क्रिकेट

मलेसियाविरुद्धको टि–ट्वान्टी सिरिजः नेपालद्धारा क्लीनस्वीप

Banner

काठमाडौं, असार २९–

मलेसियाविरुद्धको दुई टि–ट्वान्टी ऋंखला नेपालले क्लीनस्वीप गरेको छ । ऋंखलाको अन्तिम खेलमा नेपाल ६ रनले विजयी भएसंगै ऐतिहासिक अन्तराष्ट्रिय टि–ट्वान्टी ऋंखला क्लीनस्वीप गरेको हो ।

आज अन्तिम खेलमा नेपालले दिएको १७४ रनको लक्ष्य पछ्याएको घरेलु टोली मलेसियाले १६७ रन मात्रै बनाउन सक्यो । नेपाललाई कडा चुनौती दिएको मलेसियाले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १६७ रन बनाउन सफल भएको हो । मलेसियाले उत्कृष्ट सुरुवात गरे पनि मध्यक्रममा उल्लेखीय प्रदर्शन गर्न सकेन ।

मलेसियाका ओपनर भिरनदीप सिंह र सायद अजिजले ७५ रनको सुरुवाती साझेदारी गरेका थिए । यी दुईको साझेदारी अभिनाष बोहराले तोडेका थिए । उनले सिंहलाई व्यक्तिगत २३ रनको अवस्थमा विनोद भण्डारीको हातबाट क्याच आउट गराएका थिए । अर्कोतिर विष्फोटक पारी खेलिरहेका अजिजलाई लगत्तै अर्को ओभरमा सोमपाल कामीले व्यक्तिगत ५० रनको अवस्थामा आउट पारे । त्यसपछि मलेसियाको पारी केही सुस्त हुन पुगेको थियो । यस्तै मध्यक्रमका व्याट्सम्यान अमिनुदिनले ११ बलमा २४ रन र मुहम्मदले ११ बलमा २१ रनको अविजित पारी खेले ।

मलेसियालाई अन्तिम ओभरमा १४ रन आवश्यक हुँदा अभिनाष बोहराले मात्र ७ रन दिए । उनले तीन डटबल फालेपछि मलेसिया हार नजिक पुगेको थियो ।

नेपालका लागि सोमपाल कामी र सन्दीप लामिछानेले २/२, अभिनाष बोहरा, पारस खड्का र करन केसीले समान एक/एक विकेट लिए ।
यसअघि किनरारा ओभल क्रिकेट मैदानमा टस जितेर पहिले व्याटिङ गरेको नेपालले निर्धारित ओभरमा ६ विकेट गुमाउँदै १७३ रन बनायो ।
नेपालका लागि विनोद भण्डारीले नटआउट विष्फोटक पारी खेल्दै ५१ रन बनाए । विनोदको अन्तराष्ट्रिय टि–ट्वान्टीमा पहिलो अर्धशतक हो । उनले २५ बलमा ५१ रन बनाए । विनोदले ५ छक्का र ३ चौका प्रहार गरे । यस्तै शरद भेषवाकरले पनि विष्फोटक पारी खेल्दै ४० रन बनाए । २८ बल खेलेका भेषवाकरले २ छक्का र ४ चौका प्रहार गरे ।

यस्तै कप्तान पारस खड्काले १३ बलमा २३ रन, रोहित पौडेलले १९, करन केसीले १० बलमा १६, पवन सराफ १० रनमा आउट भए । उपकप्तान ज्ञानेन्द्र मल्लको व्याटिङ आज पनि चलेन् । उनी ७ रनमा आउट भए । यस्तै सोमपाल कामी एक रनमा अविजित रहे ।

मलेसियाका लागि फित्रि सामले महत्वपूर्ण ३ विकेट लिए । आजको खेलमा विनोद भण्डारी म्यान अफ दि म्याच घोषित भए । यसअघि सिरिजको पहिलो खेलमा नेपालले हिजो मलेसियालाई ७ विकेटले पराजित गरेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>