



चितवन,भदौं १९-
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) चितवनको जिल्ला कमिटी बैठकमा केपी ओली समूले आफ्नो असहमति पेश गरेको छ । बैठकमा राष्ट्रिय सभाको राष्ट्रिय सरोकार समितिकी सभापति समेत रहेकी नेकपा चितवनकी नेतृ दिलकुमारी रावल ‘पार्वती’ले असहमति जाहेर गर्दै ‘नोट अफ डिसेन्ट’ लेखेको स्रोतले जनाएको छ । उनले पार्टीको महत्वपूर्ण निर्णयका लागि हुने छलफलमा सहभागि नगराएको र एकलौटी निर्णय गर्न खोजेको भन्दै असहमति जनाएकी हुन् । दोस्रो जिल्ला कमिटी बैठकमा उनले फरक मत पेश गर्दै पार्टीलाई योगदान दिने नेता कार्यकर्तालाई जिम्मेवारीमा ल्याउनुपर्ने धारणा प्रस्तुत गरेकी छन् । जनभावना र पार्टी एकता विपरित सीमित व्यक्ती बसेर निर्णय गर्न खोजिएको उनको आरोप छ ।
दोस्रो जिल्ला कमिटी बैठकमा चितवनका ७ पालिकाको ९८ वडाको बाँडफाँड गरिएको छ । साविकको एमाले र माओवादी केन्द्रको तर्फबाट जिम्मेवारी बाँडफाँड गरिएको हो । साविक नेकपाको तर्फबाट प्रस्ताब पेस गर्दा एकलौटी गर्न खोजिएको र जिल्लाका शिर्ष नेताहरुसंग समेत समन्वयन नभएको नेता रावलको आरोप छ ।
नेकपाको जिल्ला कमिटिमा साविक एमालेका तर्फबाट माधव नेपाल समूहको बहुमत छ भने केपी ओली समूहको अल्पमतमा छ । नेकपा जिल्ला इन्चार्ज कृष्ण खनाल र जिल्ला सचिव कृष्णभक्त पोखरेलले एकलौटी गर्न खोजेको ओली समूहको आरोप छ ।
जिल्ला कमिटीको बैठकमा अध्यक्षका तर्फबाट आफूले गरेको प्रस्ताव केही असहमतिका बीच बहुमतले पारित भएको नेकपा चितवनका अध्यक्ष यम बहादुर परियारले जानकारी दिए । उनले बैठकमा कसैलेपनि ‘नोट अफ डिसेन्ट’ नलेखेको दावी गरे ।