमा आउने गरेको बताए । सबै प्रकारको डेँगु खतरनाक नभएको बताउँदै उनले डेँगु नियन्त्रण गर्न व्यक्तिगत सुरक्षा र जनचेतनाको विकल्प नभएको विचार राखे । दैनिक डेँगु रोगको प्रकोप बढिरहेको तर अस्पतालमा कीटको संख्या ज्यादै न्यून भएको पाइएकोले सर्वसाधारणको स्वास्थ्यलाई मध्यनजर गरी डेँगु कीट वितरण गरिएको उवासंघका कार्यसमिति सदस्य एवम् स्वास्थ्य समितिका संयोजक सिरिष पन्तले बताए ।

कार्यक्रममा स्वास्थ्य कार्यालय चितवनका प्रमुख दिपक तिवारी, भरतपुर अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेण्ट डा प्रकाश खतिवडा, भरतपुर अस्पतालका पूर्वमेडिकल सुपरिटेन्डेण्ट एवम् उवासंघ चितवनका विशिष्ठ सदस्य डा. कृष्ण पौडेललगायतले डेँगु, यसबाट बच्ने उपाय र पूर्वतयारीका बारेमा बोलेको संघका कार्यक्रम अधिकृत निलबहादुर केसीले जानकारी दिए । कार्यक्रम संघका अध्यक्ष सहनलाल प्रधानको अध्यक्षतामा भएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका