



चितवन, भदौ ३०-
भरतपुर महानगरपालिका–२९ भतेरीमा आमा समूहकै पहलमा सञ्चालन भएको जलदेवी राष्ट्रिय आधारभूत विद्यालयलाई आइतबार नारी अभ्युदय केन्द्र नारायणगढले फलामे पिङ हस्तान्तरण गरेको छ ।
बाल दिवसको अवसर पारेर २५ हजार रुपैयाँ लागतको सो पिङ केन्द्रले विद्यालयमा निर्माण गरिदिएको हो । भतेरी क्षेत्रमा रहेका ६५ घरका बालबालिका पढ्नका लागि विद्यालय टाढा भएपछि जलदेवी आमा समूहले आफूसँग रहेको १७ सय रुपैयाँबाट विद्यालय स्थापना गर्न अठोट गरेको व्यवस्थापन समितिका अध्यक्ष फूलमाया गुरुङले जानकारी दिइन् । उनले पहिला विद्यालय स्थापना गरेर सहयोगको जोहो र शिक्षकको जोहो गरेर जेनदेन ५ कक्षासम्म सञ्चालन गरे पनि अहिले नर्सरी देखि ३ कक्षासम्म सञ्चालन हुँदै आएको छ । विद्यालयमा हाल ३३ विद्यार्थी अध्ययनरत रहेका छन् ।
नारी अभ्युदय केन्द्रले सो विद्यालयलाई स्टेशनरी, खाजालगायतको सहयोग गर्दै आएकोमा यस पटक मनोरञ्जनको लागि फलामको पिङ हस्तान्तरण गरिएको केन्द्रकी अध्यक्ष सत्या गुरुङले बताइन् । कार्यक्रममा विद्यालयकी प्राचार्य कृष्णकुमारी लम्साल, केन्द्रकी संस्थापक अध्यक्ष कस्तुरी श्रेष्ठ, निर्वतमान अध्यक्ष मनकुमारी सेन, कार्यक्रम संयोजक विष्णु रायमाझीलगायतले मन्तब्य राखेका थिए ।