अन्तर्राष्ट्रिय
हिन्दूप्रति नरम बन्दै पाकिस्तानी प्रधानमन्त्री खान : खोलिदिए ७२ वर्षदेखि बन्द रहेको शिवालय मन्दिर

इश्लामावाद साउन १७ –
पाकिस्तानको सियालकोटमा एक हिन्दु मन्दिर ७२ वर्षपछि पहिलो पटक खुल्दा त्यसको चर्चा भारतमा निकै भइरहेको छ । ७२ वर्ष सम्म थुनिएका भगवामन खुला हुँदा चर्चा हुनु अस्वाभाविक पनि होइन ।
पाकिस्तानको पञ्चाव प्रान्तको सियालकोटमा रहेको जगन्नाथको यो मन्दिर भारत र पाकिस्तान टुक्रिएको समयदेखि नै बन्द रहँदै आएको थियो । यो मन्दिर सरदार तेज सिंहले बनाएको मानिन्छ । जसको इतिहास झण्डै १ हजार वर्ष पुरानो रहेको छ । सो मन्दिर खुलाउनका लागि प्रधानमन्त्री इमरान खानले नै निर्णय गरेको सञ्चार माध्यमहरुले जनाएका छन् । अल्पसंख्यकलाई सम्बोधन गर्नेगरी इमरानले गरेको यो कामलाई धेरैले सरहाना गरेका छन् । पाकिस्तानमा ७५ लाख हिन्दु रहेको अनुमान गरिएको छ । ती मध्ये धेरैजसो सिन्ध प्रान्तमा बस्ने गरेका छन् ।
शिवजीको मन्दिर भएपनि यसको खास नाम चाहिँ शवाला तेजा सिंह मन्दिर हो । सो मन्दिर गएको सोमबार खुलेको भनिएपनि पाकिस्तानीहरुले भने यो मन्दिर गएको मे महिनादेखि नै खुलेको दाबी गरेका छन् । यद्यपि गएको सोमबार यो मन्दिरमा पूजा आजा गरिएको थियो ।
दिवंगत लेखक तथा इतिहासकार राशिद नियाजले लेखेको पुस्तक ‘हिस्ट्री अफ सियालकोट’का अनुसार यो मन्दिर लगभग १ हजार वर्ष पुरानो हो । सन् १९९२मा भारतमा बाबरी मस्जिदलाई भत्काइएपछि पाकिस्तानमा रहेको यो हिन्दु मन्दिरमा पनि मुश्लिम समुदायले आक्रमण गरेका थिए । त्यही बेला यो मन्दिरमा आंशिक क्षति भएको थियो । पाकिस्तानमा हिन्दु समुदाय अल्पसंख्यक समुदाय हो ।
शवाला तेजा सिंह मन्दिरको ७२ सालपछि खोलिनुलाई निकै महत्वपूर्ण मानिएको छ ।बीबीसीले पाकिस्तानको सियालकोटमा जियो न्यूजका संवाददाता ओमर एजाज र पाकिस्तानी प्रधानमन्त्री इमरान खानको पार्टी तहरिक ए इन्साफका सांसद डा। रमेशकुमार वाकवानीसँग कुराकानी गरेर यस मन्दिरलाई खोल्नुको कारण र यसका लागि भएका पहलहरुको बारेमा छलफल गरेका थिए ।
पाकिस्तानी पत्रकार ओमार इजाजका अनुसार भारतीय मिडियाले सोमबारदेखि खुलेको भनेपनि यो मन्दिर गएको मे महिनामा खुलेको हो । सियालकोटमा करिब १५० हिन्दु परिवार रहने गरेका छन् । उनीहरुले मन्दिर खोलिदिन सरकारलाई आवेदन हालेका कारण सरकारले मन्दिर खोलिदिएको हो ।
मन्दिर खोल्नको लागि जिल्ला प्रशासनका अधिकारीहरु नै सो स्थानमा गएका थिए । मन्दिर खुलेपछि यसको सरसफाइ समेत गरिएको छ । अहिले मन्दिरको पुनर्निर्माणको लागि फन्डको घोषणा गर्ने कुरा समेत चर्चा भइरहेको छ ।
मन्दिर खुल्दा हिन्दु धर्मावलम्बीहरु निकै खुसी भएका छन् । उनीहरु यो कारणले खुसी भएका हुन् कि मुश्लिम बहुल क्षेत्र भएरपनि उनीहरुको एक निवेदनको भरमा यो मन्दिर खुलेको छ ।
पाकिस्तानी सांसद रमेश वाकवानीका अनुसार पाकिस्तानमा कैयौं यस्ता मन्दिर र गुरुद्वार आजपनि बन्द छन् । भारत र पाकिस्तानको विभाजनपछि हिन्दु समुदायका मानिस पाकिस्तान छोडेर भारत तर्फ लागेका थिए ।त्यसले गर्दा मन्दिर र गुरुद्वाराको रेखदेख गर्ने मानिस नै कोही बचेका थिएनन् ।
यो अवस्थामा कुनै मन्दिर कमर्सियल कम्प्लेक्स बनेका थिए । पाकिस्तानमा जब इबेक्यूई ट्रस्ट प्रपर्टी बोर्ड बन्यो,त्यतिबेला यहाँ ११३० मन्दिर र ५१७ गुरुद्वारा थिए आज ती ११३० मन्दिरमा केवल ३० मन्दिर खोलिएका छन् ।बाँकी ११०० मन्दिर अहिलेपनि बन्द छन् । ५१७ वटा गुरुद्वारामा १७ गुरुद्वारा मात्रै चलिरहेका छन् । बाँकी ५ सय अझैपनि बन्द रहेका छन् । निवेदन हालेपछि ७२ वर्षपछि मन्दिर खुल्नु राम्रो कुरा हो तर अझै धेरै काम गर्न बाँकी रहेको पाकिस्तानी सांसद बताउँछन् ।
ती पाकिस्तानी सांसदले पंडित जवाहरलाल नेहरु र लियाकत अली खानबीचको संझौता अनुसार इबैक्युई ट्रस्ट प्रपर्टी बोर्डको अध्यक्ष हिन्दु हुनु जरुरी छ । जस्तो कि भारतमा मस्जिद र इस्लामिक संस्थाका अध्यक्ष मुसलमान हुन्छन् । तर, अहिले सम्म पाकिस्तानमा कुनै हिन्दु इवैक्यूई ट्रस्टको अध्यक्ष बनेका छैनन् ।
उनले जब कोही हिन्दु ट्रस्टको अध्यक्ष बन्छन् त्यो बेला मात्रै सबै ११३० मन्दिर र ५१७ गुरुद्वारा खुल्न सक्ने बताए । यदि हिन्दु अध्यक्ष नबनेमा काम निकै ढिलो हुने जनाउँदै उनले प्रश्न गरे, “जस्तो कि वर्षको एउटा मन्दिर मात्रै खुल्यो भने ११०० मन्दिर खुल्न कति वर्ष लाग्ला र?”
(बीबीसी र अन्य एजेन्सी)