जोडिनुहोस
  • होमपेज
  • गैँडाकोटमा जग्गा कब्जा गर्ने स्थानीयलाई प्रहरीले लखेट्यो, विप्लव समूहको संलग्नताको आशंका

गैँडाकोटमा जग्गा कब्जा गर्ने स्थानीयलाई प्रहरीले लखेट्यो, विप्लव समूहको संलग्नताको आशंका

गैँडाकोट, साउन २०-

गैंडाकोट नगरपालिका–१७ मा रहेको खेतान ग्रुपको जग्गा कब्जा गरी खनजोत गरिरहेका स्थानीयको समूहलाई प्रहरीले हटाएको छ ।

गोर्खा ब्रुअरीका मोहन खेतानले केही वर्षअघि नारायणी नदी किनारमा ३६ बिघा जमिन स्थानीयबाट खरिद गरेका थिए । लामो समयदेखि खाली रहेको उक्त जग्गा खनजोत गर्न हर्कपुर, बेल्डिया, नगरटाँडीलगायत स्थानबाट करिब एक सयदेखि डेढ सयको संख्यामा स्थानीय पुगेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता नायब उपरीक्षक अर्जुन रानाभाटले बताए ।

स्थानीयले आ–आफ्नो क्षेत्रफल छुट्टाएर शनिबार र आइतबार खनजोत गरेका थिए । ट्याक्टरसहित दुई दिनसम्म खनजोत गर्न थालेपछि उद्योगले त्यसबारे प्रशासनलाई जानकारी गराएको थियो । प्रशासनको निर्देशनपछि प्रहरीको टोलीले गैंडाकोट नगरपालिकाका प्रमुख छत्रराज पौडेलसहितका जनप्रतिनिधि लिएर उक्त स्थानमा पुगेको थियो । प्रहरी र जनप्रतिनिधिले अर्कैको जग्गा खनजोत बारे सोधपुछ गरेका थिए । त्यस क्रममा केही जनप्रतिनिधिले खाली जग्गा जोतभोग गर भनेर पठाएकाले आफूहरु आएको भन्ने जवाफ दिएको स्थानीयलाई उद्दृत गर्दै नायब उपरीक्षक रानाभाटले बताए ।

‘मेयर साहेबले खाली रहेको जग्गामा खेती गर्दा हुन्छ, गएर खनजोत गर्नूस् भनेर पठाउनुभयो, त्यसैले औजारसहित आएका हौँ,’ एक स्थानीयले भने । जग्गा खनजोत गर्ने कार्य नरोके कारबाही हुने जनाएपछि दुई दिनपछि स्थानीयहरु त्यहाँबाट हटेको नायब उपरीक्षक रानाभाटले जानकारी दिए । नगरप्रमुख पौडेलले आफूले कसैलाई पनि अरुको सम्पत्ति खनजोत गर्न नपठाएको बताए । ‘खनजोत गरेको जानकारी पाएपछि मैले १४ र १७ नम्बरका वडाअध्यक्षलाई लिएर त्यस स्थानमा पुगेको छु । कसैले बदनाम गर्न मेरो नाम जोडेका होलान् । त्यो गलत हो,’ नगरप्रमुख पौडेलले भने ।

एक्कासी समूह बनाएर उद्योगको जग्गा खनजोत गर्नुले नेत्रविक्रम चन्द विप्लव समूहले पठाएको हुनसक्ने प्रहरीसहित केहीले आशंका गरेका छन् । तर, विप्लव समूहका जिल्ला नेताहरुले आफूहरुको उक्त कार्यमा संलग्नता नरहेको स्पष्ट पारे । स्थानीयले गरेको जग्गा कब्जा बारे हाम्रो पार्टीसँग जोडिएका कुरा सुन्यौँ । त्यो गलत हो । उक्त जग्गा जोतभोग गर्न कसैलाई पठाएका छैनौँ । पार्टीले त्यसबारे कुनै निर्णय गरेको पनि छैन । यो अनर्गल प्रचार हो,’ विप्लव समूहका एक जिल्ला नेताले भनेका छन् ।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका