चितवन विशेष

सुरक्षित मातृत्वमा भरतपुर महानगरको दुई करोड खर्च

Banner

चितवन, साउन १५–

भरतपुर महानगरपालिकाले सुरक्षित मातृत्व अन्र्तगत दुई करोड रुपैयाँ बराबर खर्च गरेको छ । महानगरपालिकाबाट मान्यता प्राप्त बर्थिङ सेन्टरमा सुत्केरी भएका र कर्मचारीको प्रोत्साहन भत्तामा महानगरले दुई करोड रुपैयाँ खर्च गरेको हो ।

महानगरले पाँच वटा स्वास्थ्य केन्द्र र एक वटा निजी अस्पतालबाट सुरक्षित मातृत्व कार्यक्रम सञ्चालन गरेको छ । यी बर्थिङ सेन्टरबाट गत आर्थिक वर्ष मात्रै तीन हजार ७० जनाले प्रसुती गराएका थिए । शिवनगर प्राथमिक स्वास्थ्य केन्द्र, मेघौली स्वास्थ्य चौकी, गुञ्जनगर स्वास्थ्य चौकी, शारदानगर स्वास्थ्य चौकी, जागतपुर स्वास्थ्य चौकी र चितवन मेडिकल कलेजमा भरतपुर महानगरपालिकाले सुरक्षित मातृत्व सेवा कार्यक्रम सञ्चालन गरेको महाशाखाका जनस्वास्थ्य अधिकृत जीवनकुमार श्रेष्ठले जानकारी दिए ।

यी सेवा केन्द्रमा चार, छ, आठ र नौ महिनामा गर्भवतीले नियमित जाँच गराएमा महानगरपालिकाले प्रोत्साहन स्वरुप ८ सय रुपैयाँ प्रदान गर्दै आएको छ भने गर्भवती भएपछि एक हजारसहित एक हजार ८ सय रुपैयाँ प्रदान गर्दै आएको श्रेष्ठले जानकारी दिए ।

निजी अस्पताललाई सुविधा बढी

प्रसुती गराउने स्वास्थ्यकर्मीलाई पनि महानगरपालिकाले प्रोत्साहन भत्ता दिने गरेको छ । सरकारी स्वास्थ्य केन्द्रका स्वास्थ्यकर्मीलाई एक हजार र चितवन मेडिकल कलेजका स्वास्थ्यकर्मीलाई एक हजार ५० रुपैयाँ प्रदान गर्ने गरेको जनस्वास्थ्य अधिकृत श्रेष्ठले जानकारी दिए । ‘स्वास्थ्यकर्मीहरुले जटिल खालका प्रसुती हेर्नुपर्ने हुन्छ । जटिल आएको खण्डमा तीन हजार रुपैयाँ स्वास्थ्यकर्मीलाई दिने गर्दछौँ । अप्रेसन नै गर्नु प¥यो भने छ हजार रुपैयाँ हामीले उपलब्ध गराउँदै आएका छौँ,’ श्रेष्ठले भने, ‘स्वास्थ्य केन्द्रमा भन्दा हामीले चितवन मेडिकल कलेजका स्वास्थ्यकर्मीलाई प्रोत्साहन स्वरुप बढी पैसा दिँदै आएका छौँ ।’

भरतपुर महानगरपालिकाले अनुमति दिएका बर्थिङ सेन्टर मध्ये चितवन मेडिकल कलेजमा मात्र शल्यक्रिया मार्फत प्रसुती गराउने गरिएको छ । अन्य बर्थिङ सेन्टरमा चिकित्सक र शल्यक्रिया गर्ने उपकरण नहुँदा शल्यक्रिया मार्फत प्रसुती गराउन नसकिएको उनले बताए । अहिलेसम्म चितवन मेडिकल कलेजमा एक हजार पाँच सय ४५ जनाले शल्यक्रिया मार्फत प्रसुती गराएका छन् । गत आर्थिक वर्ष चितवन मेडिकल कलेजमा दुई हजार आठ सय ४५ जनाले प्रसुती गराएका थिए ।

यस्तै मेघौली स्वास्थ्य केन्द्रमा ९०, गुञ्जनगर स्वास्थ्य चौकीमा ७१, जगतपुर स्वास्थ्य चौकीमा ३१, शिवनगर प्राथमिक स्वास्थ्य केन्द्रमा २२ र शारदानगर स्वास्थ्य केन्द्रमा ६ जनाले प्रसुती गराएका छन् । भरतपुर महानगरपालिकामा भित्र २० वटा स्वास्थ्य केन्द्र रहेका छन् । त्यसमध्ये प्राथमिक स्वास्थ्य केन्द्र एक, स्वास्थ्य चौकी १३, सहरी स्वास्थ्य प्रवद्र्धन केन्द्र एक, नगर स्वास्थ्य केन्द्र १० र आयुर्वेद औषधालय छ वटा रहेका छन् । त्यसमध्ये पाँच वटामा मात्र बर्थिङ केन्द्र रहेका छन् ।

प्राथमिक स्वास्थ्य केन्द्रमा डाक्टर एक, हेल्थ असिस्टेन्ट एक, स्टाफ नर्स तीन जना गरेर १५ जना कर्मचारी र स्वास्थ्य चौकीमा हेल्थ असिस्टेन्टको नेतृत्वमा ७ जना कर्मचारी हुने गर्दछन् । प्राथमिक स्वास्थ्य केन्द्रमा १५ शैया हुने गर्दछ ।

पूर्ण संस्थागत सुत्केरी महानगर कार्यक्रम

भरतपुर महानगरपालिकाले पूर्ण संस्थागत सुत्केरी महानगर कार्यक्रम ल्याउन लागेको छ । स्वास्थ्य संस्थामा प्रसुती गराउनका लागि आकर्षित गर्नका लागि पूर्ण संस्थागत सुत्केरी कार्यक्रम ल्याउन लागिएको श्रेष्ठले जानकारी दिए । यसका लागि ३० लाख रुपैयाँको बजेट विनियोजन गरिएको छ । २०७६ भित्रमा सबै गर्भवतीलाई स्वास्थ्य संस्थामा गएर प्रसुती गराउने लक्ष्यले यो कार्यक्रम ल्याईएको उनले बताए ।
‘महानगरपालिका भित्र प्रत्येक वर्ष ८ हजार ६ सय ४५ जना गर्भवर्ती हुने अनुमान गरिएको छ । त्यसमा ६ हजार स्वास्थ्य संस्थामा आएर सुत्केरी हुन्छन् भन्ने हाम्रो अनुमान हो,’ उनले भने, ‘७० प्रतिशत महिला स्वास्थ्य संस्थामा आएर प्रसुती भए भने पूर्ण संस्थागत सुत्केरी महानगर बनाउन मापदण्ड पुग्छ । यसलाई सफल बनाउन महानगर सक्रिय छ ।’ यसका लागि यातायात खर्च स्वरुप महानगरपालिकाले थप रकम उपलब्ध गराउने व्यवस्था गरेको उनले बताए । एक जनालाई पाँच सय रुपैयाँ बराबर यातायात खर्च लाग्ने अनुमान महानगरको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>