जोडिनुहोस
  • होमपेज
  • शैक्षिक शुल्क वृद्धि गर्दै भरतपुर महानगरपालिका,२० देखि २५ प्रतिशतसम्म बढ्ने

शैक्षिक शुल्क वृद्धि गर्दै भरतपुर महानगरपालिका,२० देखि २५ प्रतिशतसम्म बढ्ने

चितवन,भदौं ३-

भरतपुर महानगरपालिकाले नीजि विद्यालयको शैक्षिक शुल्क वृद्धि गर्ने तयारी गरेको छ । समसामयिक रुपमा बजार मूल्य र शिक्षक तथा कर्मचारीको तलब वृद्धि भएपछि भरतपुर महानगरपालिकाको नीजि विद्यालयको पनि शुल्क वृद्धि गर्न लागिएको हो ।

भरतपुर महानगरपालिका शैक्षिक महाशाखाका अनुसार नीजि विद्यालयको शैक्षिक शुल्क २० देखि २५ प्रतिशतसम्म वृद्धि गरिने छ । विगत तीन वर्षसम्म शुल्क वृद्धि नभएको र अब तीन वर्षसम्म हुने सम्भावना नरहँदा ६ वर्षको मूल्य वृद्धि र तलबको समायोजन गर्नका लागि शैक्षिक शुल्क वृद्धि गर्न लागिएको शैक्षिक महाशाखाका नगरशिक्षा अधिकारी सिताराम कोईरालाले जानकारी दिए ।

‘शैक्षिक शुल्क निर्धारण गर्नका लागि एउटा आधार बनाएका छौँ । त्यसको लागि पाँच वटा स्रोत केन्द्रमा चार वटा अधिकृत खटाएका छौँ,’ नगर शिक्षा अधिकारी कोईरालाले भने, ‘विगतमा तय गरिएको शुल्कको दर र विद्यालयको कार्यान्वयन गरेको अवस्था हेरेर शुल्क वृद्धि गर्दै छौँ ।’ सरकारले तोकेको न्यूनतम पारिश्रमिक पाउनुपर्ने, समसामयिक तरिकाले सबै संस्थागत विद्यालयको शुल्क तथा सेवा सुविधामा एकरुपता ल्याएपछि शुल्क निर्धारण गर्न लागिएको उनको भनाई छ ।

भरतपुर महानगरपालिका भित्रका नीजि विद्यालयमा आधिकारिक रुपमा २०७३ सालदेखि शुल्क वृद्धि गरिएको छैन । राष्ट्रियस्तरको भन्दा भरतपुर महानगरपालिका भित्रका नीजि विद्यालयको शुल्क न्यून रहेको कोईरालाले बताए । शुल्क वृद्धि गर्नका लागि भरतपुर महानगरपालिकाका शैक्षिक महाशाखा प्रमुख संयोजक रहेको सात सदस्य शुल्क निर्धारण समिति बनेको छ । जसमा भरतपुर ४ र ८ का वडा अध्यक्ष, शिक्षा विज्ञ ज्ञानहरी पौडेल, अभिभावक संघका अध्यक्ष सूर्यकान्त न्यौपानले, प्याब्सन अध्यक्ष लेखनाथ खनाल र सदस्य सचिव शिक्षा अधिकृत बाबुराम दवाडी रहेका छन् । दवाडीका अनुसार समितिले केही दिनमै नयाँ शुल्क निर्धारण गर्नेछ । शुल्क निर्धारण सिफारिस समितिले तय गरेको सिफारिसलाई नगरप्रमुखले पारित गरेपछि शुल्क तोकिने उनले बताए ।

२०७३ सालमा तोकिएको शुल्क अनुसार एक हजार एक सय ५० देखि दुई हजार ९० रुपैयाँ ‘ग’ श्रेणीका विद्यालयले लिन पाउनेछन् । त्यस्तै ‘घ’ श्रेणीका विद्यालयले त्यसको २५ प्रतिशत बढी शुल्क लिन पाउनेछन् । चितवनमा ‘क’ श्रेणीका नीजि विद्यालय भने छैनन् ।

२०७३ सालमा ‘ग’ श्रेणीका लागि कक्षा एकमा एक हजार दईसय ३०, कक्षा दुईमा एक हजार दुई सय ८०, तीनमा एक हजार तीन सय ६०, कक्षा चारमा एक हजार तीन सय ९०, कक्षा पाँचमा एक जहार चार सय ५०, कक्षा ६ मा एक हजार पाँच सय ५०, कक्षा सातमा एक हजार छ सय ३०, कक्षा आठमा एक हजार सात सय, कक्षा नौमा एक हजार नौ सय ३० र कक्षा १० का लागि दुई हजार ९० रुपैयाँ तोएिको थियो । तर कति विद्यालयले यो भन्दा बढि शुल्क लिने गरेका छन् । शैक्षिक महाशाखाको अनुगमनका क्रममा १२ वटा विद्यालयले तोकिएको शुल्क भन्दा बढी लिएको पाईएको थियो । बढी शुल्क लिने विद्यालयलाई पैसा फिर्ता गर्न लगाईएको दवाडीले जानकारी दिए ।

शिक्षा निमावली २०५९ को अनुसूची २२ बमोजिमको प्रावधान अनुसार चितवनमा तय गरिएको शुल्क राष्ट्रियस्तरको भन्दा ४० प्रतिशत सम्म कम शुल्क रहेको उनले जानकारी दिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका